|

विराटनगर : हिउँ झैँ सेताम्मे कपाल। शिरमा तेह्रथुमे ढाका टोपी। बातैपिच्छे खित्का छोडेर हाँस्दा देखिने अनार दानाजस्ता मिलेका दाँत। उमेरको हिसाब लगाउने हो भने उनको विश्राम गर्ने उमेर हो तर उनी अझै थाकेका छैनन्।

७० औँ वसन्त पार गरिसकेका ताप्लेजुङका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामको आफूले पाएको जिम्मेवारीप्रति ऊर्जा अझै उही अल्लारे ठिटोको झैँ छ। राजनीतिको ट्र्याकमा ५ दशकदेखि आरोह अवरोह पार गर्दै निरन्तर दौडिरहेका छन् उनी।

यो दौरानमा कहिले हार बेहोरेका छन् त, कहिले जितको माला पहिरिएका छन्। हार र जितको दोधारे यात्रामा उनका पाइला कहिल्यै डगमगाएन। अर्थात् यस्तो लाग्छ उनको राजनीतिक जीवनको शब्दकोषमा विश्राम भन्ने शब्द नै छैन। रोग नलागेसम्म र हातखुट्टाले साथ नछाडुन्जेलसम्म पार्टी र जनताका लागि नै बाँकी उमेर  पनि समर्पित गर्ने उनको विचार छ। 

‘हाउ (लिम्बू टोनमा) अझै हातखुट्टा दह्रो पो छ। यो उमेर त यसो हातले गन्ने मेसो मात्रै हो,’ खित्का छोड्दै हाँस्छन् उनी र भन्छन्, ‘यो राजनीति पनि नसा रहेछ हौ, अझै सकुन्जेल पार्टी र जनताकै लागि केही गरिरहने हो। कहिले हारिन्छ, कहिले जितिन्छ तर जिन्दगीसँग हार्नु हुँदैन।’

१९ वर्षको ठिटौले उमेरदेखि राजनीतिक दौड थालेका उनी राजनीतिक जीवन यात्राको ५ दशकमा उनकी जीवनसंगिनी र सन्तानको दरिलो साथले थकाइ नमारी अनवरत यात्रा गरिरहेका छन् ।

घरगृहस्थी दरिलो बनाउन उनको जीवनको हरेक सुख, दुखःमा ‘पिलर’ बनेर  उभिदिने पत्नीको साथ नहुँदो हो त मन्त्री हाङगामको राजनीतिक यात्राले ७० वर्षको उमेरसम्म सार्थकता पाउने थिएन होला।

केही क्षण टोलाउँदै सुनाउँछन्, ‘पत्नी, छोराछोरी र आफन्तको दरिलो साथ नभएको भए म कहाँ यसरी फुक्का भएर राजनीति गर्न पाउने थिएँ?’

दुःखमा बितेको बाल्यकाल

उनको बाल्यकाल सुखको कुनै अनुभूति नगरी बितेको थियो। सबैभन्दा दुःखद र दयनीय बाल्यकाल त्यतिबेला हुन्छ जुन समय उनका बा आफूले डोर्‍याएको बाटो बीचैमा छाडेर परलोक जान्छन्। हुर्कंदै गरेका सन्तान र दुखःको पहाड उनकी आमालाई सुम्पेर उनका बा कहिल्यै नफर्किने बाटो लागे।

उनी ८ वर्षका छँदा उनका बुवाको निधन भयो। बुवाको मृत्यु भएयता एक्ली भएकी आमाको ममताको छहारीमा दुःखसुखको अनुभूति सँगालेर हुर्केका उनले बुवाको शेखपछि धेरै संघर्ष र अभाव झेल्नु परेको थियो।

‘बाल्यकाल दुःखले बित्यो। म ८ वर्षको हुँदा बुवाको मृत्यु भयो,’ उनले विगत कोट्याए, ‘बुवाको निधनपछि आमा एक्लैले हामीलाई हुर्काउनु भयो‚’ उनी बाल्यकालका दुःखका भारी बिसाउँछन्, ‘ताप्लेजुङको सुन्दरता त्यहाँको हावापानीसँग एकैछिन जानेहरू लोभिएजस्तो हुन्छ तर गाउँको जीवनशैली देखिएजस्तो सुन्दर र सहज हुँदैन।’

अग्ला–अग्ला हिमचुचुरा अनि चारैतिर देखिने पहाडका मनोरम दृश्यले मान्छेलाई केहीबेर जति धेरै मोहनी लगाउँछ‚ पहाडको दुःखसुख त्यसभन्दा कैयौं गुणा धेरै हुन्छ। उनको बाल्यकालमा चुनौती ती वरिपरि देखिने लोभलाग्दा टाकुराभन्दा कम थिएनन्।

त्यस वेला अहिलेको जस्तो नजिकै स्कुल थिएनन्। उनी पढ्ने स्कुल घरबाट कोसौं टाढा पैदल हिँडेर पुग्नु पर्थ्यो। पढेर ठूलो मान्छे बन्ने र दुखःले घेराबन्दी गरेको गाउँ छोडेर शहर पस्ने सपना नदेखेका पनि होइनन् उनले।

ठूलो सपना सँगाल्नेले जीवनमा परीक्षा पनि कडै दिनुपर्छ। उनको सपना कहिले बर्खाको खहरे भेलले बगाएर लगिदिन्थ्यो त कहिले पहिरोले। खोक्लिङमा पढ्दै गर्दा २०२५ सालमा आएको पहिरोले पुस्तक, लुगाफाटो सबै बगाएर लग्यो तर पहिरोसँगै आफ्ना सपना भने बगाउन दिएनन् उनले।

‘पहिरोले किताब बगायो, लुगाफाटो बगायो’, उनी त्यो क्षण सम्झन्छन्, ‘तर सपना भने बग्न दिइनँ। म बाँचे अनि पो परिवार बाँच्यो र योसँगै मेरा सपनाहरू पनि जीवित रहे।’

७ पटक भए प्रधानपञ्च

पढ्ने रहर हुँदाहुँदै अभावको भुंग्रोमा आफ्ना सबै रहरहरूको अन्त्येष्टि गरे उनले। र‚ गाउँलेहरूको चाहनाअनुरुप उनी २० वर्षको उमेरमा प्रधानपञ्च निर्वाचित भए। त्यो समय उनका परिवारभित्र राजनीतिकै लागि भनेर जीवन समर्पण गर्ने कोही पनि थिएनन्।

समाजका विकृति र विसंगतिसँगै राजनीतिको विभिन्न कालखण्ड राम्रैसँग नियालेर राजनीतिमा होमिएका उनी ७ पटक प्रधानपञ्च भए। तत्कालीन समयमा सत्तामा पुग्नेहरू निमुखा जनतालाई थिचोमिचो गर्ने तर जनताको न्यायका लागि आवाज भने विरलै बन्ने गरेको उनी सुनाउँछन्।

उनी नेतृत्वमा आएपछि उनको पहिलो कार्यकालले नै उनको निर्वाचन क्षेत्रका जनताको मन जित्न सफल भएको सुनाउँछन् उनी। ‘प्रधानपञ्चहरू सामन्ती हुन्छन् भन्थे, विपन्न परिवारहरूले प्रधानपञ्चको घरमा गएर सघाउने चलन थियो,’ उनले भने, ‘मेरो कार्यकालमा त्यस्तो भएन, विपन्नको घरमा चुलो बल्यो बलेन म हेर्न जान्थेँ, कर मिनाहा गरिदिएँ, विकासका योजना गाँउमा ल्याएँ। त्यसैले मलाई गाउँलेले रोजेर ७ पटक प्रधानपञ्च बनाए।’

०४६ सालको जनआन्दोलनपछि पञ्चायत प्रणाली अन्त्य भएर संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था शुरुवातपछि उनी नेपाली काँग्रेस प्रवेश गरे। ०५६ सालयता फेरि राजनीति यात्रामा अनवरत दौडिरहेका छन् उनी। जनताको चाहाना र भावनाअनुसार गाविस अध्यक्ष हुँदै उपसभापतिसमेत बनेका थिए उनी। हाल नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसद रहेका उनी अहिले प्रदेश १ को उद्योग, श्रम तथा रोजगारमन्त्रीको कार्यभार सम्हालिरहेका छन्।

हेलिकप्टरमा आउँथ्यो पार्टीको टिकट

धेरै पटक जनताले चुनेर नेतृत्वमा पुर्‍याएका मन्त्री हाङ्गामले राजनीतिक जीवनमा सधैँ जित मात्रै हासिल गरे भन्ने पनि छैन। समय, साल फेरिएसँगै राजनीति गर्ने शैली र जनअपेक्षा परिवर्तन हुन थालेको उनी सुनाउँछन्। सधैँ जिताउने जनताले नै हराउन सक्छन् भन्ने हारका अनुभव पनि उनीसँग प्रशस्तै छन्।

हार र जितको चुनावी दौडमा राजनीति गरेको ५० औँ खुड्किला प्रवेश गर्दा चुनावताका टिकटकै लागि भनेर शीर्ष नेतालाई भेट्न गएको क्षण नभएको उनी सुनाउँछन्। बरु चुनाव लड्न हेलिकप्टरबाट नै सदरमुकामसम्म पार्टीले टिकट पठाइदिने गरेको अनुभव छ उनीसँग।

‘म पार्टीको लागि सन्यासी झैँ भएर बुढीबच्चा‚ घरपरिवार त्यागेर हिँडेको मान्छे, म चुनाव लक्षित गरेर कहिल्यै काठमाडौं पुगिनँ,’ उनी हाँस्दै आफ्ना किस्सा सुनाउँछन्, ‘चुनाव आएपछि पार्टीले ताप्लेजुङको सदरमुकाम फुङलिङसम्म हेलिकप्टरमा टिकट पठाइदिन्थ्यो।’

राजनीतिको भोक मेटाउन घर व्यवहारको जिम्मा पत्नीलाई लगाएर हिँडेका उनी फुलेको कपाल र युवा जोस बोकेर नेटो काट्दै गरेको उमेरलाई बेवास्ता गर्दै ६ महिने कार्यकालको अन्त्यसँगै गाँउमा फर्किएर केही गर्ने योजना रहेको बताउँछन्।

०७९ मंसीर २१ गते प्रतिनिधि र प्रदेशसभाका सांसदको पदावधि सकिन्छ पुनः निर्वाचनमा जाने कस्तो छ तयारी भन्ने प्रश्नमा उनी खित्का छाड्दै भन्छन्, ‘पार्टीले विश्वास गरेर टिकट दियो भने यो निर्वाचनमा फेरि उठ्छु।’

निकै भड्किलो छ प्रचारप्रसार

पछिल्लो समय निर्वाचनमा आर्थिक चलखेल हावी भएको उनी सुनाउँछन्। ‘पञ्चायती चुनावमा प्रचारप्रसार हुँदैनथ्यो, मतदाताले अहिलेको जस्तो छाप लगाउँदैनथे। मतदान केन्द्रमा गोप्य कोठामा मतदातालाई उम्मेदवारको नाम भनिन्थ्यो,’ उनी सुनाउँछन्, ‘मतदाताले आफूलाई मनपर्ने उम्मेदवारको पक्षमा हात उठाउँथे, जसको पक्षमा हात धेरै उठ्छ उसैको जित हुन्थ्यो।’

पछिल्लो समयको निर्वाचनको माहोलले योग्य उम्मेदवारले नेतृत्वमा स्थान पाउन सकस भएको उनी बताउँछन्।

‘इमान्दार राजनीति गर्नुपर्छ’

राजनीतिक चक्रको विभिन्न चरण पार गरेका उनी अबको दल र दलका नेता तथा युवाले इमान्दार राजनीति गर्नुपर्ने बताउँछन्। आफ्नो फाइदाका लागि भन्दा पनि जनता र समाजको हितमा रहेर काम गरे गाउँ, समाज र देश समृद्धि र विकासको बाटोमा अगाडि बढ्ने उनी सुनाउँछन्।

‘पछिल्लो समयको राजनीतिमा अडान छैन, आफूअनुकूल भएन भने परिवर्तनको बाटो रोज्छन्। समस्या सुल्झाउनतर्फ लाग्दैनन। सबैले इमान्दार राजनीति गर्नुपर्छ,’ उनी भन्छन्, ‘अब पनि दलका नेता र नेतृत्व सुध्रिएनन् भने जनताले फेरि निर्वाचनमा विद्रोह गर्छन्, यस्तै स्वतन्त्रको आगमन भइरहन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.