|

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्। मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले गठबन्धन रूपी विमान आकाशमै रहेकाले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताए। आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरूपी विमानले सुरक्षित अवतरण गर्ने बताए। 

‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाजमा चढ्यौँ। जहाज उडिसकेको छ। आकाशमा छ तर ल्याण्डिङ भएको छैन। अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने ? भनेर चिन्तन र चिन्ता गरिरहेका वेला त्यही जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ’‚ उनले भने, ‘जहाजलाई सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ। वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ तर खुट्टा भाँचिन्छ कि भन्ने पनि हामीलाई त्रास छ। जम्प पनि गर्नुभएको छैन, धेरै माथि उडेको छ। १० हजार, साढे १० हजार फिट माथि उडिरहेको छ। अहिले जहाज।’

उनले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरूले एक अर्काप्रति आरोप, प्रत्यारोप गर्न नहुने बताए। जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने उल्लेख गरे। गठबन्धनकै दलहरूले कांग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताए। 

‘अब त्यसलाई सेफ ल्याण्डिङ गर्ने वेला कसैले कांग्रेस इमान्दार भएन भन्ने, अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा शुरु गर्ने हो भने जहाजले सेफ ल्याण्डिङ गर्न सक्दैन’‚ उनले भने, ‘हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन हो। हामीले जहाज ल्याण्डिङ नगर्दै एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हो भने हामी अपरिपक्व राजनीतिज्ञ हौँ भन्ने कुरा हामी आफैँले प्रमाणित हुन्छ। हामी आउने मंसिरतिर सायद मलाई लाग्छ जहाज सेफ ल्याण्डिङ गर्नसक्छौँ भन्ने विश्वास छ।’

गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेकाे पुष्टि हुने दाबी गरे। उनले सधैँ देश गरिब बनाएर काम गर्न नहुने भन्दै सरकार सञ्चालनकर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.