|

काठमाडाैं : लीना मनिमेकलाइको डकुमेन्ट्री फिल्म 'काली'को पोस्टर सार्वजनिक भएसँगै भारतमा एउटा तरंग फैलिएको छ। हिन्दू देवी कालीको अवतारमा देखिएकी अभिनेत्रीको हातमा चुरोट र लैंगिक अल्पसंख्यकको पहिचान देखाउने झण्डा देखिएपछि पोस्टर विवादमा तानिएको हो। 

तीन दिन अघि आफ्नो नयाँ प्रोजेक्ट कालीको पोस्टर फेसबुकमा पोस्ट गर्नासाथ लीना एकाएक चर्चामा आएकी थिइन्। हिन्दू देवीको आपत्तिजनक चित्रण गरेको भन्दै धेरैले उनको आलोचना गरेका छन्। भारतको दिल्ली र उत्तर प्रदेशमा उनकाविरुद्ध प्रहरीमा उजुरी (एफआइआर) समेत दर्ता भएको छ।​

उनीमाथि जानीबुझी धर्मावलम्बीहरूको भावनामा चोट पुर्‍याएको, धार्मिक असहिष्णुता फैलाएको जस्तो गम्भीर आरोप लागेको छ। गत हप्ता राजस्थानको उदयपुरमा भएको कन्हैयालालको हत्या केससँग जोड्दै लीनालाई पनि कडा कानूनी सजाय हुनुपर्ने माग गरेका छन्।

त्यस्तै केहीले भने धर्मलाई बीचमा ल्याएर कुनै पनि सिर्जनालाई मार्न नहुने, हरेकलाई आफ्नो धर्म आफ्नै हिसाबले हेर्ने अधिकार रहेको भन्दै लीनाको समर्थन गरेका छन्। विवादपछि लीनाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्, 'मसँग खानको लागि केही छैन। जबसम्म म जीवित छु, म एउटा यस्तो आवाज भएर बाँच्न चाहन्छु जो निडर भएर बोल्छ। यदि यसको मूल्य मेरो जिन्दगी हो भने पनि ठीक छ।'

पोस्टरलाई लिएर यति धेरै उत्तेजित नहुन आग्रह गर्दै उनले लेखेकी छन्, 'यो फिल्ममा देखाइएको छ कि एउटा साँझ काली प्रकट भएर टोरन्टोको सडकमा घुम्न निस्किन्छिन्। यदि तपाईंले यो फिल्म हेर्नुभयो भने मेरो गिरफ्तारीको माग गर्नुको सट्टा मलाई प्रेम गर्न थाल्नुहुन्छ।' 

भारतको तामिलनाडुकी लीना कवि एवम् फिल्म लेखक तथा निर्देशक हुन्। उनी अहिले क्यानडाको टोरन्टोमा बसेर फिल्म निर्माण सम्बन्धी अध्ययन तथा यसमै काम गरिरहेकी छन्। सन २०१९ मा उनको निर्देशनमा बनेको 'मादाथीः एन अनफेयरी टेल' नामक फिल्म विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा प्रदर्शन भएको थियो। 

गत जुलाई २ मा टोरन्टोमा आयोजित अन्डर द टेन्ट नामक कार्यक्रममा आफ्नो फिल्म 'काली' प्रदर्शन हुन लागेकोमा उत्साहित छु भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको पोस्टर एकाएक विवादमा तानिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.