उपेन्द्रको बहुमत जोगियो, बाबुरामको सांसद पद

|

काठमाडौं : संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीबाट बाहिरिने अन्तिम तयारीमा छन्। अध्यक्ष उपेन्द्र यादवसँगको सहमतिमै पार्टीबाट बाहिरिने गृहकार्य अघि बढाएका हुन्। 

पार्टीबाट अलग हुने सहमतिपछि अध्यक्षद्वयले एकै समय पारेर केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्। पार्टीमा नेताहरूलाई विभाजनका लागि सहज हुने गरी असार २९ र ३० गतेका लागि अध्यक्ष यादवले वीरगञ्जमा र भट्टराईले काठमाडौंमा भेला बेलाएका छन्। 

पार्टीबाट अलग भएपछि अध्यक्ष भट्टराईले अर्को पार्टी निर्माण गर्ने या समाजवादी केन्द्र निर्माणमा लाग्ने भन्नेबारे विकल्प थालेको उनी निकट नेताहरू बताउँछन्। मंगलबार बिहान ट्वीट गर्दै अलग पार्टीकाे तयारी थालेकाे जानकारी दिँदै देशमा वैकल्पिक राजनीति र शक्तिको औचित्य बढेको दाबी गरे। 

उनले ट्वीटरमा लेखेका छन्, ‘देशमा वैकल्पिक राजनीति र शक्तिको औचित्य सिद्धिएको नभई बढेर गएको छ। साथै हामीले केही समययता गर्दै आएको प्रयोग पनि त्यति परिणाममुखी हुन सकिरहेको छैन। अतः यसको निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गरौं। युगीन कार्यभार सजिलै/छिटै पूरा हुन्न।’

उनले आफूहरूले अहिलेसम्म गर्दै आइरहेको प्रयोगबाट परिणाम आउन नसकेको उल्लेख गर्दै निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गर्न जोड दिएका छन्। 

त्यो त केही दिनअघि उनले पार्टीभित्रको बहसलाई व्यक्तित्वको टकरावका रूपमा प्रस्तुत गर्न ठीक नहुने बताएका थिए। 

‘पार्टीभित्रको बहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक हैन! जसपाभित्रका बहसका मुद्दा यी हुन्। क्षेत्रीय कि राष्ट्रिय पार्टी? सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीति? एकल नेतृत्व कि समावेशी सामूहिक नेतृत्व? विधिसंगत कि स्वेच्छाचारी कार्यशैली? बहस नै फुट हैन’‚ उनकाे भनाइ छ।

उनीहरू अध्यक्ष यादव पार्टीमा विधि छलेर स्वेच्छाचारी ढंगले चलेकाे भन्दै पार्टीबाट बाहिरिने निर्णय लिएका हुन्। 

विकल्प 

त्यसो त तत्कालका लागि जसपाबाट बाहिरिएर नयाँ पार्टी गठनको कुनै विकल्प नभएको अध्यक्ष भट्टराई निकट कार्यकारिणी सदस्य डम्बर खतिवडा बताउँछन्।
 
उनी भन्छन्, ‘नयाँ शक्ति, संघीय समाजवादी र राजपालाई मिलाएर जसपा निर्माण भएको थियो। राजपा समूह आफैँ लोसपा बनाएर निस्किसकेको छ। 
हामीले जसपालाई जुन प्रयास गरेको थियौँ। त्यो सम्भव भएन। अब हामीले पनि यसको विकल्प खोज्नुपर्छ भन्ने सहमति बनेको हो।’ 

बहुमत पार्टी भएकाले अहिले नै आधिकारिक को भन्न नमिल्ने उनको तर्क छ।
 
‘पार्टीको आधिकारिकता त निर्वाचन आयोगले नै गर्ने हो। हाम्रो पृष्ठभूमि नै फरक भएकाले पार्टी सञ्चालनमा समस्या भएको हो। नयाँ पार्टी गठन गरे पनि चुनाव मात्रै पहिलो प्राथमिकता होइन। पार्टी खोल्दैमा सत्तामा पुग्छौँ र चुनावमा जानुपर्छ भन्ने छैन’‚ उनले भने, ‘अहिले पनि एमाले र कांग्रेसले नै मत ल्याएको छ। हामीले एक हुँदा पनि धेरै मत ल्याउन सकेका छैनौँ। त्यो स्थानीय तहको निर्वाचनमा देखिसकेका छौँ।’ 

बाबुराम माओवादीमै फर्किने चर्चा चलिरहेका वेला उनले अहिले कुनै पार्टीमा मिल्ने सम्भावना नभएको दाबी गरे। 

‘प्रचण्डसँगको भेटबारे हामीलाई जानकारी गराउनुभएको छैन। मलाई उहाँ माओवादीमै फर्किनुहुन्छ भन्ने लाग्दैन। राजनीतिमा कहिले के हुन्छ भन्ने थाहा हुँदैन तर शीर्ष नेताहरू धेरै एजेण्डामा बस्नुहुन्छ। त्यसलाई स्वभाविक रूपमा लिनुपर्छ’‚ उनको भनाइ छ। 

उनी माओवादीमा फर्किनुभन्दा जसपामै बस्नु ठिक भएको तर्क गर्छन्। 

उनी भन्छन्, ‘कांग्रेस‚ कम्युनिष्ट र राजावादीभन्दा जसपा नै ठिक हुन्छ। हामीले वैकल्पिक शक्तिको रूपमा स्थापित गरेर जान चाहन्छौँ। अहिलेको अवस्थमा मिल्ने सम्भावना देखिएका छैन। आगामी बैठकमा त्यसको औपचारिक घोषणा नै हुन्छ। कानुनी रूपमा निर्वाचन आयोगबाटै छुट्टिसकेपछि मात्रै हुन्छ।’

त्यसो त अहिलेसम्मको अवस्थाअनुसार नयाँ पार्टी गठन गरेर जाने गृहकार्य भइरहेको नेता गंगा श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, ‘उहाँले अहिले विभिन्न विकल्पबारे छलफल गरिराख्नुभएको छ। तत्काल अर्को पार्टीमा जाने भन्ने उहाँको मनसाय देखिएको छैन। त्यसले देशको आवश्यकता अनुसारको वैकल्पिक राजनीति शक्तिको खडा गर्नुपर्छ भनेर लाग्नुभएको छ।’

बाबुरामको विचलन 

नेकपा माओवादीको नेतृत्वमा वि.सं. २०५२ फागुन १ गतेदेखि राज्य, सरकार र व्यवस्थाविरुद्ध जनयुद्ध शुरु भयो। सरकारसँग वार्ताका लागि करिब चार महिनाजति बाहेक युद्धकाल अर्थात् २०५२ देखि २०६३ सम्म नै डा. बाबुरामले भूमिगत जीवन बिताए। त्यसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। प्रचण्ड अहिले पनि माओवादी नेतृत्वमै छन्। 

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्ड र बाबुराम दुवैले प्रधानमन्त्री बन्ने अवसर समेत पाए। बाबुराम माओवादीबाटै २०६८ भदौ १२ गतेबाट २०६९ फागुन ३० गतेसम्म प्रधानमन्त्री बनेका थिए। माओवादीबाटै प्रधानमन्त्रीको अवसर पाएका उनी  प्रचण्ड नेतृत्वलाई अस्वीकार गरेर हिँडेपछि अहिले घर न घाटको अवस्थामा पुग्ने अवस्थामा छन्। 

माओवादी छाडेको करिब एक वर्षपछि २०७३ जेठ ३० गते ‘नयाँ शक्ति’ पार्टी घोषणा गरेर वैकल्पिक शक्तिको रूपमा उदाएको दाबी गरेका थिए। तर २०७४ सालको निर्वाचनमा नयाँ शक्तिले सोचेजस्तो परिणाम ल्याउन सकेन। भनौँ, उनी असफल भए। 

चुनावी नतिजाले सन्तोष गर्ने ठाउँ नदेखेपछि २०७६ वैशाख २३ गते मधेश केन्द्रित दल संघीय समाजवादी फोरमसँग एकता गरे। उपेन्द्र यादवलाई नै अध्यक्ष समेत स्वीकार गर्न तयार भए। उनी संघीय समाजवादी पार्टीको पनि संघीय परिषद् अध्यक्षकै भूमिकामै रहे। 

संघीय समाजवादीसँग मिसिएको एक वर्षमै २०७७ वैशाख १० गते सबै मधेश केन्द्रित दल एक ठाउँमा हुने गरी जनता समाजवादी पार्टी (जसपा) गठन भयो तर त्यो एकता पनि लामो समय टिक्न सकेन। महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वका नेताहरूले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी निर्माण गरे। 

तर, नयाँ शक्तिलाई संघीय समाजवादीदेखि जसपासम्मको यात्रामा हेलिएका उनी त्यहाँ बस्न नसक्ने निष्कर्षमा पुगिसकेका छन्। ०७४ सालको निर्वाचनमा नयाँ शक्ति असफल भएपछि उपेन्द्रलाई अध्यक्ष स्विकार्न तयार भएका उनी अहिले त्यही नेतृत्वदेखि रुष्ट बनेर नयाँ पार्टीतर्फ कदम बढाइरहेका छन्। 

माओवादीबाट छुट्टिई नयाँ शक्ति र त्यसपछि तराईको क्षेत्रीयतावादी राजनीतिबाट हेलिएका डा. भट्टराईले जुन यात्रा तय गरे‚ त्यो सफल हुन सकेन। 

माओवादी फर्किनेबारे छलफल 

पार्टीभित्र संकट परेपछि पछिल्लो समय बाबुराम जनयुद्धका सारथी प्रचण्डसँग नजिक भएका छन्। उनले उपराष्ट्रपति निवासमा प्रचण्डसँग पटक-पटक आगामी कदमबारे छलफल गरिसकेका छन्। 

बाबुरामले प्रचण्डसँग पूर्वमाओवादीहरू एकजुट हुनेदेखि वाम एकताका लागि समाजवादी केन्द्र निर्माणबारेसम्म छलफल चलिरहेकाे नेताहरू बताउँछन्। 

त्यसो त प्रचण्ड र बाबुरामको भेटवार्तालाई लिएर माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले माओवादीहरू एकजुट हुनेको विकल्प नै नभएको दाबी गर्छन्। 

उनी भन्छन्, ‘माओवादीहरू एकजुट हुनुको विकल्प छैन। अहिले माओवादी ध्रुवीकरणको माहोल बनिसकेको छ र नेपालको वामपन्थीहरू एकजुटको नेतृत्व पनि यही बैठकले गर्नुपर्नेछ। त्यसबारे हामीले महत्त्वपूर्ण निर्णय गछौँ।’ 

उनले वामपन्थी एकताका लागि समाजवादी केन्द्रको विषयमा पनि छलफल भएको बताए। नेपालको लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउनुपर्छ भनेर समाजवादी केन्द्र स्थापनको यही चुनावअघि सम्भावना रहेको दाबी गरे। उनले बाबुराम भट्टराई माओवादीमै फर्किनुको विकल्प नभएको बताए। 

उनले भने, ‘उहाँ माओवादीको सिनियर नेता हुनुहुन्थ्यो, योभन्दा बाहिर जाँदा उहाँको त्यति राम्रो भइरहेको देख्दैनौँ। उहाँ पार्टीमा फर्किँदा इतिहासको सही मूल्यांकन र कार्यकर्ता तथा जनता खुसी हुन्छन्। उहाँ पार्टीमा फर्किने सम्भावना पनि छ। त्यसबारे छलफल गरिरहेका छौँ।’ 

बाबुराम माओवादीमै फर्किए मात्रै आफ्नो एजेण्डा पूरा गर्न सक्ने आधार तय हुने उनले दाबी गरे।  ‘बाहिर गएर उहाँले योभन्दा केही गर्न सक्ने देखिएको छैन। उहाँले तय गरेको एजेण्डा पनि पूरा माओवादीमा फर्किएपछि मात्रै हुन्छ। त्यसैले उहाँ पार्टीमै फर्किनुहुन्छ भन्नेमा विश्वस्त छौँ’ उनको बुझाइ छ। 

उपेन्द्रलाई बहुमत, बाबुराम सांसद ! 

त्यसो त सहमतिमै अलग हुने समझदारी बनेपछि पार्टीमा अलग भएपछि पनि डा. भट्टराईको सांसद पद भने जोगिने भएको छ। 

नयाँ शक्तिबाट एक सिट लिएर मधेशी दलसँग हेलिएका उनको सांसद पद जोगिने भएको छ। त्यसमा उनीसँग साथ लाग्नेहरूलाई पनि कारबाही नगर्ने उपेन्द्रसँग सहमति बनेको छ। त्यसैले नेताहरूलाई कता लाग्ने? भन्नेबारे खुल्न सहज भएको छ।  

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका वेला मन्त्रिपरिषद् हेरफेर गरेर आफ्नो बहुमत जोगिएकोमा उपेन्द्र पक्ष ढुक्क छ। बाबुरामसँग लाग्ने धम्की दिएकै कारणले मोहम्मद इस्तियाक राई,  प्रदीप यादव र मृगेन्द्रसिंह यादव मन्त्री बनेका छन्। 

राईलाई भौतिक पूर्वाधार, यादवलाई वन तथा वातावरण र सिंहलाई कृषि तथा पशुपन्छी मन्त्रीको जिम्मेवारी पाएका छन्। मन्त्री हेरफेरमा उपेन्द्रले चलाखी देखाएपछि बाबुरामको आडमा उपेन्द्रलाई अध्यक्षबाटै हटाउने प्रयास विफल बनेको छ। उपेन्द्रले आफू निकटका मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर असन्तुष्ट खेमालाई रोक्नकै लागि सरकारमा पठाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.