|

विराटनगर : मोरङको केराबारी–९ मा अवस्थित बेलचौरी र खयरघारी जोड्ने पुल दश वर्षसम्म पनि बन्न सकेको छैन।

यो पुल नबन्दा वर्षायाममा शिक्षक, विद्यार्थी लगायत विभिन्न काम काजका लागि स्थानीयले ज्यानको जोखिम मोलेर खोला तर्दै आएका छन् भने कतिपय निर्माणाधीन पुलको माथिल्लो भागमा चढेर उक्लिने र वारिपारि गर्ने गरेका छन्। यसले जोखिम बढेको छ।

सरकारी कर्मचारीबाट अनुगमन गर्ने र सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट्याउने बाहेक अरू काम हुन सकेको छैन। 

तीन वर्षमा सम्पन्न हुने योजना रहेको निर्माणाधीन उक्त पुल करिब १० वर्ष देखि अलपत्र हुँदा आफूहरूलाई यात्रा गर्न सकस भएको स्थानीको गुनासो छ। चाँडै पुल निर्माण सम्पन्न गर्ने अपेक्षा देखाए पनि अहिलेसम्म सरोकारवाला निकायले बेवास्ता गर्दा यात्रा गर्न असहज भएको केराबारी–९ का पन्नालाल चौधरी बताउँछन्।

बर्खा लाग्दा खोलामा आउने बाढीले ज्यान जाला भन्ने चिन्ताले वर्षेनि पिरोल्ने गरेको सोही ठाउँकी कल्पना राई बताउँछिन्। घाँसदाउरा गर्न जाँदा वारिपारि तर्न निकै सकस हुने उनको भनाइ छ।

उनको भनाइअनुसार वर्षेनि पुलको अनुगमन गर्न जनप्रतिनिधि र सरकारी कर्मचारी आउने गरे पनि कामले भने कुनै गति लिन सकेको छैन। विशेषगरी बर्खाको समय विद्यार्थीहरू मारमा पर्ने गरेको विशाल परियार बताउँछन्।

‘बर्खामा निरन्तर पर्ने वर्षाका कारण खोलामा बाढी आउँछ र विद्यार्थीहरू स्कुल जाँदा खोला तर्न नसक्दा यही निर्माणाधीन अवस्थामा रहेको पुलको प्रयोग गर्छन्’, परियार भन्छन्, ‘विद्यार्थीहरूले जोखिममा यात्रा गरिरहेका छन्, यदि केही भयो भने कसले बेहोर्ने? सकारले बेहोर्छ।’

भारतबाट पुल निर्माणकै लागि भनेर नेपाल आएका अम्मर मजाहिन कामले गति लिन नसक्दा थकाइ मारेर बसिरहेको भेटिए। भारतबाट १५ दिनअगाडि आएका उनी केही प्राविधिक समस्याले काम रोकिएको बताउँछन्।

ठेकेदार कम्पनीले दिएन चासो

पुल निर्माणको ठेक्का पाएको नीलगिरि कन्स्ट्रक्सन कम्पनीले पुल निर्माणमा चासो नदेखाउँदा वर्षौंअघि शुरु गरिएको उक्त पुल कहिले सम्पन्न हुने हो‚ अझै टुंगो छैन।

समयमा पुल निर्माण गर्ने समय हुँदा पनि ठेकेदार कम्पनीले चासो नदिई निर्माणमा ढिलाइ हुँदा पुल निर्माणको काम अलपत्र अवस्थामा पुगेको स्थानीयको गुनासो छ।

‘समयमा पुल निर्माण नहुँदा दैनिकजसो मानिसहरू सोही खोलामा निर्माणाधीन अवस्थामा बनेको पुलको रडमाथि टेकेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्’, स्थानीय बासिन्दा भन्छन्, ‘अनुगमनमा आउँछन्, सेल्फी खिच्छन् अनि जान्छन्।’

जनप्रतिनिधि फेरिए, पुलको मुहार फेरिएन

पुल निर्माण शुरु भएदेखि यता आफूहरूले चुनेर पठाएका जनप्रतिनिधिहरू फेरिए पनि पुलको मुहार फेरिन नसकेको स्थानीय बासिन्दाको गुनासो छ। सांसद फेरिए, स्थानीय तहमा स्थानीय सरकार फेरिए तर यो पुल र पुलमा यात्रा गर्ने यात्रुको दैनिकी नफेरिएको स्थानीय विशाल परियार बताउँछन्।

‘यसअघि अर्कै कम्पनीले ५,७ वर्षसम्म पनि पुलको १० प्रतिशत काम नगरेपछि दोस्रोपटक कम्पनी परिवर्तन गरी नीलगिरिले ठेक्का लिएको हो’, उनी भन्छन्, ‘ठेक्का लिएको पुल कहिले निर्माण कार्य सम्पन्न हुन्छ, टुंगो छैन तर सोही पुल बन्नुभन्दा अघिदेखि हालसम्म सांसद फेरिए तर पुल तर्ने जनता र निर्माणाधीन अवस्थामा रहेको पुलको अवस्था उस्तै छ।’

के भन्छन् जनप्रतिनिधि ?  
पुल निर्माणको ठेक्का लिएका ठेकेदारलाई स्पष्टीकरण लिएको र वर्षापछि ३ देखि ४ महिनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता दिएको केराबारी–९ का वडाध्यक्ष गोपाल राईले बताए। उनले आफू निर्वाचित भएर आएपछि ठेकेदार युवराज डाँगीलाई सम्पर्क गरेपछि तीन चार महिनापछि काम सम्पन्न गरेर हस्तान्तरण गर्ने बताएको वडाध्यक्ष राईले डाँगीलाई उद्धृत गर्दै बताए।

‘म निर्वाचित भएर आएपछि मैले ठेकेदारलाई सम्पर्क गरेर यो पुलको विषयमा स्पष्टीकरण पनि सोधेको छु’, उनले भने, ‘झरीका कारण काम रोकिएको बताएका छन् र तीनचार महिनामा काम सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।’

ठेकेदारले समयसीमामा काम सम्पन्न नगरे कारबाहीको दायरामा ल्याउने समेत बताए।

उक्त  पुल निर्माण सम्पन्न भए केराबारी–९ का ६ हजारभन्दा बढी बासिन्दा लाभान्वित हुने बताइएको छ। केराबारी गाउँपालिका अध्यक्ष सुमन मगर, वडाध्यक्ष राई केही दिनअघि पुलको र बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न पुगेका थिए।

 के भन्छ सडक विभाग ?
सडक विभाग पुल निर्माण योजना पूर्वी सेक्टर सुनसरीका योजना प्रमुख नीतीश झाले निर्माण व्यवसायीको चरम लापर्वाही देखिएको बताए। उनले बारम्बार लिखित र मौखिक रूपमा साथै राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर काम चाँडै सम्पन्न गर्न आग्रह गर्दा समेत निर्माण कम्पनीले तदारुकता देखाउन नसकेको बताए।

‘हामीले धेरै पटक निर्माण कम्पनीलाई काम सम्पन्न गर्नु भनेर लिखित र मौखिक रूपमा भनेका हौँ, पत्रिकामा समेत सूचना प्रकाशित गरेर काम चाँडै सम्पन्न गर्नु नत्र कालोसूचीमा राख्छौँ पनि भनेका हौँ तर काममा चासो देखाएनन्’, उनले भने, ‘उसले जहिले पनि ठग्ने काम मात्रै गर्‍यो।’

०७८ चत ३० गतेसम्म पुल निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने मिति तोकिएको बताउँदै उनले तोकिएको मितिसम्म काम नसक्दा २ सय दिन थप गरिएको बताए।

उनले भने, ‘२ सय दिनसम्म पनि काम सम्पन्न गरेन भने हामी उसको कम्पनीलाई कालो सूचीमा राख्छौँ।’


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.