|

विराटनगर : प्रदेश १ का मन्त्रिपरिषद बैठकले प्रदेशसभा सचिवालयको सवारीसाधनको ठक्करबाट घाइते भएकाको उपचारमा लागेको खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले प्रदेशसभा सचिवालयको नाममा रहेको सवारीको ठक्करबाट घाइतेको उपचारको क्रममा उठेको ६ लाख १७ हजार रूपैयाँ बेहोर्ने निर्णय गरेको हो।

२०७७ फागुन ८ गते विराटनगरमा सचिवालको सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए। दुर्घटनापछि दुवैलाई विराट मेडिकल कलेज उपचारका लागि भर्ना गरिएको थियो। उपचारका क्रममा लागेको खर्च अझै अस्पतालमा तिर्न बाँकी छ।

‘प्रदेश मन्त्रिपरिषद्‌को बैठकले ६ वटा निर्णय गरेको छ, पहिलो निर्णय आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत सचिवालयको नाममा सरकारी सवारीसाधनबाट दुर्घटना भएको घाइतेको उपचार खर्च सरकारले बेहोर्ने निर्णय छ’, नेकपा एमालेका प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, ‘मृतक परिवारले इन्सुरेन्सबापतको ५ लाख पाइसकेका छन्। बिमाबापतको रकमले उपचार खर्च नपुगेपछि सरकारले छुट्टै रकम दिने निर्णय गरेको हो।’

कृषि मन्त्रालयअन्तर्गतको कटहरी फलफूल तथा तरकारी थोक बजार संकलन संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ। नियमावलीमा थोक बजारमा लेखा अधिकृतको दरबन्दी रहेकोमा त्यसलाई सच्याउँदै लेखा अधिकृत स्तरको कर्मचारी भन्ने शब्द थप गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.