|

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द भएको छ। झुलाघाटमा रहेको झोलुंगे पुल मर्मतको काम हुने भएकोले मंगलबार साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि नाकामा आवातजावत बन्द गरिएको हो।

महाकाली नदीमा रहेको उक्त पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएकाले मर्मतका लागि आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

यसैबीच पुलको लक भाचिएको सूचना प्राप्त भएपछि दुवै देशका सुरक्षा निकायले मंगलबार दिउँसो पुलको अवलोकन र निरीक्षण गरेका छन्।

नेपालतर्फबाट बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, पूर्वाधार कार्यालयका इन्जिनियर र प्रशासकीय अधिकृत तथा भारततर्फबाट पिथौरागढ डिएम कार्यालय, पिडब्ल्युडी र सुरक्षा निकायसहितको टोलीले संयुक्त रूपमा उक्त पुलको अवलोकन तथा निरीक्षण गरे।

निरीक्षणपश्चात सो पुलको तत्काल मर्मत गरी आवागमन सञ्चालन गर्न बुधबार भारतको पिडब्ल्युडी कार्यालयबाट पुल मर्मतका लागि प्राविधिक सहितको टोली खटिने र बुधबार नै उक्त पुलको मर्मत सम्पन्न गर्ने गरी तयारी र अन्य काम अगाडि बढाउने सहमति भएको छ।

पुल जीर्ण भएकाले पुल मर्मत नगरी सञ्चालनमा ल्याउँदा थप जोखिम सिर्जना हुनसक्ने विषयलाई मद्देनजर गर्दै पुलबाट हुने सबै आवागमन रोक्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पन्थीले बताए।

झण्डै २ सय वर्ष पुरानो झोलुङ्गे पुल वेला–वेला मर्मत गरिँदै आएको छ। तत्कालको लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम कायमै छ। बेलायतको पालामा बनेको पुल सन् १८३० मा सञ्चालनमा आएको थियो। पुरानो काठको पुल भारतीय पक्षले वेला–वेला काम चलाउनका लागि मर्मत गरे पनि पूर्ण रुपले मर्मत हुन सकेको छैन। पुल मर्मत नहुँदा सयौँ मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

झुलाघाटको महाकालीमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म मोटरेबल पुलको काम अघि बढ्न सकेको छैन। उक्त नाकामा मोटरेबल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए तर पनि कुनै सुनुवाइ भएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.