|

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीकी ७० वर्षीया तुलसी तिवारीको ‘घरैको छेउमा पानी कलकल खसिरहेको धारो देख्ने’ रहर थियो। बिहे गरेर शंकरपोखरीमा आएका दिनदेखि नै सिङ्गो बिहान खर्चिएर पिठ्यूँमा पानी बोक्दै बितेको उनको जीवनले अब भने पानीको दुःख भने बेहोर्न नपर्ने भएको छ।

तुलसीका जस्तै पानीको सास्ती शंकरपोखरीका हरेक घरले भोग्दै आएका छन्। महिलाहरूको बिहानी पानी खोज्दैमा जान्छ त कहिलेकाहीँ बालबालिकाहरू समेत विद्यालय नगई पानीको खोजीमा भौँतारिएका भेटिन्छन्। गाउँमा नेता पुग्दा होस् वा पूजा गर्दा किन नहोस् ‘पानी पाइयोस्’ भन्ने उनीहरूको माग र कामना रहन्थ्यो।

सिमेन्टबाट बनाइएका ठूलठूला घैँटामा बलेँसीको पानी जम्मा गरेर राख्ने अनि त्यही पानीले दैनिकी चलाउने बाध्यता उनीहरूको थियो।

शंकरपोखरीवासीको यो माग गण्डकी प्रदेश सरकारले पूरा गर्न लागको हो। बहुवर्षीय आयोजनाअन्तर्गत १८ करोडको लागतमा लमाए खोलाको पानी लिफ्ट प्रविधिमार्फत तानेर शंकरपोखरीका विभिन्न गाउँमा बाँड्ने योजना यही वर्ष पूरा हुँदै छ।

बृहत् शंकरपोखरी खानेपानी तथा लिफ्ट आयोजनाका सचिव कमल भुसालका अनुसार उपभोक्ताको २० प्रतिशत जनश्रमदान सहित १८ करोडको लागतमा बन्दै गरेको आयोजनाको झन्डै ९८ प्रतिशत काम सकिएको छ।

‘पञ्चवर्षीय योजनाका रूपमा चलेको आयोजनाको काम अहिले चौथो वर्षमा चलिरहेको छ। लगभग ९० प्रतिशत काम पूरा गरिसकेका छौँ,’ उनले भने, ‘विद्युतका तीनवटा ट्रान्सफर्मर जडान गरेका छौँ, अब केही दिनमै मोटर जडानको काम पूरा भएपछि पानी तान्न सकिन्छ।’

बाँकी रहेको १० प्रतिशत काम आगामी मङ्सिरसम्म पूरा गर्ने लक्ष्य राखिए पनि पानीको आपूर्ति भने साउनको दोस्रो साताभित्र शुरु गर्ने तयारीमा आयोजना छ। नयाँ ट्याङ्की र धारा बन्ने काम मङ्सिरसम्म पूरा हुने भए पनि गाउँमा रहेका पुराना ट्याङ्कीमा पानी खसालेर भए पनि जतिसक्दो छिटो उपभोक्तालाई सहज पार्न खोजिएको सचिव भुसालले बताए। शंकरपोखरीवासी पानीका लागि मिनेट मिनेटमा तड्पिरहेका कारण तत्कालका लागि पुराना ‘सप्लाई’ मा पानी हाल्न लागिएको उनको भनाइ छ।

‘एकजनालाई पिउने र सरसफाइ गर्न दैनिक न्यूनतम दुई सय लिटर पानी आपूर्ति हुन्छ भन्ने हाम्रो हिसाब छ’‚ भुसाल भन्छन्, ‘साविकको वडा नं. ९ खल्डाँडा बाहेकका सबैजसो वडामा यो लिफ्टको पानी पुग्छ। पुर्कोट, भलपोखरा, रहालेपानी, शंकरपोखरी डाँडा लगायतका १० भन्दा बढी टोलमा पानी जाँदै छ।’

आयोजनाका अध्यक्ष शिव तिवारीले शंकरपोखरीको सिमाना छुट्याउने गरी बगिरहेको लमाए खोलाबाट शंकरपोखरी र थापाठानाको उच्च भागमा रूपमा रहेको लिमिकोटसम्म ६४५ मिटर पाइप राखेर खोलाको पानी तान्न लागिएको बताए। पानी वितरण गर्ने क्षेत्रको अग्लो स्थान लिमिकोट भएकाले त्यही ठाउँबाट शंकरपोखरी र थापाठानाका विभिन्न टोलमा पानी पठाउन लागिएको हो।

लिफ्ट प्रविधिबाट तानिएको पानी फलेवास–३ शंकरपोखरीमा मात्र नभई फलेवास–२ थापाठानामा पनि विस्तार गर्न लागिएको बताए। ‘शंकरपोखरीका ७४६ घरमा पानी पुग्छ बाँकी थापाठानाको घैयारतिरको क्षेत्रका घरमा लिफ्टको पानी जाने हो। काम पूरा हुँदा प्रत्येक घरमा पानीका धारा र धारामा मिटर जडान हुनेछन्,’ उनले भने, ‘सकेसम्म दशैँमा नै यो पानी खुवाऊँ भन्ने गरी काम गरिएको हो। दशैँमा सकिएन भने मङ्सिरसम्म पुग्न सक्छ।’

एक दिनमा लगातार आठ घण्टासम्म पानी तान्दा सबै उपभोक्ताले सहज रूपमा पानी उपभोग गर्न पाउने अध्यक्ष तिवारीले बताए। आयोजनाको काम सक्नका लागि अहिलेसम्म करिब ६ करोड जतिको बजेट सकिएको उनको भनाइ छ। निर्माणको धेरै काम भने घरघरमा बनाइने धारा हुनेछन्।

शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्की वर्षौँदेखि पानीको समस्यामा रहेका शंकरपोखरी र थापाठानावासीको पानीको समस्या हल हुनु शंकरपोखरीको प्रमुख समस्याको हल हुनु भएको बताउँछन्। दैनिकजसो पानीको चिन्तामा बाँच्नेहरूले ढुक्कका साथ पानी पिउन पाउनु, चौपायालाई खुवाउन पाउनु र सरसफाइ गर्न पाउनु खुशीको कुरा भएको बताउँछन्।

‘यहाँको अवस्था त यतिसम्मको हो कि धेरै पानी पियो भने पानी सकिन्छ भनेर समेत पीर मान्नुपर्ने अवस्था छ। अब मङ्सिरमा आयोजनाको काम पूरा भएपछि निद्रामा पनि पानी देख्ने शंकरपोखरीवासी ढुक्कले निदाउन पाउनेछन्’‚ उनले भने, ‘हरेक चुनावदेखि हरेक कार्यक्रममा पहुँचवाला जो आए पनि यहाँका बासिन्दाले पानीको माग राख्दै आउनुभएको थियो। प्रदेश सरकारले दिएको बजेटबाट यो सपना पूरा हुन लागेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.