|

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान सकिएको छ। बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले बताए।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।

विवादपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो। स्थानीय तह निर्वाचन सकिएको दुई महिनापछि नयाँ नेतृत्व चयनका लागि बुढीगंगामा पुनः मतदान भएको हो।

बिहीबार सम्पन्न मतदानमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन अधिकृत कठायतले जानकारी दिए। मतदान सम्पन्न भएको ठाउँमा मुचुल्का तयार गरेर मतपेटिका संकलन भइरहेको उनको भनाइ छ। मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय गरिनेछ।

बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा केही समय मतदान रोकिएको थियो।

उक्त मतदान केन्द्रमा दुईपक्षीय झडपले तनाव सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको थियो। बुढीगंगा नगरपालिकाका मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रीता शाही उम्मेदवार छन्। नगरपालिकामा १२ हजार ६५९ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.