|

बैतडी : केही दिनदेखि भइरहेको वर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्‍याएको छ। जिल्लाको सुर्नया, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले क्षति पुर्‍याएको हो।

घोगा लाग्ने वेला मकैबालीमा क्षति पुगेको किसानहरूले बताएका छन्। दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्‍याएको स्थानीय हरीश जोशीले जानकारी दिए।

वर्षा र हावाहुरीले मकै भाँचिएपछि भोकमरी हुने भन्दै किसानहरू चिन्तित बनेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा मकैमा क्षति पुगेको किसानले बताएका छन्। वडा नं १ र ७ मा हावाहुरी सहितको वर्षाले मकैबालीमा व्यापक क्षति पुर्‍याएको स्थानीय जनक ऐरले बताए।

मकै ढलेर नष्ट भएपछि आफूहरूलाई निकै समस्या भएको सुर्नयाका स्थानीय किसान नरेन्द्र विष्टले बताए। वर्षा नहुँदासम्म किराले मकैबालीमा क्षति पुर्‍याएको र वर्षापछि मकै ढलेर झन् क्षति भएको छ।

यसैबीच जिल्लाको मुख्य खाद्यबालीको रूपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान छ। हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको उत्पादन घट्दै गएको छ।

बैतडी मकै जोन क्षेत्र भए पनि विभिन्न कारणले मकैबालीमा क्षति हुँदै आएको छ। मकैबालीमा फौजी किरा, विभिन्न जंगली जनावर, विभिन्न प्रकोपले मकैबालीमा क्षति पुग्दै आएको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ।

बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिँदै आए पनि विभिन्न कारणले मकैबालीमा क्षति हुने गरेको छ। मकै उत्पादनका हिसाबले जिल्लामा राम्रो उत्पादन हुने गरेकोमा विभिन्न कारणले उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञानकेन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए। 

पछिल्ला दुई तीन वर्षयता मकैमा फौंजी किराले नोक्सानी पुर्‍याउने गरेको छ भने वर्षातका वेला पनि क्षति हुने गरेको छ। यस्तै जंगली जनावरबाट समेत मकै जोगाउन निकै मुस्किल भएको किसानले बताएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.