|

काठमाडौं : मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा ल्याउन बन्द गरिएपछि ट्यांकर र जार व्यवसाय फस्टाउँदै गएको छ। मेलम्ची पानी वर्षात् सुरु भएसँगै जेठ १७ गतेबाट उपत्यकामा ल्याउन बन्द गरिएको थियो। 

मेलम्ची खानेपानी आयोजना विकास समितिले पहिला जस्तै बाढीबाट क्षति नहोस भनी बेलैमा पानी बन्द गरेको हो। मेलम्ची पानी नआएपछि उपभोक्ताहरू यतिखेर जार र ट्यांकरको पानी उपभोग गरिरहेका छन्। काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अनुसार मेलम्ची पानी आउँदा ट्यांकर पानीको माग सिजन अनुसार ७५ प्रतिशतसम्म घट्ने गर्छ। 

संघका अध्यक्ष हरि कँडेलले वर्षातको सिजनमा पनि ३५ प्रतिशत ट्यांकरको पानी माग भइरहेको जानकारी दिए। ‘सुख्खा याममा त मेलम्ची पानी नआउँदा हामी धान्नै सक्दैनौँ,तर अहिले वर्षात् सिजन छ,आकाशे पानी पनि प्रयोग गर्छन, इनारबाट पानी निस्किन्छ, त्यसैले अहिले दैनिक करिब ३५ प्रतिशतसम्म माग छ,’उनले भने।

दैनिक करोडौँ लिटर माग रहेको र अहिले सहजै ढंगले पानीको माग आपूर्ति गरिरहेको उनको भनाइ छ। ‘अहिले जहाँ पानीको समस्या छ,’उनले भने,‘ती ठाउँहरुमा ट्यांकरबाट सेवा दिइरहेका छौँ।’

उनका अनुसार अहिले टयांकरले घरायसी प्रयोजनको लागि मात्र पानी वितरण गर्ने गरेको छ।  खानेपानी भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वितरण गर्ने गरेको उनले जानकारी दिए।

त्यस्तै,जारको खानेपानी पनि ह्वात्तै फस्टाएको छ। नेपाल बोटल वाटर उद्योग संघकाअनुसार मेलम्ची खानेपानी आउँदा १० प्रतिशतभन्दा माथि नै जारको पानी माग घट्छ। तर,अहिले उपत्यकामा दैनिक दुई लाख जार पानीको माग छ। तर,संघले दैनिक ३ लाख सम्म जारको पानी वितरण गर्ने गरेको संघले जनाएको छ।

कसरी हुँदै छ उपत्यकामा पानीको व्यवस्थापन ?

केयूकेएलका अनुसार दुई लाख ३० हजार ग्राहक छन्। उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग छ। मेलम्ची पानीको पूर्ण क्षमता दैनिक १७ करोड लिटर हो। तर,यी पानी उपत्यकामा आउँदा पनि यी उपत्यकाको मागलाई धान्दैन। मेलम्ची पानी नआएपछि झनै यहाँ पानीको हाहाकार हुने गर्छ। 

मेलम्ची खानेपानी आयोजना निर्माण शुरू भएको दुई दुई दशकपछि पानी गत फागुन २२ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलको प्रशोधन केन्द्रमा खसालेका थिए।

मेलम्चीबाट ल्याइएको पानी चैत १५ गतेबाट उपत्यकामा वितरण गरिएको थियो। पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण गरिएको थियो। तर,बाढी पहिरो लगायत विभिन्न कारणले विभिन्न समयमा पानी निरन्तर आउन सकेको छैन्।

पुनः बन्द गरिएको मेलम्ची पानी अब मनसुनपश्चात् मेलम्चीमा सफा पानी प्रवाह हुने समय सुरु भएपछि मात्रै पुनः उपत्यकामा पानी पठाउन सुरु गरिने मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ। पानी आउँन कात्तिक महिनासम्म समय लाग्न सक्छ, यो समयसम्म पानीको व्यवस्थापन गर्न केयुकेयलाई चुनौती छ।

केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्चीको पानी नआउँदा अहिले यही स्रोतबाट अहिले दैनिक १५ देखि १६ करोड लिटर पानी मात्रै उत्पादन भएको छ। ‘तर,अहिले पानी परिरहेको छ,धेरै जनाले आकाशे पानी प्रयोग गर्छन,पहिला जस्तो पानीको गुनासो भने आएको छैन,’उनले भने।
सुख्खा सिजनमा भने पानीको व्यवस्थापन गर्न धेरै कठिन हुने उनको भनाइ छ। 

पानीमाथि उठेको प्रश्नबारे यसो भन्छ केयुकेएल

उपत्यकाभित्र पानीको व्यवस्थापन गर्ने केयुकेएल कार्यालयमा असार महिना लागेदेखि नै कर्मचारीहरुले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यो आन्दोलन हालसम्म पनि जारी छ।

नेपाल कम्युनिस्ट पार्टीनिकट एकीकृत स्वतन्त्र कर्मचारी संघ, कांग्रेसनिकट कर्मचारी संघ, लोकतान्त्रिक कर्मचारी संघ लगायतले उनको राजीनामा माग गर्दै संयुक्त रूपमा आन्दोलन गरिरहेका छन्।

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले संस्था धराशयी अवस्थामा पुर्‍याएको उनीहरुको आरोप छ। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान उनीहरुको छ। 

अर्कातिर, अहिले नेपालमा हैजा संक्रमण फैलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ। मन्त्रालयले खानी पानीबाट हैजाका संक्रमण देखिएको बताउँदै आएपछि सर्वसाधारणहरू त्रसित छन्। तर, पानी उत्पादन, वितरण, टेस्टिङलगायतको काम गर्ने निकायका कर्मचारी भने आन्दोलनमा छन्।

यता,केही काम नरोकिएको र पानी टेष्टिङ गरेरमात्र वितरण भइरहेको केयुकेएलका प्रवक्ता राईको दाबी छ। ‘कर्मचारीहरुले आन्दोलन जारी नै राखेका छन,’उनले भने,‘तर काम रोकिएको छैन,पानी टेष्टिङ गरेर मात्रै उपभोक्ताहरूलाई वितरण गर्ने गरेका छाैं, पानी खान योग्य नै छ,मागबारे छलफल भइरहेको छ,अब छिट्टै आन्दोलन टुंगिन्छ भन्ने विश्वास लिएका छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.