‘पुरानो होइन, अब प्रश्नपत्र निर्माण शैली फेरौँ’

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मानविकी संकायले गत जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र अन्तर्गतको ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको भन्दै विवाद उत्पन्न भयो। 

६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेपछि त्रिविले छानबिन समिति गठनसमेत गर्‍याे। तर अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन।

उक्त घटना सेलाउन नपाउँदै फेरि भएको अर्को परीक्षामा पनि त्रिविले पुरानै प्रश्नपत्र हुबहु सोधेको छ। त्रिविले असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशन विहेवियरको प्रश्नपत्र मोडर्न नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको छ। 

यसविरुद्ध परीक्षार्थीहरू सडकमा उत्रिँदै चर्को विरोध र आलोचना गर्दै आएका छन्। त्रिविले भने उक्त परीक्षा रद्द गरिएको र सोही विषयको परीक्षा आगामी साउन १ गते हुने जनाएको छ। 

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले एकपछि अर्को परीक्षामा लापरबाही गरेको भन्दै त्रिविका पदाधिकारीहरूको राजीनामा नै मागेको छ। 

शिक्षाविद् भन्छन् : सधैँ एकैजनाले प्रश्न बनाउँदा गल्ति

त्रिविले यसरी प्रश्नपत्र हुबहु सोधेको अहिले मात्र होइन। यसअघि पनि विभिन्न परीक्षामा पटक-पटक यो समस्या र विवाद हुँदै आएको छ। अर्कोतर्फ सधैँ त्रिविका विभिन्न विभागका कार्यालयमा ताला लागिरहेको हुन्छ। परीक्षाजस्तो संवेदनशील कुरामा समेत लापरबाही गर्दै आएको छ त्रिवि।

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला त्रिविले यसरी पटक–पटक प्रश्नपत्र हुबहु सोध्नु गम्भीर लापरबाही भएको बताउँछन्। उनी भन्छन्, ‘विश्वविद्यालय अनुदान आयोगले क्लालिफिकेशन फ्रेमवर्क बनाएको छ, त्यसमा बिए पास हुनेको कति हुनुपर्छ, ज्ञान, सिप र अभिवृद्धि पक्ष कस्तो हुनुपर्छ जस्ता क्षमता हेर्न फ्रेमवर्क बनाएको छ। यो कार्यान्वयन भए समस्या आउँदैन।’

उनले प्रश्नपत्र बनाउने शैली परिवर्तन नगरिँदा यस्तो समस्या दोहोरिइरहेको बताए। ‘प्रश्नपत्र बनाउने निश्चित मान्छे छन्, ती व्यक्ति अहिलेसम्म छन्, नयाँ मान्छेहरूले बनाउन पाउँदैन, यसको घातक परिणाम अहिले आएको हो। नयाँ व्यक्तिलाई पनि प्रश्न बनाउने प्राथमिकता दिए नयाँ प्रश्न बनाउँछन्, विवाद निस्किँदैनथ्यो,’ उनले भने।

‘त्रिवि निजी कलेजसँगको सेटिङमा चल्यो’

नेविसंघले त्रिवि पछिल्लो समय निजी कलेजको सेटिङमा चलेको आरोप लगाएको छ। यही कारण ‘सेन्टर फर एक्सिलेन्स’ भन्ने त्रिविको आफ्नै नाराले उसैलाई गिज्याइरहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, विज्ञप्तिमार्फत नेविसंघले देशकै शैक्षिक धरोहर रहेको त्रिविले विद्यार्थीको भविष्य अन्धकारतर्फ ढकेलिरहेको जनाएको छ। विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘प्रश्नपत्र निर्माण तथा नियमन गर्ने निकायका जिम्मेवार व्यक्तिहरू तथा सम्पूर्ण बिचौलियाहरूलाई कारबाहीको दायरामा नल्याएको खण्डमा त्रिविविरुद्ध नेविसंघले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछ।’

समाधानका लागि यस्ता छन् कोइरालाका सुझाव

शिक्षाविद् कोइराला यसको समस्या समाधानका उपाय पनि रहेको बताउँछन्। उनका अनुसार यस्ता विवाद समाधान गर्न लोक सेवा, शिक्षक सेवा, त्रिवि सेवा आयोगले जसरी एकजनाबाट ५ थरीका अब्जेक्टिभ र सब्जेक्टिभ प्रश्न खोज्छ, यसैगरि त्रिविमा पनि लागू गरि प्रुफिङ गर्ने र प्रश्न छनोट गर्नुपर्छ। यसो गर्दा प्रश्नपत्र दोहोरिँदैन।

‘जसरी सरकारले प्राध्यापक, शिक्षकलगायत कर्मचारीहरूको सेवा सुविधा बढाएको छ, यो पचाउन उनीहरूले आफ्नो नैतिक जिम्मेवारीबारे पनि सोच्नुपर्छ,’ उनले भने, ‘एउटै प्रश्न हुबहु सोध्नु, चिनेको मान्छेलाई बढी नम्बर दिनु भनेको अनैतिकताको पराकाष्टा हो। उनीहरू नसुध्रिएसम्म विद्यार्थी दुःख भोगिरहन बाध्य हुन्छन्।’

उनका अनुसार परीक्षा हुनुभन्दा एक महिनाअगाडि नै प्रश्नपत्र बाहिर ल्याएर विद्यार्थीलाई जानकार गराइ तयारी गराउँदा पनि हुन्छ। त्यसपछि यही भित्रका प्रश्नपत्र वृहत छलफल गरेर छनोट गरि परीक्षामा सोध्दा विवाद नहुने उनको भनाइ छ। 

छानबिन गर्न उच्चस्तरीय समिति गठन

प्रश्नपत्र बाहिरिएको विषयमा जानकारी लिन थाहाखबरले पटक-पटक त्रिविका उपकुलपति डा.धर्मकान्त बाँस्कोटा र रजिष्ट्रार पेशल दाहाललाई टेलिफोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन्।

यद्यपि त्रिविको व्यवस्थापन संकायले आइतबार एक प्रेस विज्ञप्ति जारी गरि उक्त प्रश्नपत्रको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ।

परीक्षा सञ्चालन तथा व्यवस्थापनमा देखिएका कमीकमजोरी तथा समस्याको विस्तृत अध्ययन तथा छानबिन गरि राय सुझाव पेश गर्न समिति गठन गरिएको त्रिविको व्यवस्थापन संकायले जनाएको छ।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.