गठबन्धनकै पक्षमा सभापति, नेताहरूको फरक मत

|

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार र पार्टी नेतृत्व सञ्चालनमा चुनौती बढेको छ। पाँचदलीय गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गरिरहेका देउवा पार्टी नेताहरूकै घेराबन्दीको कारणले समस्यामा परेका हुन्। 

संस्थापन इतर समूहले सरकार भ्रष्टाचारमा लागेकाे भन्दै काम, कारबाहीबारे नैतिक रूपमा प्रश्न उठाएपछि देउवालाई संकट परेको हो। गठबन्धन दलका नेता र प्रमुख प्रतिपक्षी दलको चौतर्फी दबाबमा अल्झिएका देउवालाई पार्टीका नेताले नै प्रतिपक्षको भूमिका निर्वाह गर्न थालेपछि समस्या भएको उनी निकट नेताहरू बताउँछन्। 

‘पार्टीभित्रको कुरा पार्टी बैठकमा राख्नुपर्छ। तर उहाँहरूले त अर्को पार्टी झैँ गरेर पार्टीको विधानविपरीत खुलेआम गुटको बैठक राख्नुहुन्छ। र, प्रमुख प्रतिपक्षको भूमिका पनि आफैँ निर्वाह गरिदिनुहुन्छ’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘उहाँ (शेखर कोइराला)कै निर्देशनमै पार्टी कार्यलयमा हुने केन्द्रीय समितिको बैठकमा जाँदा समेत सभापतिविरुद्ध नाराबाजी भयो। यो पार्टीविरुद्धको गतिविधि हो।’

सभापतिको कार्यशैलीप्रति चित्त नबुझे पार्टी बैठकमै कुरा राखेर छलफल गर्नुपर्ने ती नेताको भनाइ छ। पार्टी सभापति नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले गम्भिर समीक्षा गर्नुपर्ने भएकाले प्रश्न उठाएको संस्थापन इतर पक्षका नेता चन्द्र भण्डारी बताउँछन्। 

‘सरकारले ल्याएको बजेटमाथि यतिधेरै प्रश्न उठेको छ। पार्टी विधिवत रुपमा चल्न सकेको छैन। स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनबारे जिल्लाबाट अनेकन प्रश्न आइरहेका छन्’ उनले भने, ‘त्यसैले बैठकमा सबै कुराको समिक्षा गर्नुपर्छ। भइरहेको पनि छ।’ 

पार्टीलाई विधिवत् रूपमा चलाएर आगामी निर्वाचनबाट कांग्रेसलाई पहिलो पार्टी बनाउनेगरी लाग्नुपर्ने उनले बताए। 

त्यसो त जारी केन्द्रीय समितिको बैठकमा गएको स्थानीय तह निर्वाचनको समीक्षा गरेर आगामी निर्वाचनको रणनीति तय गरेर अघि बढ्ने प्रवक्ता प्रकाशशरण महत बताउँछन्। 

‘बैठकको मुख्य उद्देश्य भ्रातृ संस्थाको गतिशीलता हो। त्यसपछि हामीले चुनाव र गठबन्धनको समीक्षा गरेर आगामी चुनावबारे निर्णय लिन्छौँ’, उनले भने, ‘बैठकपछि हामी निर्वाचन अभियानलाई अगाडि बढाउँछौँ, साथीहरूले राखेको सुझावलाई समेटेर जान्छौँ।’ 

गठबन्धनबारे दुईमत 

प्रधानमन्त्री देउवा आगामी निर्वाचनसम्म गठबन्धनलाई कामयै राख्ने पक्षमा अडिग छन्। ०७४ सालको निर्वाचनमा वाम गठबन्धन गरेर कांग्रेसलाई २३ सिटमा झारेका भयले देउवा अहिले गठबन्धन जोगाउनुपर्ने चुनौती छ। 

स्थानीय तहको निर्वाचनमा गठबन्धनकै बलमा पहिलो शक्ति बनेको कांग्रेस अहिले नेताहरुले एक्लै चुनाव लड्नुपर्ने बताउन थालेका छन्। सोमबारदेखि जारी केन्द्रीय समिती बैठकमा गठबन्धनबारे नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। 

त्यसो त वैशाखमा भएको स्थानीय तहको निर्वाचनमै शेखर कोइराला पक्ष गठबन्धनको पक्षमा थिएन। तर देउवाको जोडबलमा गठबन्धन गरेको भए पनि अहिले ०७४ मा निर्वाचन हारेका अधिकांश नेतासहित देउवा गठबन्धनकै पक्षमा छन्। 

सोमबारको बैठकमा नेतृत्वप्रति १२ बुँदे असमझदारी राख्दै नेता शेखर कोइरालाले गठबन्धनबारे गम्भीर भएर सोच्नुपर्ने बताएका छन्। 

‘हामी स्थानीय तहको निर्वाचन पश्चात प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा उभिएको छौँ। पछिल्लो केन्द्रीय समिति बैठकको लामो रस्साकस्सी पछि हामी तालमेल मार्फत स्थानीय तहको निर्वाचनमा गयौँ। तालमेलका कारण केही बढी सिट त जित्यौँ तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्‍याउन खोज्दैछौँ?’, उनले नेतृत्वमाथि प्रश्न उठाए। 

विगतको तालमेल र आगामी निर्वाचनबारे पार्टीभित्र सूक्ष्म ढंगले समीक्षा र मूल्यांकन गनुपर्ने उनको भनाइ छ। उनले आफू निर्वाचन र जिम्मेवारीबाट भाग्ने छुट नभएको भन्दै कर्मशील र निष्ठावान भएर गठबन्धनबारे जवाफ दिन माग गरे। 

‘कांग्रेसका हजारौँ नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक बन्न सकेका छैनन्। यसै परिप्रेक्षमा आगामी निर्वाचन व्यक्ति केन्द्रित गठबन्धन गर्‍यौँ भने पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौँ त? यसबारे आगामी निर्वाचन भन्दा अगाडि गम्भीर र विस्तृत रुपमा पार्टीभित्र छलफल गरिनु पर्छ’, उनी भन्छन्, ‘प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टि हुनेगरी तालमेलबारे पार्टीको धारणा निर्माण गरौँ भन्ने मेरो विचार हो।’ 

गठबन्धनका दलका नेताहरुले कांग्रेसतिर फर्केर आरोप लगाइरहेको भन्दै नेतृत्व जिम्मेवार बन्नुपर्ने बताए। 

गठबन्धनबारे कांग्रेस नेताहरुले प्रश्न उठाइरहेको वेलामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरू वाम गठबन्धनको प्रयासमा छन्। त्यही भयले देउवाले आगामी निर्वाचनमा गठबन्धन जोगाउनुपर्नेमा जोड दिँदै गठबन्धन नगर्न प्रस्ताव गर्नेहरूलाई एक्ले चुनाव जित्न चुनौती समेत दिन भ्याए। 

पार्टी आन्तरिक किचलोमा फसेपछि केन्द्रीय सदस्य प्रदिप पौडेल चुनावमा पार्टीलाई एक ढिक्का बनाएर जानुपर्नेमा जोड दिन्छन्। 

‘निर्वाचनमा हामीले पार्टीलाई एकताबद्ध बनाएर जानुपर्छ। सभापतिजीले पनि अहिले उदारता देखाउनुपर्छ’, उनले भने, ‘गठबन्धन नगरी हामीले कति जित्न सक्छौँ? समीक्षा गरौँ। हामीले गठबन्धन छाड्दा हामीविरुद्ध बन्न गठबन्धनबारे पनि ध्यान दिनुपर्छ।’

पार्टीमै प्रतिपक्ष!

प्रमुख प्रतिपक्षी दल एमालेको चर्को आक्रोश खेपिरहेको वेला प्रधानमन्त्री देउवा पार्टी भित्रबाटै दबाब खेप्न बाध्य भएका छन्। पार्टीभित्रको हरेक गतिविधिमा नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले देउवालाई दबाब बढाइरहेका छन्। 

सरकारले राष्ट्रियसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेश गरेपछि पार्टीभित्रबाटै उनले प्रतिपक्षीको अनुभव खेप्न पाए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढाउँदा विरोध गरेर देउवा अहिले त्यही बाटोमा हिँड्दा पार्टीकै नेताहरूको साथ पाएनन्। 

सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने नेता कोइरालाले बताए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको यो विधेयक लैजान नहुने उनको भनाइ छ। 

त्यसो त महामन्त्रीद्वय थापा र शर्मा पनि विधेयक तत्काल फिर्ता लिनुपर्ने अडानमा छन्। सरकारको गतिविधिमा मात्रै नभएर पार्टीभित्र पनि देउवालाई संस्थापन इतर पक्षले चर्को दबाब बढाइरहेका छन्। सभापति देउवाले पार्टीलाई विधान अनुसार चलाउन नसकेकाे भन्दै संस्थापन इतर पक्षले प्रश्न गर्दै आएको छ। महामन्त्रीद्वय आफ्नो खेमाको नभएकाले देउवालाई पार्टी सञ्चालनमा अफ्ठ्यारो हुँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.