शिक्षा मन्त्रालयले भन्यो : उच्च सतर्कता अपनाउनू

|

काठमाडौं : यस वर्ष एक साताअघि नै नेपालमा मनसुन भित्रिएको छ। यहाँ जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति हो। तर, जल तथा मौसम पूर्वानुमान महाशाखाले सरदर मिति भन्दा अगाडि अर्थात् गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको जनाएको छ।

अहिले पनि विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ। बाढी पहिरोको प्रकोप छ। मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने जनाएको छ। त्यसो त यही कारण देशभरका करिब एक हजार सामुदायिक विद्यालय बाढी पहिरोको जोखिममा परेका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्ष बाढी पहिरोले ९ सय विद्यालयमा क्षति पुगेको थियो। ‘यस वर्ष झनै विज्ञहरुले औसतभन्दा बढी पानी पर्ने भनेको छ, त्यसैले यो वर्ष करिब एक हजार विद्यालय जोखिममा हुने देखिन्छ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने।

शिक्षा मन्त्रालयले भन्यो : उच्च सतर्कता अपनाउनू 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बाढी पहिरोबाट उच्च सावधानी अपाउन प्रदेश तहमा शिक्षा हेर्ने मन्त्रालय र ७ वटै प्रदेशलाई आग्रह गरेको छ।

त्यस्तै, शाखाले विगत वर्षहरुमा अत्यधिक वर्षाका कारण विद्यालयहरुमा विभिन्न खालका मानवीय एवं भौतिक क्षति भएकाले यसलाई मध्यनजर गरी सबै स्थानीय तह र ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वयलाई सूचना नै जारी गरी सावधानी अपाउन आग्रह गरेको छ। 

विकास केन्द्रले अत्यधिक वर्षाका कारण बाढी पहिरो र डुबान आदि जस्ता जोखिम रहन सक्ने खोला, नाला, ताल तलैया, नदी, पोखरी आदि नजिक रहेका वा गहिरो प्रकृतिको जमिनमा अवस्थित विद्यालयहरु बढी सतर्कता अपनाउनु भनेको छ।

‘यी विद्यालयहरुमा पानीको सतह बढेर अफिस तथा कक्षाकोठा भित्रका कार्पेट, पुस्तक पत्रपत्रिका, स्टेशनरीलगायत शैक्षिक सामग्री माथिको क्षति रोक्न सावधानी अपनाउनू,’ सूचनामा भनिएको छ।

त्यस्तै, विकास केन्द्रले क्षति हुन पुगेमा सोको विवरण अविलम्ब केन्द्रमा पठाउन पनि अनुरोध गरेको छ। शिक्षा मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ४ सय ५४ सरकारी विद्यालय छन्।​

दुई महिनामा ११९ जनाको मृत्यु

पछिल्लो समय भारी वर्षाका कारण मानवीय तथा धनजनको ठूलो क्षतिका घटना बढ्दै गएका छन्। प्राधिकरणको विपद् बुलेटिनमा विपद्‍बाट वैशाख १ देखि असार २८ गते (आज)सम्ममा एक सय १९ जनाको मृत्यु भएको तथ्याङ्क उल्लेख छ।

पहिरो, बाढी, भारी वर्षालगायत प्राकृतिक विपद्‍बाट घटना संख्या एक हजार ४५ पुग्दा २ सय ८३ जना घाइते भएका छन्। २ जना बेपत्ता छन्। त्यस्तै १३ सय ७० घरपरिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

के गर्दैछ क्षति रोक्न प्राधिकरण ?

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले देशभरीका सामुदायिक विद्यालय कस्ता–कस्ता प्राकृतिक प्रकोपका जोखिम छन् भनेर अध्ययन र आँकलन गर्ने कार्यक्रम सुरु गर्न लागेको जानकारी दिए।

उनले अहिले पनि देशभरी जोखिम भएका विद्यालयमा सावधानी अपनाउन आग्रह र चेतना दिँदै आएको बताए।

‘प्रकोपबाट कसरी विद्यालय सुरक्षित पार्ने भनी काम थालनी गरिसकेका छौँ, ३२ जिल्लामा करिब ६ हजार विद्यालय पुनर्निर्माण गरेका छौँ, विद्यालयको प्रबलीकरण भइरहेको छ,’ उनले भने।

 

​प्राधिकरणका अनुसार बाढी, पहिरो हिमाली क्षेत्र, मध्यपहाडी क्षेत्र, बाढी जानेमा सिन्धुपाल्चोक, बाजुरालगायत जिल्लाहरु छन्। शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय लगायतसँगको समन्वयमा माटोले बनेको विद्यालय भत्काएर पक्की बनाउने काम सुरु गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.