|

झापा : किराँत धर्मग्रन्थ मुन्धुममा वर्णित सिमिक्वा (सिबिउ) चरीको पुराकथामा आधारित नाटक ‘सिमिक्वा’ झापाको दमकस्थित कदम थिएटरमा असार २७ देखि प्रदर्शन भइरहेको छ।

ढुङ्गे युगमा एक जंगलको ओडारमा वृद्धा आमा र किशोरी छोरी जीवनयापन गरिरहेका हुन्छन्। साँझ–बिहानको गर्जो टार्न आमा च्याउ र कन्दमूल खोज्न जंगल जान्छिन्। सिमिक्वा (छोरी) चञ्चले छिन्। बाँसको धिरीमा पानी जोहो गर्नु, वनमा ऐंसेलु लगायतका फलफूल टिपी खानु सिमिक्वाको दैनिकी हुन्छ।

एकदिन सिमिक्वाले आमालाई दिनहुँ च्याउ खाँदा दिक्क लागेको सुनाउँछिन्। छोरीको खुशीका निम्ति आमा गिठ्ठा‚ भ्याकुर खोज्न जंगल जान्छिन्। साँझमा घर फर्किन्छिन्। थकान र तिर्खाले लखतरान भएकी उनले छोरीलाई पानी माग्छिन्। यहीवेला उनको आँखा अघिल्लो दिन जम्मा गरेको च्याउमा पर्छ। च्याउ अघिल्लो दिनभन्दा धेरै नै कम देख्छिन्। त्यसैले च्याउ राम्रो हेरचाह नगरेकाले चरा, मुसाले खाएको भनी उनले छोरीलाई गाली गर्छिन्।

सिमिक्वाले आफ्नो गल्ती नभएको बताउँछिन्। छोरी मुखमुखै लागेको देखेर आमा क्रुद्ध हुन्छिन् र सिमिक्वालाई एकदुई लपेटा हान्छिन्, सराप्छिन्। सिमिक्वाको माङगेन्ना (शिर) ढल्छ। उनी रुन्छिन्, कराउँछिन् र अन्त्यमा घर छाडेर जान्छिन्।

भोलिपल्ट सिमिक्वाका निम्ति आमाले गिठ्ठा भ्याकुर खोजेर ल्याइदिन्छिन् तर छोरी घरमा हुँदिनन्। यही वेला च्याउ हराएको नभई घामले सुकेर थोरै भएको उनले थाहा पाउँछिन्। सिमिक्वा निर्दोष भएको थाहा पाएपछि पश्चातापले जल्छिन्। छोरी खोज्दै जंगल, भीर, पाखा र खोला किनार चहार्छिन्। यसै क्रममा खोलाले बगाएर आमाको निधन हुन्छ।

मृत्युपछि उनको आत्मा सिमिक्वा चरीको रूप लिएर छोरीलाई खोज्दै हिँड्छ। आज पनि सिमिक्वा चरी कराएमा अपशकुन हुने किरात लिम्बू समुदायमा विश्वास छ। नाटकमा ढुङ्गे युगको सेटिङमा आमाछोरीको प्रेम र वियोगको कथालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेका छन्‚ निर्देशकद्वय वनेमविक्रम फागो र चेतन आङथुपोले। तङसिङ र येबाको उपस्थिति गराएर पुराकथा र संस्कृतिको सम्बन्ध स्थापित गर्ने प्रयास गरेका छन्। नाटक लिम्बू भाषामा छ।

नाटकमा नयाँ कलाकार मीना नेम्बाङ र पासाङ ल्हामु शेर्पाको अभिनय तारिफ योग्य छ। यसका साथै वनेमविक्रम फागो, मनकुमार योङहाङ, शिखर लाम्गादे र सविरन लाम्गादेको सशक्त अभिनयले नाटकलाई जीवन्त बनाएको छ। लिम्बू समुदायमा प्रचलित हाम्लक्वा (कसैको मृत्यु हुँदा शोक व्यक्त गर्दै लय तानेर रुने) लाई पृष्ठभूमि संगीतका रूपमा प्रस्तुत गरिएको छ। जसले नाटकको दुःखान्तक परिवेशलाई जीवन्त बनाइराखेको छ।

नाटकको कथा संकलन शिवकुमार श्रेष्ठ र नाट्य रूपान्तरण सुमन लिङ्देनले गरेका हुन्। सिमिक्वाको भाषा अनुवाद डिल्ली मुसाहाङ अम्याङसाको र वेषभूषा राजकुमार आङदेम्बेको रहेको छ। सिमिक्वा असार ३० गतेसम्म प्रदर्शन हुने प्रस्तोता चुलाचुली रङ्गमञ्चले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.