९५ प्रतिशत पुस्तक पुगेको जनक शिक्षाको दाबी

|

काठमाडौं : नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिना बितिसक्यो। चालू शैक्षिक सत्रको पठनपाठन गत जेठ १ शुरु भएको थियो। तर सबै विद्यार्थीको हातमा भने अझै नयाँ पुस्तक पुगेको छैन।

शैक्षिक सत्र शुरु भइसके पनि हालसम्म पुस्तक पाउन नसकेपछि विद्यार्थीले सडक तताउन थालेका छन्। उदयपुर जिल्लाको सदरमुकामस्थित त्रियुगा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले समयमा पुस्तक नपाएको भन्दै गत सोमबार विरोध प्रदर्शन गरे।

उनीहरूले पाठ्यपुस्तक चाहियो भन्दै जुलुस निकालेर गाईघाट बजार परिक्रमा गरेका थिए। उनीहरूका अनुसार कक्षा-६ को नेपाली, सामाजिक र गणितबाहेक अन्य किताब अहिलेसम्म पुगेकाे छैन।

कक्षा ८ को गणित, विज्ञान, कम्प्युटर र नैतिक शिक्षाबाहेक अरू कुनै पनि किताब पुगेको छैन। यस्तै, नयाँ पाठ्यपुस्तक नपाएपछि बाहिर जिल्लामा मात्र नभई राजधानीकै विद्यार्थीसमेत सडक आन्दोलनमा उत्रिन थालेका छन्। 

गत सोमबार नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), परोपकार आदर्श माध्यमिक विद्यालय, शान्ति विद्या गृह लैनचौर र पद्मकन्या विद्यालयका विद्यार्थीले काठमाडौंमा विरोध प्रदर्शन गरे। तत्काल सरकार र जनक शिक्षा सामाग्री केन्द्रले विद्यालयमा पाठ्यपुस्तक सहज रुपमा उपलब्ध गराउन माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका थिए।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार बाहिरका जिल्लाहरूमा मात्र नभई काठमाडौं शहरकै सबै विद्यार्थीले अहिलेसम्म पुस्तक पाएका छैनन्। तर सरकारले यसलाई प्राथमिकतामा राखेको छैन।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अझै नयाँ पुस्तकसमेत छाप्न सकेको छैन। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले अझै ५ लाख थान पुस्तक छाप्न बाँकी रहेको जानकारी दिए। जनक शिक्षाका अनुसार चालू शैक्षिक सत्रका लागि १ करोड ९० लाख थानभन्दा बढी पुस्तक छाप्नुपर्ने थियो।

जनक शिक्षा कहिल्यै सुध्रिएन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तक छपाइमा ढिला भएपछि जेठ १५ गते जनक शिक्षामै अनुगमन गरेर २ साताभित्र बाँकी पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका थिए। त्यस वेला उनले भनेका थिए, ‘दुई सातामा पुस्तक सबै ठाउँमा पुर्‍याउनु, ढिला गर्न पाइँदैन।’

त्यस्तै, जेठ ११ गते प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिले छापिएका पाठ्यपुस्तक तुरुन्तै विद्यार्थीको हातहातमा पुर्‍याउन सरकार र जनक शिक्षालाई निर्देशन दिएको थियो तर केही कार्यान्वयन भएन।

जनक शिक्षाले पुस्तक छपाइमा ढिला गरेको भन्दै असार १७ गते केही राजनीतिक दलनिकट विद्यार्थी संगठनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रमुख अनिलकुमार झामाथि दुर्व्यवहारसमेत गरे। उनीहरूले झालाई कालोमोसोसमेत दलेका थिए।

तै पनि यस्ता आन्दोलन र निर्देशनले विगत वर्षदेखिको पुस्तक अभावको समस्या अहिलेसम्म अन्त्य हुन सकेको छैन। सरकारी लापरबाहीकै कारण यी समस्या रहँदै आएको अभिभावक महासंघका अध्यक्ष भण्डारी बताउँछन्। ‘यो समस्या अहिले मात्रै होइन वर्षौंदेखि समयमा विद्यार्थीले पुस्तक पाउँदैनन् तर पनि सरकारी संयन्त्र नै सुध्रिएन,’ उनले भने।

समयमै पुस्तक पुगेको दाबी

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले आफू मातहतबाट हुने काम र समन्वय गरिरहेको जानकारी दिए। उनले भने, ‘किन समयमा पुगेन र कहिलेसम्म पुग्छ भन्नेमा जनक शिक्षालाई सोध्नु होला, हाम्रो तर्फबाट गर्नुपर्ने काम गरिरहेका छौँ।’

विद्यार्थीहरू पुस्तककै लागि आन्दोलन गर्न बाध्य हुँदा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी आचार्य भने ९५ प्रतिशत छापेको पुस्तक सम्बन्धित ठाउँमा पुगेको दाबी गर्छन्।

‘अब बाँकी ५ लाख पुस्तक हप्ता दिनभित्रमा सक्छौँ। प्रज्ञा प्रतिष्ठानले पनि पुस्तक छापेर दिँदै छ, छापिसकेको पुस्तक तत्कालै वितरण गर्छौं, ९५ प्रतिशत पुस्तक पुगिसक्यो,’ उनले भने।

स्थानीय तह निर्वाचनक‍ा लागि मतपत्र छाप्नुपर्ने र कागज अभावले समयमा नयाँ पुस्तकको छपाइ नसकिएको उनको भनाइ छ। छापिसकेको पाठ्यपुस्तक तुरुन्तै जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत ९ ठाउँमा र प्रादेशिक कार्यालयमा पठाइ वितरण गरिरहेको उनले जानकारी दिए। 

 (यो पनि)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.