५० हजार रूपैयाँबाट थालेको कारोबार २ करोड पुग्यो

|

पाल्पा : उमेरले ५० वर्ष पुग्न थालिसके। तर निरोगी। निकै जाँगरिला। बोलाइमा सरलता। र‚ व्यवहार पनि उस्तै। बिहान सबेरैदेखि राति अबेरसम्म गोठालोमै व्यस्त। गोठमा भएका खोरभरि बाख्रा छन्। तिनै बाख्रासँगै दैनिकी बितिरहेको छ। उनी हुन् रिब्दीकोट गाउँपालिका–२ देउरालीस्थित कन्टिपोखराका शेषनारायण पाण्डे।

स्याङजाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा जन्मिएका उनी बुवाआमासँग पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बस्दै आएका थिए। ०४७ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। जति वेला यस क्षेत्रमा एसएलसी पास गर्ने उनी एक्ला थिए। क्याम्पस पढ्न सदरमुकाम तानसेन आउने सोच बनाए तर आर्थिक अभावले पढ्न पाएनन्। ०४८ सालमा रोजगारीका लागि भारतमा जान बाध्य भए।

‘एक हजार नहुँदा पढ्न पाइनँ’

त्यति वेला उनको परिवार चरम गरिबीमा थियो। एक हजार रूपैयाँ नहुँदा शेषनारायणको पढ्ने रहर अधुरै भयो। पढ्नलाई एक हजार ऋण खोज्दा कतै पाएनन्। रोजगारीको लागि दिल्ली जाने भाडा भने पाए। त्यही भाडा लिएर उनी आफन्तसँग दिल्लीतिर लागे।

त्यहाँ पुगेपछि २ हजार भारतीय रूपैयाँ (३ हजार २०० नेपाली रूपैयाँ) तलबमा काम गर्न थाले। धेरै वर्ष यही तलबमा उनी काम गरिरहन बाध्य भए। थोरै तलबमा दुःखको काम गर्नु परेको बाध्यता उनले सुनाए। इमानदार भएर काम गर्दै आएका उनले धेरै वर्षपछि सजिलो काम पाए।

दिल्लीमा भारतीय जनता पार्टीकी नेतृ सुष्मा स्वराजको कार्यालयमा काम गर्ने अवसर पाए। जहाँ उनले रिसेप्सनमा फोन उठाउने काम मात्र गर्नुपर्थ्यो। तलब १५ हजार भारू अर्थात् २४ हजार नेपाली रूपैयाँ पुगेको थियो।

घरमा १० जनाको परिवार। छोराछोरी हुर्किंदै गए। उमेर घर्किंदै गयो। यो तलबले परिवार पाल्न मात्र ठिक्क भयो। सहारा दिने कोही थिएन। १५ वर्ष दिल्लीमा बिताएका उनी फेरि उता नफर्किने गरी स्वदेश फर्किए।

छुट्टिँदा ७ लाख ऋण

घरमा आएपछि दाजुभाइसँग छुट्टिनु पर्‍यो। सबैले आ–आफ्नै तरिकाले दुःखसुख गरेर खाने भन्दै दाजुभाई छुट्टिने सल्लाह भयो। छुट्टिँदा ७ लाख रूपैयाँ ऋण शेषनारायणको भागमा परेको थियो।

आफ्नै बस्ने बाससमेत थिएन। छिमेकीको घरमा भाडा तिरेर बस्न थाले। जागिर छाडेर दिल्लीबाट घर फर्किएका उनलाई समस्याले घेर्न थाल्यो। परिवारसँगै घरमा बस्न पाएनन्। दुई छाक टार्ने अवस्था नभएपछि उनी भिनाजुको होटलमा काम गर्न भन्दै काठमाडौंतिर लागे।

२०६६ देखि २०७२ सालसम्म भिनाजुको होटलमा काम गरे। काम सबै गर्नु पर्थ्यो। ३० हजार रूपैयाँ तलब थियो। तलबले खानबाहेक ऋण तिर्न र छोराछोरी पढाउन नपुग्ने भयो। विगत सम्झिँदै उनले भने‚ ‘उहाँले दिएकाले मलाई पुगेन।’

घरव्यवहार र कारोबारले सम्हालिन नसकेका शेषनारायण ६ वर्षदेखि होटलमा गर्दै आएको जागिर पनि छाडेर घर फर्किए। घरमा आउँदा करिब एक हप्तासम्म पत्नीसँग बोलचाल नै भएन। खाइपाई आएको जागिर छाडेर आएको भन्दै पत्नी उनीसँग रिसाएकी थिइन्।

२०७३ सालको कुरा हो। त्यति वेला उनको घरमा ६ वटा बाख्रा थिए। अरू केही थपेर बाख्रा पाल्ने उनले योजना बनाए। तर छिमेकीले बाख्रा पालेर यो जोगी हुने भयो भन्दै कुरा काट्न थाले। जसोतसो ऋणपान गरेर ५० हजार रूपैयाँ लगानीमा सामान्य खोर बनाए र बाख्रा थपे। बाख्रा ३८ वटा बनाए। तर खोर बनाउने काममा भने आफैँ खटे। पाण्डे बाख्रा फर्म दर्ता गरेर व्यवसायको थालनी गरे।

व्यवसाय थालेको केही वर्ष घाटा बेहोर्नु पर्‍यो। २०७६ सालदेखि भने राम्रो आम्दानी गर्न थाले। जति वेला उनी सबै खर्च कटाएर ५ लाखभन्दा बढी नाफा कमाउन सफल भए।

अहिले पाण्डे बाख्रा फार्म एण्ड एग्रो प्रालि दर्ता गरेका छन्। शेषनारायणको खोरमा ३०० भन्दा बढी बाख्रा छन्। ६० वटा पाठा छन्। १५० वटा ब्याउने बाख्रा छन्। बाँकी हुर्किदै गरेका छन्।

बाख्रा, खोर र सम्पर्क कार्यालयसहितको दानापानी राख्ने घर निर्माण सबै गरी हाल लगानी १ करोड ८० लाख रूपैयाँ पुगेको छ। खरी, जमुनापारी, बोयरक्रस जातका बाख्रा पाल्दै आएका छन्।

घरमा बाख्राको स्याहार गर्न एक जना कामदार मासिक तलब दिएर राखेका छन्। घाँस बोक्न एउटा फोर्स गाडी किनेका छन्। गाडी चलाउन चालक राखेका छन्। आफू पत्नीसहित बाख्राको स्याहारमै खटिन्छन्।

यस वर्षको असार १५ गतेसम्म ५० लाख रूपैयाँभन्दा बढीका खसी, बोका बिक्री गरेको शेषनारायणले बताए। उनका अनुसार एक वर्षमा १५ लाख रूपैयाँ शुद्ध नाफा भएको छ। बोयरक्रस जातको बोका ८५ हजार रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। बिउ बोकाको लागि यो जातको पाठा लैजाने गरेका छन्।

पाल्पासहित बागलुङ, स्याङ्जा‚ गुल्मी, पर्वतबाट बढी ग्राहक आउने गर्छन्। खरिद गर्न ग्राहक खोरमै आउने गरेका उनले सुनाए।

‘छोराछोरी पढाउन सफल भएँ’

‘आफूले चाहेर पनि पढ्न पाइनँ। छोराछोरीलाई पढाउने ठूलो इच्छा थियो। अर्काको भाँडा माझेर मेरो युवा अवस्था बित्यो। बस्ने बास बनाउन सकिनँ। परिवार पाल्न समेत धौधौ भयो। बाख्रा पालेपछि छोराछोरी पढाउन सफल भएँ‚’ हर्षको आँशु आँखाभरि पार्दै उनले भने‚ ‘एउटा छोराले मास्टर पास गरेको छ। एउटी छोरी जर्मनी पुगेकी छन्‚ अर्की काठमाडौंमा कानुन पढ्दै छन्।’

बाख्रापालन गरेरै घर बनाएको उनले बताए। ‘अहिले क्रेजा कम्पनीको सानो कार किनेको छु‚’ आँगनमा राखेको कार देखाउँदै उनले भने‚ ‘गाडी चढेर हिँड्ने सानैदेखिको रहर थियो। अहिले पूरा भएको छ।’

मेहनत गर्न सके जुनसुकै व्यवसायबाट पनि नेपालमै सफल भइने शेषनारायणको अनुभव छ। २/४ लाख कमाउन विदेश जानुपर्ने अवस्था नरहेको उनले बताए।

कतैबाट सहयोग नपाएको गुनासो

अहिलेसम्म कुनै पनि सरकारी तथा निजी संघसंस्थाबाट केही सहयोग नपाएको उनी बताउँछन्। ‘अप्ठ्यारो पर्दा बैंकबाट ऋण काढेर व्यवसाय चलाएँ तर सहयोग पाइनँ‚’ उनले भने‚ ‘सहुलियत ब्याजमा कृषि विकास बैंकबाट ऋण लिएर व्यवसाय गर्दा आफूलाई राहत भयो।’

अरूलाई रोजगारी दिएर व्यवसाय गरेका आफूजस्ता किसानलाई सरकारले सहयोग गरेर प्रोत्साहित गर्नुपर्ने उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.