|

काठमाडौंः जति वेला फिल्म 'सम्झना बिर्सना'को कलाकार छनोटको काम भइरहेको थियो, त्यतिवेला पूजा शर्मा र आकाश श्रेष्ठ निकै मन पराइएको जोडी थियो। दुवैको सम्बन्ध पनि राम्रो थियो।

फिल्मका मुख्य पात्रमा फिट हुने र दुवैको संयुक्त फ्यान फलोइङ्स पनि राम्रो भएका कारण फिल्मको व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षामा दुवै जनालाई मुख्य पात्रमा साइन गराइयो।

तर, फिल्म बनेर प्रदर्शनमा आउँदासम्म आकाश र पूजाको सम्बन्धले अर्कै रुप लिएको छ। जसको प्रभाव फिल्ममा पनि पर्न गएको छ।

फिल्म प्रमोशनको क्रममा पूजा आक्रोशित भएको भिडियो यतिवेला भाइरल छ। उक्त भिडियोमा पूजाले आक्रोशित हुँदै दर्शकलाई फिल्म कसको हो? भनेर सोधेकी छन्। दर्शकले आकाशको नाममा बढी हुटिङ्ग गरेपछि पूजा आक्रोशित भएको उक्त भिडियोबाट बुझिएको छ।

कुनै समय पूआ जोडीको रुपमा चिनिने पूजा र आकाशले धेरै काम सँगै गरेका छन्। 'राम कहानी', 'पोइ पर्‍याे काले' जस्ता फिल्म र धेरै म्युजिक भिडियोमा उनीहरू सँगै देखिएका छन्। अगाडि नै छायांकन भएको 'सम्हालिन्छ कहिले मन' प्रदर्शनको तयारीमा छ। पहिले दुवै जना प्रेममा रहेको कुरा हल्ला चलिरहँदा खुलेर प्रेम स्वीकार्न गाह्रो मानिरहेका थिए।

अहिले भने पहिले प्रेममा रहेको कुरा दुवैले स्वीकारिरहेका छन्। दुवैले अहिले पनि आफूहरू मिल्ने साथी रहेको र सम्बन्धमा कुनै तीतोपन नआएको कुरा बारम्बार बताउँदै आए पनि उनीहरूको व्यवहारमा भने त्यो देखिएको छैन।

केही हप्ता अघि 'सम्झना बिर्सना'को बाँकी रहेको गीत छायांकनका क्रममा दुईजना बीचको दूरी बढेका कारण काममा अप्ठ्यारो भएको निर्माण पक्षले बताएको थियो। जुन कुरा फिल्मको प्रचार प्रसारको क्रममा पनि देखिएको छ।

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म प्रमोशनको क्रममा शनिबार अष्टनारायण हल भिजिटमा गएका आकाश र पूजा छुट्टाछुट्टै गाडीमा पुगे। जुन कुरा सामान्य रुपमा लिन सकिन्छ। तर, फिल्म हेर्न पुगेका दर्शक पनि आकाश र पूजा गरी दुई गुटमा बाँडिएको देखियो।

जसले प्रतिस्पर्धाको शैलीमा आकाश र पूजाको नाममा छुट्टाछुट्टै हुटिङ गरिरहेका थिए।

हलबाट पूजा कतिवेला निस्किइन् आकाशले थाहा पाएनन्। तैपनि जरुरी कामले छिटो निस्केका होला भनेर आफैँले ढाकछोप गरे। तर, हलबाट मात्रै नभएर फिल्म प्रदर्शनमा आएको तीन दिनमै पूजा अष्ट्रेलियाको लागि उडिन्। जसले गर्दा निर्माण टोलीसमेत असन्तुष्ट भएको छ।

पूजाले फिल्मको प्रमोशनमा पनि सहभागी हुने सम्झौतासहित २० लाख पारिश्रमिक लिएको कुरा खुलेको छ। उनले साेही सम्झौता अनुसार प्रमोशनमा सहभागी नभएको निर्माण टोलीको भनाइ छ।

फिल्मको प्रमोशनमा लाग्नुपर्ने समयमा पूजा विभिन्न विवादमा तानिएको र त्यसको असर फिल्ममा पनि पर्न गएको निर्माण पक्षको बुझाइ छ।

पूजा आफ्नो फिल्म 'म यस्तो गीत गाउँछु २'को शोका लागि अष्ट्रेलिया उडेकी हुन्। समीक्षकले कमजोर मानेको फिल्म 'म यस्तो गीत गाउँछु २' व्यवसायिक रुपमा भने सफल भएको थियो। आफ्नो लागि आफू खेलेका सबै फिल्म समान रहेको बताउँदै आएकी पूजालाई 'सम्झना बिर्सना'पछि आफ्नो लगानी भएको र अभिनय मात्रै भएको फिल्ममा विभेद गरेको आरोप पनि लागेको छ। 

'सम्झना बिर्सना' निमेश प्रधानको लेखन तथा निर्देशनको रुपमा डेब्यु फिल्म हो। रेबिका प्रधान र आदित्य प्रधानको निर्माण रहेको फिल्ममा आकाश र पूजा बाहेक सुनील थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.