‘यातना दिने शिक्षकलाई बर्खास्त गरौँ’

|

काठमाडौं : सामाजिक सञ्जालमा यतिखेर एक शिक्षकले विद्यार्थीहरूलाई हातखुट्टा टेकाएर लहरै भुइँमा राखिएको र पिठ्युँमा छडीजस्तो देखिने वस्तुले पिटेको एउटा भिडियो भाइरल छ। भिडियोमा शिक्षक स्केलले पिट्दै भन्छन्, ‘उठ, उठ।’ एकजना विद्यार्थीले पीडा खप्न नसकेपछि भने, ‘ऐया!’  

विद्यार्थीलाई दिएको उक्त यातनाको चर्को आलोचना र विरोध भएको छ। यसरी विद्यार्थीलाई यातना दिएको भिडियो ललितपुर जिल्लाको कुमारीपाटीस्थित युनाइटेड एकेडेमीको भएको उसले स्वीकारेको छ।

तर यो भिडियो अहिलेको नभएको एकेडेमीको दाबी छ। ‘यो भिडियो अहिलेको होइन, १०/१२ वर्ष पहिलेको हो। अहिले कसले सामाजिक सञ्जालमा लिक गरिदिएको हो,’ एकेडेमीका कर्मचारीले थाहाखबरसँग भने। यस विषयमा बुझ्न एकेडेमीका प्रधानाध्यापकको नम्बर माग्दा उनले दिन मानेनन्। 

त्यस्तै, ललितपुरको ठेचोस्थित लिटिल स्टार इंग्लिस स्कुलमा प्रिन्सिपल चक्र महर्जनले कक्षा ५ मा पढ्ने एक बालकलाई निर्घात कुटेका छन्। फलामको स्केलले पिटेको बताइएको छ। ती विद्यार्थी बालकको ढाडमा स्केलको छाप छ।

केही ठाउँमा स्केलको धारले काटेको तस्बिरमा देख्न सकिन्छ। उक्त घटनापछि बालकका परिवारले महानगरीय प्रहरी वृत्त चापागाउँमा निवेदन दिएका छन्। ‘३ दिन अगाडि आवेदन परेको छ, तर जाहेरीमा दरखास्त छैन। निवेदनमा विपक्षी राखिएको छैन, हामीले पीडित परिवारलाई सम्पर्क गरी बोलाएका छौँ, तर अहिलेसम्म आएका छैनन्,’ प्रहरी वृत्तका एक प्रहरीले भने। 

शिक्षकले विद्यार्थीलाई यसरी शारिरिक र मानसिक यातना दिएको घटना नौला होइनन्। यसअघि पनि विद्यार्थीलाई निर्घात कुट्नेदेखि यौन हिंसासमेत भएकाे घटना घटेका छन्।

यौन दुर्व्यवहारको आरोपमा शिक्षकविरुद्ध जाहेरीसमेत परेको छ। तर यस्ता घटना जति नै बाहिर सार्वजनिक भएपनि अझै शिक्षकहरूमा चेत पुगेको छैन्। २०७८ फागुनमा म्याग्दीको बेनीस्थित प्रकाश माविका लेखा विषय पढाउने शिक्षक नवीन घिमिरेले कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेललाई कुटपिट गरेका थिए।

पीडित पौडेलका अनुसार बिनाकारण शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले नीलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेका थिए। बोल्न र सास फेर्न गाह्रो भएपछि उनलाई शनिबार साँझ बेनी अस्पतालमा लगेर एक्सरे र स्वास्थ्य परीक्षण गरियो। परीक्षणमा बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेको थियो।

किन पटक–पटक घटना दोहोरिन्छ ?

नेपालको संविधानको धारा ३९ मा बालबालिकासम्बन्धी मौलिक हकको व्यवस्था छ। यस धाराको उपधारा (३) मा प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुने व्यवस्था छ।

त्यस्तै, उपधारा (७) मा उल्लेख छ, ‘कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन।’

उपधारा (४), (५), (६) र (७) विपरीतका कार्य कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ।

तर संविधानमा उल्लेखित व्यवस्थाअनुसार बालबालिकाहरूले न स्वतन्त्र रूपमा बाँच्न पाएका छन् न अध्ययन गर्न नै । शिक्षाविद् प्राडा विद्यानाथ कोइराला तनाव र रिस व्यवस्थापन गर्ने क्षमता शिक्षकमा नहुँदा विद्यार्थीहरूले चरम यातना भोग्नुपरेको बताउँछन्।

अधिकांश ठाउँका विद्यालयमा पुग्दा शिक्षकहरूले आफ्नो रिस नियन्त्रण गर्न नसकेको पाएको उनी बताउँछन्। उनले भने, ‘शिक्षकहरूमा माया, स्नेह भन्ने भाव पनि छैन, त्यही भएर यस्ता घटना दोहोरिइरहेका छन्।’

उनी यसरी विद्यार्थीहरूलाई यातना दिँदा विद्यालयसमेत छाड्ने गरेको बताउँछन्। ‘विद्यार्थीहरूलाई मर्ने गरि पिट्दा उनीहरूको मानसिकतामा समस्या पर्छ, पढ्नेतर्फ ध्यान केन्द्रित गर्न सक्दैनन्, त्यसपछि उनीहरू विद्यालय जान मान्दैनन्,’ उनले भने। सबै शिक्षक सभ्य, संयमित र मर्यादित बन्नुपर्ने उनको सुझाव छ।

‘यातना दिने शिक्षकलाई बर्खास्त गरौँ’

कानुनले विद्यार्थीहरूलाई यातना दिन बन्देज गरेकाले त्यसविपरीत काम गर्ने शिक्षकहरूलाई सीधै पेशाबाट बर्खास्त गर्नेलगायत कारबाही गर्नुपर्ने अभिभावकहरूकाे माग छ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘अभिभावकहरू सकीनसकी कमाएर छोराछोरी पढाउन विद्यालय पठाउँछौँ, तर उनीहरू विद्यालयमै सुरक्षित छैनन्। मानसिक तथा शारीरिक यातना दिने शिक्षकलाई सीधै बर्खास्त गर्नुपर्छ।’

उनले अधिकांश यस्ता घटना विद्यालयभित्रै गुपचुप रहेको पनि बताए। पछिल्लो समय मात्र घटना बाहिरिन थालेको उनको भनाइ छ।

यसो भन्छ शिक्षक महासंघ

नेपाल शिक्षक महासंघका प्रमुख सल्लाहकार बाबुराम थापाका अनुसार यहाँ साढे ३ लाख शिक्षक छन्। जसमध्ये शून्य दशमलव १२ प्रतिशत शिक्षकले विद्यार्थीलाई यातना दिने गरेका छन्।  

‘सबै शिक्षकहरू गलत छन् भन्न मिल्दैन। कोही यस्ता गल्ति गर्दैनन्, कोही भने गर्छन्‚ यो गलत हो। कोही शिक्षकले घाइते बनाउने गरि कुटपिट गर्नु सरासर गलत हो,’ उनले भने।

उनले पछिल्लो समय विद्यार्थीहरूले उच्छृंखल गतिविधि गर्ने गरेकाले पनि शिक्षकहरू आक्रोशित हुने गरेको बताए। ‘अहिलेका विद्यार्थीहरू अधिकांश बिग्रिँदै गए, शिक्षकलाई टेर्दैनन्। दुर्व्यसन र कुलतमा लागेका छन्, चुरोट खाएर शिक्षकतिरै फालिदिन्छन्, शिक्षकमाथि जाइ लाग्छन्, यस्तो हुँदा सास्ती दिएको पाइएको छ,’ उनले भने।

तर यसरी विद्यार्थी बिग्रिए भन्दैमा निलडाम हुने गरि कुट्न नहुने उनले बताए। शिक्षकहरूमा बढी पढाउने चापले पनि यस्ता घटना घटेको उनले बताए। उनका अनुसार झण्डै ५२ हजार शिक्षक दरबन्दी खाली छ।

‘समयमा शिक्षक पदपूर्ति नहुँदा एकजना शिक्षकले ५/६ घण्टी हेर्नुपर्छ,’ उनले भने, ‘यस्तो भएपछि शिक्षक थकित हुन्छन्, यसको रिस विद्यार्थीमाथि देखाउँछन्।’ 
उनले यो मुद्दालाई गम्भीर रुपमा लिएकाे र महासंघले चेतना दिन अभिमुखीकरण कार्यक्रम लिएर शिक्षकमाझ पुग्ने बताए।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.