|

काठमाडौं : गत असार १३ गते दिउँसो २ : ३० बजे ललितपुरको महालक्ष्मी महानगरपालिका ८ लुभु का ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ हतियारसहित पक्राउ परे। तर, अनुसन्धानका क्रममा उनलाई फसाइएको पाइएपछि हाजिर जमानीमा छाेडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीले उनी चढ्ने गरेको प्रदेश ३–०२–०१२ प ६२४१ नं. को स्कुटरको डिकी बाट २ राउण्ड गोली सहितको पेस्तोल बरामद गरेको थियो। घटनाको सम्बन्धमा अनुसन्धान गर्दा श्यामकृष्णकै छिमेकी दुईजना समातिएका छन्।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका ८ लुभुका ४३ वर्षीय अनिल श्रेष्ठ र ५० वर्षका अख्खनदास श्रेष्ठ रहेका ललितपुरका प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले जानकारी दिए।

पक्राउ परेका अनिल श्रेष्ठ सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका वर्तमान अध्यक्ष हुन् भने अख्खनदास श्रेष्ठ निवर्तमान उपाध्यक्ष रहेका प्रहरी उपरीक्षक शाहले बताए। षडयन्त्रमा परेका श्यामकृष्ण पनि सोही संस्थाका व्यवस्थापक हुन्।​

बदला लिन फसाइएको थियो श्यामकृष्णलाई

अभियुक्त अनिल श्रेष्ठले २०७८ सालमा सर्लाही घर भई लुभुमा बस्दै आएका शिवजी महतोकी श्रीमती सरस्वती खत्रीलाई भगाई दोस्रो विवाह गरे। अनिल र सरस्वतीको विरुद्धमा २०७८ चैत १७ गते जिल्ला प्रहरी परिसर ललितपुरबाट बहुविवाहको मुद्दा दर्ता भएको थियो।

शिवजी र श्यामकृष्ण साथी भएकाले सो मुद्दा सुनुवाइको क्रममा अदालतमा समेत श्यामकृष्णले अनिलकाे विपक्षमा साक्षी बकपत्र गरेका थिए। यसैलाई अनिलले भित्री रुपमा दुस्मनी लिएको पाइएको प्रहरीले जनाएको छ।

अनिल र श्यामकृष्णबीच व्यक्तिगत मात्रै होइन पेशागत रुपमा समेत रिसिईबी भएको खुलेको छ। पक्राउ परेका अनिलले सहकारी संस्थाबाट आफ्नो र परिवारका नाममा समेत गरी २ करोड ९५ लाख कर्जा निकालेका थिए। तर त्यसको साँवा त परै जाओस् ब्याजसमेत पनि तिरेनन् अनिलले।

कर्जा अनियमित भएपछि सहकारीको व्यवस्थापकको हैसियतमा श्यामकृष्णले अनिलबाट ऋण असुल गर्न पटक पटक ताकेता गरेका थिए।

सोही कारण पनि सहकारीका अध्यक्ष अनिल र व्यवस्थापक श्यामकृष्णबीच थप मनमुटाव बढेको थियो। अनुसन्धानको क्रममा श्यामकृष्णले चढ्ने प्रदेश ३–०२–०१२ प ६२४१ नं. को स्कुटर सहकारीको सम्पत्ति भएको खुलेको थियो।

विगत १ व​र्षदेखि श्यामकृष्णले चढ्दै आएको भएतापनि उक्त स्कुटरको अर्को साँचो पूर्व उपाध्यक्ष अख्खन दास श्रेष्ठसँग भएको खुलेपछि अख्खनपनि समातिएका प्रहरीले जनाएको छ।

सोधपुछकै क्रममा अख्खनले करिब  २५ दिन अगाडि साँचो अनिललाई दिइसकेको बताएका थिए। अनिलसँग सो स्कुटरको दोस्रो साँचो भएकोले जुनसुकै बेला स्कुटरको डिकी खोली हतियार राख्ने अवस्था रहेकोले प्रहरीको शंकाको घेरामा अनिल परे।

अनिल र श्यामकृष्णबीच पहिलेदेखिको व्यक्तिगत तथा पेशागत मनमुटाब र रिसिईबीका कारणपनि श्यामकृष्णलाई फसाउन अनिलले षड्यन्त्र रचेको पत्ता लगाउन समय लागेन।

विगतकाे रिसिईबी तथा कर्जा असुलीमा ताकेता गर्दा आफूलाई परेको असरसमेतको कारण श्यामकृष्णलाई फसाउन अभियुक्त अनिलले आपराधिक षडयन्त्र गरेको देखिन आएकोले अनिल र अख्खनलाई नियन्त्रणमा लिएर श्याम कृष्णलाई हाजिर जमानीमा छाेडिएको प्रहरीले जनाएको छ।​

हतियार आफैँले राखेर सुराकी लगाएका थिए अनिलले

२०७९ जेठ २५ गते अनिलले जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत एक प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठ चढ्ने स्कुटरमा हतियार भएको सूचना दिएका थिए।

उनले स्कुटरमा पेस्तोल र गोली छ भनेर सूचना दिएको प्रहरी उपरीक्षक शाहले बताए। सूचनाकै आधारमा स्कुटरको खोजी भएपनि प्रहरीले न श्यामकृष्ण भेटे न स्कुटर नै।

त्यही दिन श्यामकृष्ण पक्राउ नपरेपछि अनिल बिनाकाम नै बत्तिएर सहकारी पुगे। सहकारीमा पुग्नुपर्ने कुनै कारण नदेखिएपनि हुत्तिएर टुप्लुक्क सहकारी कार्यालयको पार्किङ एरियामा पुगेका उनले श्यामकृष्ण चढ्ने स्कुटरबाट दिउँसो ३ : ३८ बजे खुसुक्क हतियार निकाले।

यो सबै गतिविधि सहकारीमा जडित सिसिटीभीमा कैद भएको उनले हेक्का समेत राख्न भ्याएनन्। प्रहरीले अनुसन्धानको क्रममा सिसिटिभी फुटेजबाटै उनको हर्कत पत्ता लगाएको हो।

असार १३ गतेपनि उनै अनिलले श्यामकृष्ण सहकारीको काममा लगनखेलस्थित मालपोत कार्यालयमा जान स्कुटरमा निस्किएपछि प्रहरीलाई खबर दिएका थिए।

पहिलो पटकको षड्यन्त्र असफल भएपछि उक्त दिन भने अनिल आफैँले श्यामकृष्णको पीछा गरी प्रहरीलाई २५ पटक फोन गरेर अवैध हतियार बोकेका श्यामकृष्णको लोकेशन दिएका थिए।

अनिलले गरेको दोस्रो पटकको षड्यन्त्रले अन्ततः काम गर्‍यो र असार १३ गते श्यामकृष्णलाई प्रहरीले समात्यो।

करिब तीन साताको अनुसन्धानपछि मुख्य अपराधीलाई समात्न प्रहरी सफल भएको छ।

पक्राउ परेका दुई जनामाथि हातहतियार तथा खरखजाना अपराधिक षडयन्त्र मुद्दामा जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको ललितपुरका प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.