बाँदर खेल्ने भीरको उपयोग

|

पर्वत : जिल्लाबाट देशका अन्य भागमा गएको मान्छेले आफ्नो घर पर्वत बताउँदा ‘पर्वत भन्ने कहाँ हो?’, ‘नाम नै पर्वत भएपछि त कति धेरै पहाड होलान्!’, ‘पर्वत भन्ने त बागलुङ जिल्लामा होइन र?’ यस्तै यस्तै प्रश्नहरू सोध्ने गरेको पाइन्थ्यो।  

तर अहिले साहसिक खेल र नेपालका लामा र अग्ला झोलुङ्गे पुलहरूका कारण पर्वतलाई सहजै चिनिन्छ। कुनै वेला पर्वत एक जिल्ला हो भन्ने थाहै नपाएकाहरूलाई पनि अहिले पर्वतका साहसिक खेलहरूको अवलोकन गर्न मन लाग्छ।

पवित्र कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो स्वीङ र विश्वको दोस्रो अग्लो बन्जी जम्पले पर्वतको पहिचानमा इँटा थपेका छन्। ‘द क्लिफ’ कम्पनीले पर्वतको कुश्मा नगरपालिका–५ र बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थान जोड्ने गरी कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा ५२० मिटर लम्बाइको बन्जी पुल निर्माण गरेको छ।

कालीगण्डकी नदीको किनारमा रहेका बागलुङको बलेवा र पर्वतको कुश्मामा बनेको बञ्जी निर्माण नहुने वेलासम्म जति वेलै बाँदरको रजगज चल्थ्यो। भौतिक संरचनाहरू पनि नरहेका कारण मानिसको आवतजावत पनि हुने थिएन।

तर अहिले त्यही ठाउँलाई पोखराको ‘लेक साइड’सँग तुलना गर्दै ‘बन्जी साइड’ को नामले बोलाउने गर्छन्।

यस्ता छन् साहसिक खेल

कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा बन्जी प्वाइन्ट रहेको छ। त्योभन्दा १२ मिटर माथि अर्थात् कालीगण्डकी नदीको सतहबाट २५५ मिटर उचाइमा ‘काटापल्ट मोडल’ को झुला निर्माण गरिएको छ। सामान्य ‘स्विङ’लाई आफ्नो गति शुरु गर्न ‘म्यानुअल’ रूपमा अन्य व्यक्तिको धक्का चाहिन्छ।

‘द क्लिफ’ को ‘स्विङ’ मसिनबाट सञ्चालनमा आउँछ। यो स्विङ विश्वकै अग्लो रहेको ‘द क्लिफ’ का एकजना सञ्चालक राजु कार्की बताउँछन्। दुईजनाले सँगै रहेर एकपटकमा ‘स्विङ’ गर्न मिल्ने ‘तान्डीम स्विङ’ पनि पर्यटकहरूको रोजाइमा छ।

२२८ मिटरकै उचाइबाट हुने बन्जी जम्पमा धेरैको आकर्षण रहेको छ। ‘रि बाउन्स’ मजा लिन सकिने र ‘फ्री फल’ राम्रो रहेका कारण दैनिक करिब ६५ जनासम्मले ‘बन्जी जम्प’ गरेका छन्।

६०० मिटर लम्बाइको विश्वकै लामो ‘स्काइ साइक्लिङ’ पनि ‘द क्लिफ’ मा रहेको छ। ‘बन्जी’ र ‘स्विङ’ मा प्राकृतिक गतिमा खस्नुपर्ने हुन्छ तर ‘स्काई साइक्लिङ’लाई कति गतिमा लैजाने भन्ने आफैँमा निर्भर पर्छ। कालीगण्डकी नदीबाट २५५ मिटरको उचाइमा स्टिलका तारहरू राखेर साइकल कुदाउन सकिन्छ।

कम्पनीले पछिल्लो ‘स्काई ग्लाइडिङ’ नामको साहसिक खेल थप गरेको छ। जसमा स्टिलको तारमा एउटा ‘टावर’ बाट अर्को ‘टावर’ मा ११० मिटर लम्बाइमा बहनुपर्छ। समुद्रमा पानीको छालमा ‘ग्लाइडिङ’ गरेको जस्तै तारमा ‘ग्लाइडिङ’ गर्ने र यो हावामा गरिने भएकाले यसको नाम ‘स्काई ग्लाइडिङ’ राखिएको हो।

यी बाहेक ‘स्काई क्याफे’, ‘क्रेजी ब्रिज’, ‘विसिङ ह्यान्ड’, ‘स्काई चेयर’, गुलेली पिङ, स्काई चेयर, पिङ, ‘हर्स राइडिङ’ पनि ‘द क्लिफ’ का साहसिक खेलहरू हुन्। अहिले पर्वत सदरमुकाम कुश्मा बजार र कालीगण्डकीलाई देख्न सकिने गरी ‘भ्यु टावर’ र साहसिक खेलको रूपमा ‘वाल क्लाइम्बिङ’ निर्माणाधीन अवस्थामा छन्।

‘पारिवारिक भ्रमणमा आउने तथा साहसिक खेल खेल्न नसक्नेहरूलाई पार्क, डोको सडक, एन्जल विङ्स, लभ साइन लगायतका रमाइला दृश्य रहेका छन्’, कार्की भन्छन्, ‘खेलका संरचनाहरू आफ्नो तरिकाले मात्रै बनाउनेभन्दा पनि कालीगण्डकी नदी तिरको भीरलाई प्रकृतिले जस्तो बनाएको छ‚ त्यसलाई उपयोग गरिरहेका छौँ। सामान्यदेखि माथिल्लो स्तरसम्मका साहसिक खेलहरू रहेकाले व्यक्तिले आफ्नो साहसको स्तर अनुसार खेल खेल्न सकिन्छ।’

 प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी

‘बन्जी जम्प’ शुरु गरेपछि कम्पनीमा प्रत्यक्ष काम गरेर करिब एक सयजना र अप्रत्यक्ष रूपमा करिब चार सयजनाले रोजगारी पाइरहेका छन्। कम्पनीभित्रका विभिन्न खेल र रिसोर्टमा गरेर करिब एक सयजनाले रोजगारी पाएका छन्। उनीहरूको तलब, खुवाइ र बसाइमा मात्रै मासिक ३० लाख रुपैयाँ खर्च हुने गरेको अर्का सञ्चालक युवराज जोशी बताउँछन्।

‘बन्जी जम्प’ निर्माण नहुने वेलासम्म भीरको जग्गा सुनसान हुने गरेको थियो। आसपासको जग्गाको मूल्य पनि खासै थिएन भने मान्छेहरूको आवतजावत पनि खासै थिएन। तर ‘बन्जी’ सञ्चालनमा आएपछि त्यसको आसपासमा ४० वटा रेस्टुराँ बनेका र तीनमा करिब चार सयभन्दा बढीले रोजगारी पाएको जोशीको भनाइ छ। आफूहरूले सोचेको भन्दा पनि धेरै प्रभावकारी र फाइदा देखिएकाले आफूहरूलाई सन्तुष्टि मिलेको उनको भनाइ छ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानका बासिन्दा बसाइ सरेर जाने क्रम चलिरहेकोमा अहिले बसाइ सरेर गएकाहरू पनि फर्किने क्रम चलेको छ। बलेवा क्षेत्रका जग्गा बाँझिएर रहेकोमा अहिले जग्गाले राम्रो भाउ पनि पाएको छ। बसाइँसराइँका कारण उठ्नै लागेको बस्ती पनि जागेको देख्दा खुसी लागेको सञ्चालकहरू बताउँछन्।

बाँदर खेल्ने भीरमा ५० करोड खर्च

सुनसान र एकान्त कालीगण्डकीको भीरमा आफूहरूले लगानी गर्ने वेला कतिपयले लगानी जोखिममा पर्न सक्ने बताउने गरेको भए पनि अहिले व्यापार राम्रो भइरहेको कम्पनी बताउँछ। पर्यटकहरूको चहलपहल खासै नभएको ठाउँमा करोडौँको लगानी गर्दा जोखिम हुन सक्ने भए पनि अब भने पर्वत पर्यटकीय गन्तव्यका रूपमा परिचित भइसकेको सञ्चालक कार्की बताउँछन्।

‘कुश्मामा यसैका लागि जाने भन्ने केही पनि थिएन। यही बाटो हुँदै मुस्ताङ र बागलुङ कालिका आवतजावत भए पनि यहाँ कोही किन पस्थे? किन बस्थे?’, उनी भन्छन्, ‘यस्तो भीरमा यति धेरै लगानी गर्नु जोखिमपूर्ण भएको शुरुमा दिनमा कमेन्टहरू आउने गर्थे, लगानीका हिसाबले यो निकै ठूलो हो। यहाँ पर्यटकहरूका लागि विशेष गन्तव्य नभएका कारण पर्यटक तान्नु चुनौतीको विषय थियो।’

अहिलेसम्मको लगानी करिब ५० करोड पुग्न लागेको र दुई वर्षको सञ्चालनको अवधिमा राम्रो गर्न सकिन्छ भन्ने देखिएको कार्कीको भनाइ छ। लगानीकर्ताहरूले नाफा लिनेभन्दा पनि कमाएको पैसाले नयाँ–नयाँ कुरा थप्नेमा आफूहरू लागेको सञ्चालकको भनाइ छ।

 सोचेभन्दा राम्रो पर्यटकीय आगमन

आफूहरूले सोचेभन्दा राम्रो संख्यामा पर्यटकहरू आउनाले साहसिक खेलका नयाँ संरचना थप गर्न हौसला मिलेको उनीहरूको भनाइ छ। शुरुवाती अवस्थामा आन्तरिक पर्यटकहरूले मात्रै धानेको भए पनि अहिले करिब १० प्रतिशत जति बाह्य पर्यटकहरू आउने गरेका छन्।

लगानीकर्ता नेत्र पराजुलीका अनुसार भारतीय, ब‌ंगलादेशी, युरोपियन पर्यटकहरूको आवागमन राम्रो भइरहेको छ भने यही वर्षमा यसलाई ४० प्रतिशत बनाउने लक्ष्य राखिएको छ। एकजना ‘जम्पर’ लाई करिब १० मिनेट समय लाग्ने भएका कारण एकै दिनमा ६० जनासम्मलाई जम्प गराउन सकिने र त्यो गराइएको पनि पराजुली बताउँछन्।

अहिले बर्खाको वेला ‘सिजन’ नभएकाले दैनिक १५-२० जना हुने गरेको भए पनि ‘सिजन’ मा पालो नपाएर फर्किने अवस्था रहेको उनको भनाइ छ।‘बन्जी’को पुल प्रयोग गरेर बलेवा–कुश्मा आवतजावत गर्नेहरू सहित एक दिनमा हजारभन्दा बढीले पुलमा यात्रा गरेको तथ्यांक कम्पनीमा छ।

शनिवार वा अन्य कुनै सार्वजनिक बिदाको दिनमा राम्रो हुने गरेको ती बिदाको दिनमा स्थानीय पर्यटकहरू बढी आउने गरेका छन्। मुस्ताङ आवतजावत गर्ने पर्यटकहरू ‘बन्जी’ मा आउने गरेको उनले सुनाए।

‘फरक के भएको छ भने मुस्ताङ जाँदा बाटोमा परेर होइन कि द क्लिफकै लागि भनेर गन्तव्यका रूपमा नै आउनुभएका पर्यटकको क्रम बढिरहेको छ’, पराजुली भन्छन्, ‘क्लिफकै लागि भनेर आउनेहरू पनि हुनुहुन्छ, हिँड्दा बाटोमा परेर पस्नेहरू पनि हुनुहुन्छ। त्यहाँ एउटा न एउटा खेल खेल्नपर्छ भन्नेदेखि खेल्न डर लाग्छ तर अवलोकन गरेर त फर्किनुपर्छ भन्नेहरू पनि आउनुहुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.