‘कैलालीको गेटामा मेडिकल कलेज नखोले जनताप्रति गद्दारी हुन्छ’

|
फाइल फोटो

काठमाडौं : प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैँसी पालेझैँ पाल्नुपरेको बताएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठककाे विशेष समयमा बोल्दै सांसद धामीले सुदूरपश्चिमका जनताले प्रधानमन्त्री देउवालाई ६ पटक चुनाव जिताएर पाँच पटक प्रधानमन्त्री बनाएपनि सुदूरपश्चिमका लागि केही नगरेको बताएका हुन्। 

उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गर्ने हो, आनाकानी गर्ने हो र कुनै मतलव नराख्ने हो भने देखादेखी तपाईले सुदूरपश्चिमप्रति गद्दारी गरेको र त्यहाँका जनताप्रति गम्भीर विश्वासघात गरेको ठहर हुनेछ। प्रधानमन्त्रीको ज्योतिषीले उहाँलाई सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका छन्। तर, सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि अनावरत रुपमा ६ पटक चुनाव जिताएर उहाँलाई पाँच पटक नेपालको प्रधानमन्त्री बनाइसकेका छन्।’

उनले प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिएपनि भोट बालुवामा पानी हाले बराबर भएको बताए। प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी र विश्वासघात गरेको ठहरिने उनले चेतावनी दिए।

उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रिपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तीखो आलोचना गरे।​

सांसद धामीले कैलालीमा गेटा मेडिकल कलेजको स्थापना गर्न नसके प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा जन्म लिनु नै धिक्कार हुने टिप्पणी गरे। कलेज स्थापना गर्न नसके देउवा दश पटक प्रधानमन्त्री भएपनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ हुने उनको भनाइ छ।

‘सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन तपाईको हात कसले बाँधेको छ प्रधानमन्त्रीज्यू ? सुदूरपश्चिमप्रतिको तपाईको बेवास्ता, उदासीनताले वा जनउत्तरदायी नभएको अदालतको परमादेशी प्रधानमन्त्री हुनुको नाताले?’ उनको भनाइ छ। 

उनले कलेज स्थापना गर्न नसके देउवालाई सुदूरपश्चिमका जनताले धोकेवाज र विश्वासघाती भन्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.