काठमाडौं : आज अभिनेता पुष्प खड्काको ३१औं जन्मदिन। काठमाडौंस्थित शंखमूलमा उनले बिहानै वृक्षरोपण गरेर जन्मदिन मनाएका छन्।
वृक्षारोपणपछि पुष्प ओम साइराम मन्दिर पुगेका थिए। जहाँ, विपन्न र घरबारविहीन मानिसहरूलाई उनले सामूहिक भोजनको व्यवस्था गरे।
उद्योग र कलकारखानाबाट हुने कार्बन उत्सर्जनका कारण हरेक वर्ष पृथ्वीको सतह तातो हुँदै गएको र जलवायु परिवर्तन भइरहेको अवस्थामा वृक्षारोपणको महत्व अझै बढेर गएको उनले बताए।
वृक्षारोपण गरेर प्रकृति संरक्षणमा लाग्न उनले सबैलाई आग्रह समेत गरेका छन्। अभिनयसँगै समाजसेवामा पनि पुष्पको रूची छ। उनी समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न पछि पर्दैनन्। दर्पणछाया–२, मंगलम्, मारुनीलगायतका सिनेमाहरुमा अभिनय गरिसकेका पुष्प झन्डै २ हजार म्युजिक भिडियोमा देखिएका छन्।
मंगलम् फिल्मबाट उनले २०७४ सालमा उत्कृष्ट अभिनेतातर्फ राष्ट्रिय अवार्ड जितेका थिए।
कैलालीको लम्किचुहा नगरपालिकामा साधारण परिवारमा जन्मिएका पुष्पले जन्मदिनमा आमा–बाबुलाई मिस गरिरहेको बताए। ‘जन्म दिने मम्मी र बाबुलाई बर्थ डे केक खुवाउने सौभाग्य अझै मिलेको छैन, यसपाला पनि म यहाँ र मम्मी–बुबा गाउँमा हुनुहुन्छ ,’ उनले भने,‘ सानो छँदा हाम्रो गाउँघरमा केक काट्ने कल्चर थिएन। साथीभाई सर्कलमा कसैले पनि केक काटेको देखेको थिइनँ। कलेज पढ्दा बल्ल साथीहरुले केक काटेको देखेँ। कलेज सकिएपछि म संघर्षका लागि काठमाडौं आएँ, त्यहीकारण रहर हुँदा हुँदै पनि आमा–बुबासँग केक काटेर जन्मदिन मनाउन पाइएको छैन। तर, उहाँहरुको साथ, हौसला र आर्शिवाद सधैं पाएकाले धन्य महसुस गरेको छु।’
पुष्पले आजै ‘कृष्ण लिला’ फिल्म युनिटसँगै बसेर बर्थ डे केक काट्दैछन्। संयोगवस्, आजै ‘कृष्ण लिला’ का निर्देशक दीपक ओलीको पनि जन्मदिन परेको छ।
त्यो पहिलो केक
पुष्प यतिबेला आफ्नो पहिलो म्युजिक भिडियो गर्दै थिए। हेमन्त शर्माको ‘के माया गर्नुहुन्न र ’ बोलको उक्त भिडियोको निर्देशन आलोक नेम्वाङले गरिरहेका थिए। ‘‘ह्याप्पी बर्थ डे टु मी,’ पुष्पले फेसबुकमा यस्तो स्ट्याटस लेख्नासाथ निर्देशक आलोक नेम्वाङले फोन गरेर शुभकामना दिए। ‘जन्मदिनको प्लान के छ रु’ आलोकको प्रश्न थियो। ‘खास त्यस्तो केही छैन सर,’ पुष्पले जवाफ दिए। आलोकले दिउँसो कुनै रेस्टुरेन्टमा पुगेर खाजा खाने प्लान बनाए। मोडल अनिल थापा र पुष्प रेस्टुरेन्टमा पुगेपछि आलोकले केक काटेर सरप्राइज दिए। पुष्पलाई फिल्ममा डेब्यु गराउने श्रेय पनि आलोकलाई नै जान्छ।
‘अझै पनि’ फिल्ममार्फत पुष्पले ठूलो पर्दामा इन्ट्री गरेका हुन्। ‘संघर्षका दिनमा उहाँले मलाई निकै सहयोग गर्नुभयो। तिमीले कोठा भाडा ति¥यौं कि छैन। गाडी भाडा तिर्न पैसा छ कि छैन भनेर पनि सोध्नुहुन्थ्यों,’ पुष्पले संझिए,‘आज म उभिएको बेला उहाँ यो संसारमा हुनुहुन्न। मलाई निकै दुख लाग्छ। उहाँ कसैलाई नबिझाउने व्यक्ति, प्रकृति, मानिस र जनावर सबैलाई समान प्रेम गर्नुहुन्थ्यों।’
निर्देशक नेम्वाङको कात्तिक २०७१ मा निधन भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।