प्रचण्डप्रति कांग्रेस अझै आश्वस्त, बाबुरामको ‘ग्रीन सिग्नल’

|

काठमाडौं : पाँचदलीय गठबन्धनमा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गइरहेको वेलामा सत्ता गठबन्धनभित्रै उप-गठबन्धनको प्रयास भएको छ। गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसले १६५ सिटमध्ये १ सय सिट दाबी गरेपछि उप-गठबन्धनको प्रयास थालिएको हो। 

गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी छन्। गठबन्धनमा कांग्रेसले धेरै सिटको दाबीसहित ५ वर्ष आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेपछि अन्य दलका शीर्ष नेताहरू हच्किएका छन्। 

गठबन्धनभित्र उप-गठबन्धनको प्रयासका लागि वामपन्थी एक गराउने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम निरन्तर संवादमा छन्।

उनीबाहेक जसपा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि आगामी राजनीतिक यात्राबारे विकल्प खोजिरहेका डा. बाबुराम भट्टराईसँग समेत प्रचण्ड निरन्तर संवादमा छन्। यसअघि उनीहरूबीच गत मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पछिल्लो पटक छलफल भएको थियो। 

बाबुरामसँगको वार्तापछि प्रचण्डले वामपन्थी एकताका लागि भन्दै तत्कालीन नेकपाकालीन बहुमत सदस्यसँग छलफल गरेका छन्। 

बैठकपछि प्रचण्डले भनेका थिए, ‘छलफलमा हामीले वर्तमान गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भयो। हामीले विचार मिल्नेहरूका बीचमा एकताको सम्भावनाबारे पनि कुराकानी गरेका थियौँ। तर यो गठबन्धनको विरुद्ध जाने भनेको होइन।’

तत्कालीन नेकपा रहँदा आफूहरू एकै ठाउँमा भएको जनाउँदै उनले बैठकमा विचार मिल्नेहरूबीच एकता गरेर जाने विषयमा चर्चा भएको प्रचण्डको भनाइ थियो। 

त्यसो त प्रचण्ड–माधवसहितका नेताहरूले वाम एकता अभियान चलाएकोप्रति एमाले अध्यक्ष केपी शर्मा ओली व्यंग्य गर्छन्। 

ओलीले बुधबार एउटा कार्यक्रममा भने, ‘एउटा एकताको अभियान शुरु गरेका छन्। फेरि अर्को फुट चाहिएको छ नि! फेरि अर्को फुटका लागि एकता चाहिएको छ। त्यो जुट्नका लागि होइन‚ फुट्नै लागि हो। के हो कम्युनिष्ट र वामपन्थी?’ 

उप-गठबन्धनको प्रयास 

कांग्रेससँग बाहिरी रुपमा गठबन्धनमै रहेर प्रचण्डले उप-गठबन्धन बनाउने प्रयास गरिरहेका छन्। तर भित्री रुपमा कांग्रेससँग भागबण्डा नमिलेको अवस्थामा एकीकृत समाजवादी र जसपासँग मिलेर जानेबारे पनि गृहकार्य गरिरहेका छन्। त्यसमा अहिले वामदेव गौतम पनि पार्टी नै दर्ता गरेर जोडिएका छन्। 

उप-गठबन्धनका लागि प्रचण्डले माधव नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराईलगायत नेताहरूसँग एक्लाएक्लैदेखि सामूहिक छलफल गरिरहेका छन्। प्रचण्डले बिहीबार बिहान मात्रै बाबुरामसँगको भेटमा पार्टी एकताको प्रस्ताव गरेका छन्। 

ललितपुरमा बिहीबार बिहान भएको भेटवार्ताका क्रममा प्रचण्डले बाबुरामलाई समाजवादी केन्द्र निर्माण गरेर सहकार्य गर्न प्रस्ताव गरेका हुन्। प्रचण्डले बाबुरामलाई माओवादी केन्द्रमै फर्किन प्रस्ताव गर्दा बाबुरामले अस्वीकार गरेपछि नयाँ प्रस्ताव अघि सारेको बाबुरामनिकट स्रोतले बतायो। 

स्रोतले भन्यो, ‘निर्वाचन नजिकिएको वेलामा गठबन्धन र निर्वाचनको विषयमा उहाँहरूबीच छलफल भएको हो। छलफलका क्रममा प्रचण्डले समाजवादी केन्द्र निर्माण गर्दा माधव नेपाललाई पनि समेट्न सकिन्छ भन्ने प्रस्ताव राख्नुभएको थियो।’

चुनावसँग आपसी सहकार्यबारे निरन्तर छलफल गर्ने समझदारीसमेत बनेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीमा कारबाही गरेपछि बाबुराम नयाँ यात्राको विकल्पबारे निरन्तर छलफलमा छन्। 

जसपाबाट बाहिरिए पनि बाबुरामले गठबन्धन नछाडेको प्रचण्ड आफैँले मंगलबार बाबुरामसँगको भेटपछि प्रष्टाएका थिए। चुनावअघि नै नयाँ मोर्चा तय गरेर आगामी चुनावको एउटै घोषणापत्र बनाउने गरी तीव्र गतिमा तयारी भइरहेको छ। 

समाजवादी केन्द्र बनाउने प्रयास असफल भए पनि कांग्रेसबाहेककाे गठबन्धन बनाउनेबारे पनि प्रचण्डले गृहकार्य गरिरहेका छन्। कांग्रेस एक सयकाे अडानबाट ब्याक नभए माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच मात्रै उप-गठबन्धन बनाउनेबारे छलफल पनि अघि बढिसकेकाे छ।  

‘समाजवादीबारे सकारात्मक’

शीर्ष तहमा समाजवादी केन्द्र निर्माणबारे छलफल चलिरहेको वेलामा माओवादी स्थायी कमिटी सदस्य हरिबोल गजुरेल छलफल सकारात्मक दिशामा अघि बढेको बताउँछन्। 

उनी भन्छन्, ‘बाबुरामजीसँग अध्यक्षज्यूले कुरा गरिराख्नुभएको छ। उहाँ माओवादीमै फर्किने बारेमा पनि छलफल भएको हो। तर समाजवादी केन्द्रबारे पनि छलफल भइरहेको छ। त्यसमा उहाँहरू दुवैजना सकारात्मक हुनुहुन्छ।’ 

उनले गठबन्धनमा कांग्रेसले १ सय सिट दाबी गर्नु स्वाभाविक भएको बताए। 

‘कांग्रेसको दाबी हामीले स्वाभाविक रुपमा लिएका छौँ। हामीले पार्टीमा ५० सिटभन्दा तल कम्प्रमाइज गर्न मिल्दैन भनेका छौँ। माधवजीको आफ्नै दाबी होला। उहाँहरूले पनि स्थानीय तहको निर्वाचनमा एक्लै पनि जितेर आउनुभएको छ।’ 

‘गठबन्धन टुट्दैन’

प्रचण्डले वामपन्थी एकताको पहल गरिरहे पनि कांग्रेसका प्रवक्ता प्रकाशशरण महत गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गर्छन्। 

उनी भन्छन्, ‘हाम्रो पार्टीले गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ। आगामी निर्वाचनमा गठबन्धन लानुपर्छ भन्नेमा शीर्ष नेताहरू सहमत नै हुनुहुन्छ। कुनै दलले बहुमत ल्याउने सम्भावना छैन। त्यसैले अहिले गठबन्धन गर्नुपर्छ। स्थानीय तहमा पनि तालमेल गरेका थियौँ। त्यो सफल भयो‚ अब पनि हुन्छ।’

भागबण्डा जटिल भए पनि शीर्ष नेताहरूले बसेर त्यसलाई टुंग्याउने दाबी उनले गरे। 

‘उहाँहरूले वाम गठबन्धन र एकताको कुरा उठाइ राख्नु भएको छ। तर पनि गठबन्धन टुट्छ भन्ने लागेको छैन। पार्टीको आधिकारीक निर्णय आउनुपर्छ मूल नेतृत्वको कुरा आउनुपर्छ‚’ उनको बुझाइ छ। 

त्यसो त जनतासँगको वाचा पूरा गर्नका लागि कांग्रेसलाई ५ वर्षको स्थिर सरकार चाहिने भएकाले बहुमत आउने गरी तालमेल गरेर जाने निर्णय गरेको महामन्त्री गगन थापा बताउँछन्। 

उनले प्रेस युनियनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘तालमेलमा रहेका दलहरूमा खाली सिटको बाँडफाँट हुने‚ निर्वाचन जित्ने कुरालाई मात्रै ध्यान दिने, निर्वाचन जितिसकेपछि आ-आफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा हुने रहेछ। त्यो २०७४ सालमा नेकपाबाट हामीले सिक्नुपर्छ।’  

हालै भारत भ्रमणबाट फर्किएका प्रचण्डले गठबन्धन नताेड्ने विश्वास दिलाएर फर्किएकाले पनि कांग्रेस प्रचण्डप्रति विश्वस्त भएकाे नेताहरूकाे बुझाइ छ। भारतमा देउवापत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवासँग पनि प्रचण्डले भेटवार्ता गरेका थिए।  

‘सकारात्मक छौँ’

गठबन्धनलाई कायम राख्दै वाम एकताको विषयमा पार्टीभित्र छलफल भइरहेको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए। 

उनले भने, ‘वाम एकताको विषयमा पार्टीभित्र छलफल भइरहेको छ। तर तत्काल एमालेसँग भने सहकार्यको सम्भावना देखिएको छैन। एमालेबाहेक बाहिर रहेका सबै वामपन्थी एकजुट हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।’ 

उनले प्रचण्डले पहल गरेको माओवादी र बाबुरामसहितको समाजवादी केन्द्र निर्माणको विषयमा बाहिर चर्चा भए पनि पार्टीभित्र त्यसले औपचारिक रुपमा प्रवेश नपाएको बताए। 

उनले थपे, ‘यसअघि वाम एकताको विषयमा पार्टी बैठकमा पनि छलफल भएकै हो। तर अहिले समाजवादी केन्द्रबारे बाहिर चर्चा भए पनि पार्टीभित्र यसले प्रवेश पाएको छैन।’

उनले सत्ता गठबन्धन नै चुनावमा जाने दाबी गर्दै मोडालिटी तयार भएपछि मात्रै भागबण्डामा आफ्नो पार्टीको तर्फबाट दाबी प्रस्तुत गर्ने बताए। 

त्यसो त स्थानीय तहको निर्वाचनबाट धक्का लागेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि समेत वाम तालमेलको दबाब बढेको छ। तर प्रचण्डले भने तत्काल ओलीसँग सहकार्यको सम्भावना नभएको भन्दै कांग्रेससँगको गठबन्धनलाई कायमै राख्नै अर्को मोर्चा खडा गर्ने प्रयास गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.