|
फाइल तस्वीर

भक्तपुर : यस वर्षको सापारु (गाईजात्रा) पर्वलाई सभ्य र व्यवस्थितरूपले सम्पन्न गर्न भक्तपुर नगरपालिकाले तयारी थालेको छ। नगरपालिकाले बिहीबार नगरका दाफा, भजन, सांस्कृतिक टोलीका प्रतिनिधि र संस्कृतिकर्मीहरुसँग छलफल गर्दै सापारु पर्वको तयारी थालेको हो।

विगतका वर्षमा कोरोना महामारीका कारण सापारु पर्वलाई औपचारिकतामा सीमित गरेको नगरपालिकाले यस वर्ष भव्य र सभ्यरूपमा सम्पन्न गर्न आवश्यक तयारी र छलफल सुरु गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताए। उनले सापारुमा प्रदर्शन हुने परम्परागत र आधुनिक सांस्कृतिक गतिविधिहरु बढीभन्दा बढी प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गर्नुपर्ने बताउँदै सापारुमा हाँस्य व्यङ्ग्यमार्फत जनतालाई राजनीतिक र सामाजिकरूपमा सचेत बनाउँदै लानुपर्नेमा जोड दिए।

छलफलमा भक्तपुर नगरपालिका–५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले जात्रा र संस्कृति परम्परादेखि चल्दै आएको हाम्रो सभ्यता भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धनमा सिङ्गो नगर एकताबद्ध भई अगाडि बढ्नुपर्ने खाँचो औँल्याए।

भक्तपुरको गाईजात्रा अन्य सहरमा मनाइने गाईजात्राभन्दा पृथक रहेको छ। यहाँको गाईजात्रामा नाचिने घिन्ताङघिसी नाचले धेरैलाई आकर्षित गर्दछ। त्यसैले भक्तपुरको गाईजात्रा हेर्न काठमाडौँ, ललितपुर र उपत्यकाबाहिर बनेपा, धुलिखेल र पनौतीदेखि सर्वसाधारण आउने गर्दछन्। यस वर्षको गाईजात्रा यही साउन २७ गते परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.