|

पर्वत : मोदी खोला जलविद्युत् केन्द्रमा यो वर्ष अहिलेसम्मकै बढी विद्युत् उत्पादन भएको छ। २०५७ सालमा बनेको केन्द्रले गत आर्थिक वर्षको साउन, भदौ, माघ, फागुन, चैत र असार गरी ६ महिनामा धेरै विद्युत् उत्पादन गरेको हो।

केन्द्रका प्रमुख आभास ओझाका अनुसार आयोजनामा रहेका उपकरण तथा प्राविधिक सामग्रीको मर्मत सम्भार, कर्मचारीहरूको क्रियाशीलता, अनुकूल मौसम र नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनका कारण लक्ष्यभन्दा धेरै र अहिलेसम्मकै उच्च परिमाणमा विद्युत् उत्पादन भएको हो।

‘आर्थिक वर्ष २०७८\०७९ मा विद्युत् उत्पादन राम्रो भएको छ। आयोजना बनेयता यति धेरै उत्पादन हुन सकेको थिएन। छ वटा महिनामा लक्ष्य भन्दा पनि धेरै उत्पादन भएको छ। साउन र असारमा सबैभन्दा धेरै उत्पादन भएको छ,’ उनले भने, ‘उपकरणको मर्मत सम्भार, कर्मचारी साथीहरूको सक्रियता र एकता, प्राधिकरणको आवश्यक सहयोगका कारण  २२ वर्ष यताकै धेरै उत्पादन गर्न सफल भएका हौँ।’

गत आर्थिक वर्षको पहिलो महिना साउनमा सात हजार एक मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएकोमा आठ हजार आठ सय ९९ मेगावाट उत्पादन भएको छ। यो  लक्ष्य भन्दा एक हजार ८९८ मेगावाट बढी हो। २२ वर्षको अवधिमा साउनमा उत्पादन भएको विद्युतमध्ये यो नै सबैभन्दा बढी हो। यस्तै असार महिनामा सात हजार २४३ मेगावाटको लक्ष्य राखिएकोमा त्यो भन्दा दुई हजार ७४ मेगावाट अर्थात् नौ हजार ३१७ मेगावाट विद्युत् उत्पादन भएको छ। यो बाहेक अहिलेसम्मको तथ्यांकमा आर्थिक वर्ष २०६५\०६६ मा सात हजार ६४६ मेगावाट विद्युत् उत्पादन भएको थियो।

२२ वर्षका भदौहरूमध्ये गत वर्षको भदौमा सबैभन्दा धेरै आठ हजार ५७० मेगावाट विद्युत् उत्पादन भएको छ। माघमा तीन हजार ६१३ मेगावाट, फागुनमा तीन हजार ७४० मेगावाट र चैतमा पाँच हजार १२९ मेगावाट विद्युत् उत्पादन गर्दै ती महिनामा पनि आयोजना बने यताकै सबैभन्दा धेरै विद्युत् उत्पादन भएको छ।

वैशाख र जेठमा खोलामा पानीको बहाव धेरै हुने भए पनि यस अगाडि ‘रेकर्ड’ तोड्न सक्ने विद्युत् उत्पादन हुन नसकेको आयोजनाका इलेक्ट्रिक इन्जिनियर कपिल पौडेलले बताए। ‘मेन इनलेट भल्भमा पानी चुहिने समस्या रहेको थियो, मर्मत गरेपछि चुहिन बन्द भयो। गभर्नर मर्मत, जेनेरेटर ब्रेक, ११ केभी, ३३ केभी ब्रेकरहरूको पनि मर्मत सम्भारसहित अन्य सामान्य मर्मत नियमित गरिरहेका छौँ,’ उनले भने, ‘हामीलाई माथिबाट महिना अनुसार टार्गेट दिइएको हुन्छ। अहिलेका छ महिनामा हामीले यो केन्द्रबाट उत्पादन भएको विद्युतको रेकर्ड नै ब्रेक गरेका छौँ।’ ‘कुलिङ वाटर’ को लागि जडान गरिएको ‘अटो फिल्टर’ ले राम्रो काम गरेका कारण पछिल्लो दुई वर्षदेखि ‘थ्रस्ट वियरिङ’ परिवर्तन गर्न नपर्दा केन्द्रको ‘प्लान्ट आउटेज’ कम हुन गई उत्पादन बढेको इन्जिनियर पौडेल बताउँछन्।

साउन, भदौ, माघ, फागुन, चैत र असार महिनामा गर्नुपर्ने उत्पादनका लागि माथिबाट तोकिएको लक्ष्य भन्दा क्रमशः १२७, ११६, ११९, १२०, १२३ र १२८ प्रतिशत बढी विद्युत् उत्पादन भएको इन्जिनियर पौडेलले बताए। आर्थिक वर्ष २०७८\०७९ मा ७२ हजार पाँच सय ४१ मेगावाट विद्युत् उत्पादनको कुल लक्ष्य रहेकोमा त्यो भन्दा झण्डै १० प्रतिशत बढी ७९ हजार ६०२ मेगावाट बढी उत्पादन भएको छ। जुन प्राधिकरणले मोदी खोला जलविद्युत केन्द्रलाई तोकेको लक्ष्यभन्दा १०९ प्रतिशत बढी हो।

यो भन्दा अगाडि सबैभन्दा धेरै विद्युत् उत्पादन आर्थिक वर्ष २०७३\०७४ मा ६९ हजार  ५५६ मेगावाट उत्पादन भएको थियो। जुन अहिलेको उत्पादनभन्दा १० हजार ४५ मेगावाट कम हो। विद्युत् प्राधिकरणले केन्द्रलाई उत्पादनको लागि दिएको लक्ष्यमध्ये सबैभन्दा बढी आर्थिक वर्ष २०७६\०७७ मा ७३ हजार २५३ मेगावाट रहेको थियो। यस वर्षको उत्पादनले प्राधिकरणले दिएको उच्चतम लक्ष्यलाई पनि नाघेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.