‘सुनको सिरानी हालेर नुनको खोजीमा'

|

म्याग्दी : जिल्लाको दुर्गम भनेर चिनिने धवलागिरि क्षेत्रमा अथाह सम्भावनाहरूलाई गर्भमा लुकाएर मानिसहरूको बुद्धि,वर्ग र क्षमताको परीक्षा लिइरहेका म्याग्दीका पश्चिमी क्षेत्रहरू हुन् धवलागिरि,मालिका र मंगला गाउँपालिका ।

म्याग्दीका ६ वटा स्थानीय तहमध्ये धवलागिरि गाउँपालिका दुर्गम र विकट मानिन्छ। धवलागिरि गाउँपालिका साविकको गूर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गाविसलाई मिलाएर बनाइएको हो। हिमाली जिल्ला म्याग्दीको झण्डै ४५ प्रतिशत भू–भाग धवलागिरिले मात्रै ओगट्छ।

पर्याप्त मात्रामा जडिबुटीको सम्भावना रहेको यस गाउँपालिका- ४ मुदीमा संसारको सातौं अग्लो चुचुरो (८,१६७ मि.) धौलागिरी हिमाल पर्दछ। जडिबुटी उत्खनन् तथा प्रशोधन, तातोपानीका कुण्ड, वन्यजन्तु जनावरको अवलोकन, तालतलैया, झरना, मनोरम हिमश्रृखला र कृषि तथा पशुपालनलगायत धवलागिरि गाउँपालिकाको प्रमुख सम्भावना हुन्।

यहाँका बासिन्दाको मात्रै होइन समग्र म्याग्दी जिल्ला र गण्डकी प्रदेशको आयमा समेत धनात्मक सावित हुने अथाह सम्पदाहरू यहाँ रहेका छन्। राज्यको झन्झटिलो नीति र सरोकारवालाहरूको उदासीनताका कारण ती सम्पदाहरूबाट स्थानीयले खासै लाभ भने लिन सकिरहेका छैनन्।

भनिन्छ, ‘सुनको सिरानी हालेर नुनको खोजीमा भौतिरिन्छन् धवलागिरि वासी।’ भनाइमा आंशिक सत्यता रहेको छ। औषधी उत्पादन र आयुर्वेदिक क्षेत्रमा महत्वपूर्ण कच्चा पदार्थ मानिने जडिबुटी म्याग्दी जिल्लामा सबैभन्दा बढी धवलागिरि गाउँपालिकामा पाइन्छन्।

बजारमा उच्च माग भएका कैयौं जडिबुटीका प्रजातिहरू पनि  धवलागिरि गाउँपालिकामा रहेका छन्। यस्ता जडिबुटीहरू न्यून मात्रामा संकलन हुनेगरेको छ। म्याग्दी जिल्लाका न्यून आय र मानव विकास सूचकांक पनि न्यून भएका स्थानहरू पनि यसै गाउँपालिकामा रहेका छन्। बेरोजगारीको अवस्था पनि अन्य गाउँपालिकामा भन्दा धवलागिरि गाउँपालिकामा बढी नै रहेको देखिएको छ। त्यसैले यस गाउँपालिकाले अविलम्ब आफ्नो भूगोल र हावापानी अनुकूल भएको उत्पादनलाई विशेष स्थान दिन जरुरी छ। यस्ता उत्पादनहरू मध्ये जडिबुटी एक अत्यन्तै महत्वपूर्ण उत्पादन हो।

यस गाउँपालिकामा सयौं प्रजातिका जडिबुटीहरू पाइने भएता पनि बजार मागको आधारमा सबै प्रजातिहरू महत्वपूर्ण हुन सक्दैनन्।

जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका नि.प्रमुख चन्द्रमणी सापकोटाका अनुसार  सतुवा खेती, टिमुर खेती, सिल्टीमुर खेती,चांवो खेती, विष विषमा खेती, खिरौला खेती, कटुको खेती,सुगन्धवाल खेती, अतिस खेती,निरविष खेती, दाँतेओखर खेती लगाएतका अन्न जडिबुटीहरू व्यावसायिक प्रयोजनका लागि यहाँ गर्न सकिन्छ।  धवलागिरि क्षेत्रमा व्यावसायिक खेतीका लागि उपयुक्त जडिबुटीका प्रजातिहरूको व्यावसायिक खेती गर्न सक्ने हो भने म्याग्दी जिल्ला मात्रै होइन गण्डकी प्रदेश नै समृद्ध बन्न सक्ने सापकोटाको भनाइ छ।

त्यसैगरी उच्च बजार माग भएका र यस गाउँपालिकामा प्रशस्त मात्रामा पाइने कैयौं सुगन्धित जडिबुटीहरूको सुगन्धित तेल उत्पादन गरी विक्री गर्न सकिन्छ। ‘तितेपातीको तेल,वन गुलावको तेल,धसिंग्रेको तेल, धुपी,सुगन्धवाल,सानो चिमालोका सुगन्धित तेल उत्पादन गरी उच्च मूल्यमा विक्री गर्न सकिने प्रशन्त सम्भावनाहरू यहाँ रहेका छन्’, सापकोटाले भने।

सापकोटाका अनुसार जंगली फलफूलबाट सिजनल वाइन उत्पादन गर्न सकिने सम्भावना पनि यहाँ रहेको छ। त्यसका लागि चुत्रो,जमानेमान्द्रो,जंगली अंगुर आदि जडिबुटीलाई प्रशोधन गरी प्राकृतिक मदिरा उत्पादन गर्न सकिन्छ। यी जडिबुटीको खेती तथा प्रशोधन कार्यले गाउँपालिकाको आन्तरिक आम्दानी ह्वात्तै बढाउनुका साथै प्रशस्त मात्रामा रोजगारी सिर्जना पनि गर्न सकिने सम्भावना रहेको छ। जडिबुटी मार्फत यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न पनि ठूलो सघाउ पुग्ने सापकोटा बताउँछन्।

भएका प्रयासहरू :

धवलागिरि गाउँपालिकाले बहुउपयोगी जडीबुटी सतुवाको व्यावसायिक खेती विस्तार गरेको छ। सतुवा खेतीको सम्भावित क्षेत्र गुर्जा मल्कबाङ मुदी लुलाङ ताकम र मुनामा यसको व्यावसायिक विस्तार गरिएको हो।

उक्त गाउँपालिकाले आव २०७५-७६ मा सतुवा खेती विस्तारका लागि १७ लाख बजेट छुट्याएर छ वटै वडामा सतुवाको गाना वितरण गरेको थियो। धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनका  अनुसार मुदीमा ३० हजार मल्कबाङमा २५ हजार, मुनामा ११ हजार, गुर्जामा आठ हजार, लुलाङ र ताकममा पाँच÷पाँच हजार सतुवाको बीउ (गाना) वितरण गरिएको थियो।

सतुवालगायत बहुउपयोगी जडीबुटीको सम्भावना युक्त क्षेत्रको पहिचान गरी उक्त गाउँपालिकाले गरीब तथा विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउनका लागि कृषि तथा जडीबुटी समूह गठन गरी सामूहिक रुपमा सतुवा खेती परीक्षणका रुपमा अघि बढाएको छ।

उच्च पहाडी क्षेत्रको वनजंगलमा हुने सतुवाको उत्खनन व्यवस्थित नहुँदा पछिल्लो समय सतुवा नै हराएर जाने समस्या बढ्न थालेको थियो। प्राकृतिक जडीबुटी लोप हुने स्थितिमा पुगेकाले तिनको संरक्षण र आर्थिक विकासमा समेत सहयोग पुर्‍याउन व्यावसायिक खेती थालिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

यस गाउँपालिकाको बलियो आयस्रोतको जडीबुटी सतुवा हो, जंगलमा पाइने यस्ता जडीबुटीको अव्यवस्थित उत्खननलाई व्यवस्थित बनाए, खेतीकै रुपमा गर्न सकिने जडिबुटीलाई अभियानकै रुपमा विस्तार गर्न जोड दिएको छ।

समुद्र सतहदेखि एक हजार ४०० मिटरभन्दा माथिको उचाइमा सतुवाको खेती गर्न सकिन्छ। यसको उचित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथै विभिन्न प्रकारका रोगसमेत निको पार्ने भएकाले उच्च माग छ।

त्यसैगरी गाउँपालिका- १ मा पर्ने गुर्जाका बासिन्दाले बाँझो पाखोमा व्यवसायिक खेती गरेर प्रयोगमा ल्याएका छन्।  हिमाली कृषि सहकारी संस्थामा आवद्ध कृषकहरूले सामुहिक रुपमा दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका छन्। 

टिउथिबा सामुदायिक वन उपभोक्ता समूहको दुई हेक्टर भन्दा बढी खाली पाखो जग्गा भाडामा लिएर गत वर्ष ७ हजार विरुवा बिसजरा जडीबुटी रोपेका थिए। समूहले बाँझिएको जग्गालाई खनजोत गरी अतिस र बिसजराको साथै सतुवाका बिरुवा रोपेको छ।

बजारमा अतिसको माग उच्च छ। गुर्जाको भूगोल र हावापानी अतिस खेतीका लागि अनुकुल छ। गाउँमै बिरुवा उत्पादन गरेर अतिस खेती गरेका हुन्। समुद्री सतहदेखि तीन हजार २०० देखि तीन हजार ७०० मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखाला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ। 

यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाई, उत्तेजना नहुने, जुका जस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्धतिको रुपमा अतिस प्रयोग हुन्छ। गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले बाँझिएको जग्गालाई उपयोग गरी आयआर्जन बृद्धि र रोजगार सिर्जना गर्ने उद्धेश्यले जडीबुटीको व्यावसायिक खेतीलाई प्राथमिकता दिएको बताए।

‘यहाँ जडीबुटीको प्रशस्त सम्भावना छ’, उनले भने ‘जडीबुटी खेतीबाट निकट भविष्यमा जनताले प्रतिफल र लाभ पाउनेछन्।’ समूहले गुर्जामा जिल्लामै पहिलो पटक स्याउको व्यावसायिक खेती भएको छ।

गाउँपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउ खेती गरिएको छ। इटलीबाट उच्च घनत्व जातका स्याउका ८४८ वटा कलमी बिरुवा ल्याएर नाइलीबाङको १० रोपनी जमिनमा खेति गरिएको हो। 

गुर्जामा स्याउ खेतीका लागि गत वर्ष कृषि ज्ञान केन्द्रले एक लाख पचास हजार र धवलागिरी गाउँपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेका थिए। छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वका स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ। 

त्यसैगरी गाउँपालिकाले प्रत्येक विद्यार्थीका घरमा ओखर रोप्ने अभियान शुरु गरेको छ। ‘एक विद्यार्थी एक घर, एक बोट ओखर’ कार्यक्रमअन्तर्गत ओखरका बिरुवा लगाइएको छ।

गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई एउटा घरमा दुई वटाका दरले नदोहोरिने गरेर ओखरका बिरुवा वितरण गरिएको थियो।

मुदीमा यार्सागुम्बा

त्यसैगरी प्राकृतिक रुपमा नै पाइने यार्सागुम्बा संकलन र यसको बजारीकरणमा प्रवन्ध मिलाउन सक्ने हो भने मुदी र गुर्जाको उच्च हिमाली क्षेत्रबाट संकलित यार्सागुम्वा यहाँका वासिन्दाका लागि ‘सुन’ हुनसक्छ। उच्च हिमाली भेगमा पुगेर स्थानीयवासीले संकलन गरेको यार्सागुम्बा निकासीबाट राम्रो आम्दानी गर्न सकिने प्रवल सम्भावना यहाँ छ।  यार्सागुम्बा प्रतिकिलो १० लाखको दरले  निकासी हुने गरेको छ।

धौलागिरि पदयात्राको प्रवेशद्वारका रुपमा रहेको मुदीमा जडीबुटी नै मुख्य आर्थिक स्रोतको आधार बनेको छ। यार्सागुम्बा पनि भनिने यो जडीबुटी यौनवद्र्धक मानिन्छ।

जडीबुटीको खानीका रुपमा चिनिने मुदीमा बहुमूल्य यार्सागुम्बा सँगै नीरमसी, पाँचऔँले, सतुवा, चिराइतो, टिमुर, सिल्टीमुरलगायत दर्जनभन्दा बढी जडीबुटी पाइने स्थानीय कुलबहादुर घर्ती मगरले बताए। उच्च हिमाली क्षेत्र भएकाले बर्सेनि करोडको हाराहारीमा मुदीबाट जडीबुटी निकासी हुने बताइएको छ।

यसबाट गाउँका स्थानीयवासीको आर्थिक समृद्धिमा टेवा पुगेको छ। जडीबुटी व्यवसायी गाउँमै पुग्ने भएकाले बजारको अभाव नभए पनि त्यहाँबाट व्यवस्थित तवरले जडीबुटी निकासी हुन सकेको छैन।

यस गाउँपालिकाको प्रमुख समृद्धिको आधार भनेको जडिबुटी र पर्यटन हो। जडिबुटी संकलन तथा प्रशोधन, हाइड्रोपावर निर्माण, पशुपालन, पर्यटकीय गन्तव्यका क्षेत्रहरू धवलागिरी बेसक्याम्प, गूर्जा हिमाल, ऐतिहासिक ताकम कोत, मुदीको बगरा तथा गूर्जाको तातोपानी कुण्ड, गूर्जा र मल्कबाङका खानी, कृषि तथा पर्यटन नै समृद्धिका आधारहरू हुन्।

 नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षले पनि धवलागिरी–१, गूर्जालाई समेट्छ भने धौलागिरी हिमाल समेत यसै गाउँपालिकामा पर्ने हुँदा यसबाट आउने रोयल्टीलाई पनि गाउँपालिकाको विकासमा लगानी गर्न सकिने सम्भावना छ।

यस गाउँपालिकाको समृद्धिका आधारमध्ये एउटा आधार धौलागिरी हिमाल पनि हो। तर, संघीयताको कार्यान्वयन भएको यतिका समयसम्म पनि गाउँपालिकालाई एकदमै नगन्य मात्रामा पर्यटनको अर्थात् धौलागिरी हिमालको रोयल्टी आउने गरेको छ। धवलागिरि हिमालकै सेरोफेरोमा बहुमूल्य जडिबुटीहरू पाइने गर्दछन्।

कुल आम्दानीको ६० प्रतिशत सम्बन्धित स्थानीय तहमा आउनुपर्ने भए पनि अहिले वार्षिक करिब ५ प्रतिशत मात्रै आउँछ। यसले गर्दा पर्याप्त सम्भावना र स्रोत हुँदाहुँदै पनि त्यसबाट पाउनुपर्ने हिस्सा नपाउँदा गाउँपालिकामा सोचे अनुसार पर्याप्त बजेट खर्च गरेर काम गर्न नसकिएको निवर्तमान अध्यक्ष पुनले बताए।

जडिबुटीको उत्पादनका लागि यस गाउँपालिकाले प्याकेजका कार्यक्रमहरू तयार पार्न जरुरी छ। उद्यमशीलता,व्यावसायिक जडिबुटी खेती सम्वन्धी सीप,जग्गाको छनोट,जडिबुटी प्रजातिको छनोट,छनोट भएका,उच्च बजार माग र मूल्य भएका जडिबुटीको विस्तार,बजारीकरण,नियमित अनुगमन तथा पक्षपोषण आदि गर्न सक्ने हो भने धवलागिरि गाउँपालिका जडिबुटीबाट नै समृद्ध गाउँपालिका बन्न सक्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.