वर्षमा ५८ जनालाई स्वरोजगार बनाउने लक्ष्य

|

पाल्पा : माथागढी गाउँपालिका–१ चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थी। उमेरले ३१ वर्ष पुगे। जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्ष हुन् उनी।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष विजयी भएका हुन्। उनले आफूभन्दा पाका उमेरका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्रबहादुर जिसीलाई २२१ मतान्तरले पराजित गरेका हुन्। 

२०६४ सालमा गाउँमै गाहाधारा–पिपलधारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भएर उनले सामाजिक काम थालेका थिए। जिल्लाको सदरमुकाम तानसेनमा क्याम्पस अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीति सुरुवात गरे। उनी अनेरास्ववियूको जिल्ला अध्यक्ष भएर जिम्मेवारी सम्हाले। अहिले उनी नेकपा एमाले पाल्पाको जिल्ला सचिवालय सदस्य पनि हुन्। 

वडाध्यक्ष निर्वाचित भएपछि गाउँमै जनताको सेवामा व्यस्त देखिन्छन् राजकुमार। विदाका दिन बाहेक १० बजे वडा कार्यालय पुग्छन। ५ बजेसम्म कार्यालयमा बसेर काम गरिरहेका हुन्छन्। जनतालाई समस्या परेको खण्डमा सम्बन्धित ठाउँमै पुगेर सेवा प्रदान गर्छन्। नागरिकलाई समस्या परे रातिसमेत घरमै पुगेर सहयोग गरेको उनले दाबी गरे। 

नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै उनी वडाका विभिन्न टोलटोलमा पुगे। साउन ६ र ७ गते अभियान नै सञ्चालन गरेर सबै टोलमा रहेका वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दैछन्। ‘वृद्ध बुबाआमा वडा कार्यालयसम्म आउन नसक्ने हुनुहुन्छ। कतिपयवृद्धवृद्धा सहाराविहीन नै हुनुहुन्छ’, उनले भने, ‘त्यसैले टोलमै पुगेर सेवा दिएको छु। हिँड्न नसक्ने अशक्त वृद्ध बुवाआमालाई घरमै पुगेर सेवा दिने गरेको छु।’ 

अपांगता भएका व्यक्ति, एकल महिला, दलित समुदायका पाँच वर्ष मुनिका बालबालिकाको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गरिएको छ। करिब ५०० जनालाई टोल वा घरमा पुगेर सेवा दिएको उनले बताए। बैंकसँग सल्लाह गरेर भत्तासमेत घरमै पुगेर दिने योजनामा आफू रहेको उनले सुनाए।   

एक वर्षमा ५८ जना युवा स्वरोजगार हुनेछन्

सामान्य परिवार पाल्नकै लागि अधिकांश युवा रोजगारको लागि विदेश जानु पर्ने बाध्यता छ। अहिले गाउँमा खासै युवा छैनन्। भएका युवा पनि बेरोजगार छन। विदेश जाने योजना बनाइरहेका छन। ती युवालाई गाउँमै रोक्न युवामैत्री कार्यक्रम सञ्चालन गरिएको छ। चालू आर्थिक वर्षमा यस वडाका ५८ जना युवालाई विभिन्न सिप सिकाई स्वरोजगार बनाउने राजकुमारको लक्ष्य छ। 

नवप्रवर्धक साझेदारी कार्यक्रमअन्तर्गत ती युवालाई सिप सिकाइने छ। ८ जनालाई तरकारी खेती सम्बन्धी तालिम दिइने छ। ३ जना ब्युटिसियन सम्बन्धी एड्भान्स तालिम, ३ जनालाई सिलाई कटाइसम्बन्धी एड्भान्स तालिम, १५ जनालाई मौरी पालन, १५ मसला बनाउने र अन्यलाई सालको पातको टपरी बनाउने तालिम दिइने उनले बताए। 
उनीहरूलाई व्यवसाय सञ्चालन गर्नका लागि गाउँपालिकाको सहयोगमा आवश्यक उपकरण प्रदान गरिने छ। सामूहिक व्यवसाय गर्नका लागि उद्योग नै स्थापना गर्ने स्थानीय सरकारको योजना रहेको माथागढी गाउँपालिका सामाजिक विकास शाखाका संयोजक समेत रहेका राजकुमारले बताए। 

यहाँका युवालाई उनीहरूको रुचिअनुसारका सिप सिकाउने र स्वरोजगार बनाउने गाउँपालिकाको मुख्य उद्देश्य रहेको उनी बताउँछन्। यो वडालाई तरकारी, माछा मासु र दूधमा आत्मनिर्भर बनाउने उनको लक्ष्य छ। ‘अन्न भण्डारको रूपमा परिचित माडीफाँटकोे खेतीलाई व्यवसायिक बनाउने गरी कार्यक्रम सञ्चालका लागि पहल गर्नेछु’, उनले भने, ‘स्थानीय जातका कुखुरापालन व्यवसायलाई प्राथमिकता दिएर अनुदानको व्यवस्था मिलाउने र दूध उत्पादनका उन्नत जातका भैँसी पाल्न प्रोत्साहन दिने योजनामा छौँ।’ 

भैँसीको वडाले निःशुल्क बिमा गर्ने कार्यक्रम थालिसकेको छ। मूल्य अनुसार कम्तिमा ८०० रुपैयाँ वडाले तिरेर ५०० भन्दा बढी भैंसीको निशुल्कः बिमा गरेको राजकुमारले बताए। किसानलाई नोक्सान भए पनि उचित क्षतिपूर्ति मिल्ने गरी बिमा गरिएको छ। अब भैंसीपालन व्यवसाय गर्न युवा किसान उत्साहित हुने विश्वास छ।

व्यवसाय अनुसार आधुनिक उपकरणसमेत उपलब्ध गराइने छ। यहाँ उत्पादन भएका तरकारी, मासु, दुध लगायत सबै बस्तुको बजार व्यवस्थापन गाउँपालिकाको समन्वयमा वडाले गर्ने छ। यहाँका सहकारी संस्थासँग सहकार्य गरेर कृषि संकलन केन्द्र स्थापना गरी बजारको व्यवस्था मिलाउने राजकुमारले बताए। 

‘वडामा सुशासन कायम गर्न पहल गर्नेछु’

वडाकार्यालयका कामलाई पारदर्शी बनाएर असल जनप्रतिनिधिको छवि राख्ने प्रयासमा रहेको बताउँछन्। ‘जनतालाई नजिकको सरकारको अनुभूति दिलाउने गरी काम गर्नेछु’, उनी भन्छन्, ‘सरल, सहज, छिटो छरितो रूपमा सेवा प्रवाह गर्नेछु।’ 

नियमसंगत आवश्यक कागज पत्र पुगेका सेवाग्राहीको काम बढीमा १५ मिनेटमा गरिसक्ने उनी बताउँछन्। ‘अन्य कार्यालयसँग समन्वय गरेर गर्नुपर्ने काम केही ढिला हुन सक्छ’, उनले भने, ‘तर सेवाग्राहीका समस्यालाई सहजीकरण गरेर काम सम्पन्न गराउन सहयोग गर्नेछु।’ जनतालाई सँगसँगै लिएर यहाँका विकास निर्माणमा जुट्ने राजकुमारले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.