|

पर्सा : सामूहिक बलात्कार गरी चार वर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने १२ वर्षीय नाबालक सहित तीन अभियुक्त पक्राउ परेका छन्। 

पर्साको वीरगञ्ज महानगरपालिका स्थित बजारक्षेत्रबाट गत बिहीबार साँझ बेपत्ता भएकी ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने चारमध्ये नाबालकसहित तीन अभियुक्त पक्राउ परेका हुन् । 

उनीहरुलाई पर्सा प्रहरीले अनुसन्धानका क्रममा शनिबार नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएको छ। बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले शुक्रबार बिहान बालिकाको शव वीरगञ्ज २ छपकैया स्थित खाली जग्गाको झाडीमा फेला पारेको थियो। 

पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले स्थानीय १२ वर्षीय बालक सहित वीरगञ्ज १६ का १८ वर्षीय सलमान खान, वीरगञ्ज २ का १९ वर्षीय जफ्रुदिन भनिने सलमान खानलाई नियन्त्रणमा लिएको बताए। पहिचान खुलिसकेको अर्काे एक अभियुक्त भने फरार रहेका उनले बताए। 

उनीहरूले बालिकालाई बलात्कार गरी मुखमा केही गर्हुंगो वस्तुले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।  ​अभियुक्तहरुलाई जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुर मुद्दामा थप कारबाहीअघि बढाएको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.