‘ठूलो शक्ति गठबन्धनविरुद्ध छ, सय सिट तल सहमति हुँदैन’

|

काठमाडौं : हालै बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनको गठबन्धनबारे एउटा रिपोर्ट प्रस्तुत गरे। उनले एक्लाएक्लै चुनाव लड्दा कांग्रेस पहिलो पार्टी बन्ने तथ्यांकसहितको प्रतिवेदन पेश गरे। 

उनको आगामी चुनावको हिसाब–किताबअनुसार एक्लै चुनाव लड्दा कांग्रेसले ७७, एमालेले ७०, माओवादी केन्द्रले ८, एकीकृत समाजवादीले १, जसपा ४, लोसपा २ सिट जित्ने आँकलन प्रस्तुत गरे। पाँचदलीय सत्ता गठबन्धनकै आडमा स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको थियो। 

एक्लाएक्लै लड्दा पहिलो पार्टी बन्ने आँकलन गरेका खाँणले ०७४ सालमा झैँ एमाले र माओवादीबीच तालमेल भए कांग्रेस १६५ सिटमध्ये २० सिटमै खुम्चिने अर्को रिपोर्ट प्रस्तुत गरे। एमाले–माओवादी गठबन्धनले १०९ सिट जित्ने उनको आँकलन थियो। 

गृहमन्त्री खाँणको आँकलनजस्तै ०७४ सालमा झैं एमाले–माओवादी गठबन्धनको त्रासले कांग्रेसलाई गाँजेको छ। ०७४ सालको निर्वाचनमा पनि एमाले र माओवादीबीचको चुनावी तालमेलदेखि पार्टी एकताले कांग्रेस २३ सिटमा झरेको थियो।

‘गठबन्धनबिना माओवादी एक्लै चुनाव लड्दै लड्दैन‚ उसले कुनै अर्को पार्टनर खोजी हाल्छ। गठबन्धन भयो भने कसैको पनि सिट जान सक्छ, यसका लागि सबै तयार रहनुपर्छ। गठबन्धन अहिले मात्र नभई धेरै पछिसम्म पनि आवश्यकता छ‚’ खाँणको भनाइ थियो।

‘उपलब्धि संस्थागत गर्नुपर्छ’ 

गठबन्धन संविधान र लोकतन्त्र बचाउनको लागि बनेको भएकाले त्यसको खतरा रहेसम्म कायमै राख्नुपर्ने कांग्रेसका प्रवक्ता प्रकाशशरण महत बताउँछन्। 

उनी भन्छन्, ‘गठबन्धन कांग्रेसलाई मात्रै आवश्यकत होइन‚ अन्य दलहरूलाई पनि छ नि। स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा थोरै मात्रामा भए पनि प्रतिगमन रोक्न सफल भयौँ।’

गठबन्धनको उद्देश्य सत्ता प्राप्ति मात्रै नभएकाले अहिलेसम्मको उपलब्धिको रक्षा गनुपर्ने कतर्व्यसमेत भएको उनको भनाइ छ।

उनले भने, ‘स्थानीय तहको निर्वाचनबाट हामीले अनुभव प्राप्त गरिसकेका छौँ। भागबण्डाको विषयले गठबन्धन टुट्दैन‚ हामी एक खालको समझदारी बनाएरै जान्छौँ।’  

सबै पार्टीका शीर्ष नेताहरू गठबन्धनको पक्षमा भएकाले अहिलेसम्मको उपलब्धि जोगाउन गठबन्धनको औचित्य रहेको उनको बुझाइ छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुटाउन पटक पटक षड्यन्त्र गरेको भए पनि सफल नभएको समेत दाबी गरे। 

तर कांग्रेसले बहुमतसहित ५ वर्ष आफ्नो नेतृत्वको सरकार गठन गर्ने निर्णय गरेपछि भने गठबन्धनमा शंका पैदा भएको छ। गठबन्धन निर्माणमा निर्णायक भूमिका खेलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता माधव नेपाल भने वामपन्थी एकताको गृहकार्यमा छन्। 

उनीहरूले कांग्रेससँगको गठबन्धनलाई कायमै राख्दै एमालेबाहेक अन्य वामपन्थी शक्तिलाई एकजुट बनाउने प्रयास गरिरहेका छन्। 

संगठन मासिएकोमा चिन्ता 

कांग्रेस गठबन्धनमा निर्भर रहँदा पार्टी संगठन नै मासिएको संस्थापनइतर समूहका नेता अर्जुनसिंह केसी बताउँछन्। 

उनी भन्छन्, ‘उहाँ (प्रचण्ड–माधव)हरू समाजवादी केन्द्र निर्माणमा लागि राख्नुभएको छ। त्यसले गठबन्धनलाई त कुनै असर गर्दैन। तर वाम गठबन्धन नै भयो भने त्यही अनुसारको विकल्प कांग्रेससँग छ।’

उनी कांग्रेसको ठूलो शक्ति गठबन्धनविरुद्ध भएकाले वाम एकता भए पनि समस्या नपर्ने बताउँछन्। 

उनी थप्छन्, ‘कांग्रेसभित्रको ठूला वैचारिक समूह गठबन्धनविरुद्ध छ। गठबन्धनको नाममा पार्टीले ठूलो सांगठनिक क्षति बेहोरेको छ। त्यसलाई कसरी पुनर्जीवित गराउने भन्नेमा पार्टी नेतृत्वले सोच्नुपर्छ तर अझै त्यता ध्यान पुगेको छैन।’ 

गठबन्धनमा गर्दा पार्टीको आन्तरिक व्यवस्थापन र पार्टीको सम्मान सुरक्षित हुनुपर्ने उनको भनाइ छ। 

‘कसैको एकतालाई हामीले नकारात्मक रुपमा लिनु हुँदैन। गठबन्धन गर्ने कुरा पार्टीले निर्णय गरे पनि संस्थागत सुनिश्चित मापदण्डअनुसार हुनुपर्छ। पार्टीको सम्मान र स्वाभिमान जोगाउने गरी पार्टी नेतृत्वले संयोजन गरेर जानुपर्छ‚’ उनले भने। 

गठबन्धन सबैको आवश्यकता

उनले स्थानीय तहको निर्वाचनपछि गठबन्धन सबै दलले महशुश गरेको बताए। 

‘कुनै पार्टीको पनि एकल बहुमत आउन अवस्था देखिएको छैन। त्यसैले गठबन्धन सबैले महशुश भएर नै गरेको हो‚‘ उनले गठबन्धनका अन्य दलप्रति आशंकित हुँदै भने, ‘तर गठबन्धनका कुनै दलहरूले एकताको नाममा हामीसँग ‘बार्गेनिङ’ मात्रै गरेको हो कि भन्ने कुरा हुनसक्छ। त्यसबारे हाम्रो पार्टी नेतृत्वले गम्भिरतापूर्वक वेलैमा लिन सक्नुपर्छ।’ 

भागबण्डाबारे निश्चित मापदण्ड तय गर्नुपर्ने भएपछि १६५ मध्ये कम्तिमा १ सय सिट लिनुपर्ने उनको बुझाइ छ। 

‘भागबण्डाको मोडालिटीबारे गठबन्धनको उच्चस्तरीय संयन्त्रले मापदण्ड बनाएर जाला। तर कुन आधारमा कांग्रेस, माओवादी, मधेशी दल र कुन आधारमा एकीकृत समाजवादीले पाउने भन्ने मापदण्ड पहिले तय गर्नुपर्छ‚’ उनले भने, ‘त्यसबाहेक एमालेले जितेको निर्वाचन क्षेत्रमा पहिलो मत कसले ल्याएको छ। त्यसको पहिलो दाबी हुनसक्छ। त्यसमा हामीले करिब सय सिट हाम्रो हुनुपर्छ भनेका छौँ।’ 

नेतृत्वको तर्फबाट नेतालाई मन परे ठाउँमा गठबन्धन गर्ने नत्र नगर्ने स्थानीय तहको निर्वाचनमा देखिएको भएकाले त्यसबारे वेलैमा सचेत हुनुपर्ने उनको बुझाइ छ। उनले गठबन्धनमा सोझो भागबण्डा गर्दा सय सिटभन्दा तल हुँदैन भन्ने अडान गरेपछि मोडालिटी तय गर्दा केही तलमाथि हुनसक्ने उनको बुझाइ छ। 

कम्युनिष्टहरूको घर झगडाको कारणले सत्ताको बागडोर सम्हाल्न पुगेको कांग्रेस निर्वाचनपछि पनि सरकारको निरन्तरताको लागि गठबन्धन जोगाएर जानुपर्ने दबाब छ। ०७४ सालको निर्वाचनमा एमालेसँग ६०/४० को भागबण्डा गरेर गएको माओवादी कांग्रेस एक्लैले सय सिटको दाबी गर्दा चुनावी रणनीति बनाउनमा केन्द्रित छ। 

कांग्रेसले आफ्नो बहुमतमा ५ वर्ष एकल सरकार चलाउने निर्णय गरेपछि गठबन्धन दलका निर्णायक शक्ति माओवादीका अध्यक्ष प्रचण्ड निर्वाचनअघि नै आलोपालो प्रधानमन्त्रीको सहमति चाहन्छन्। त्यसो त यसअघि तत्कालीन नेकपामा ओलीले आलोपालो सहमति कार्यान्वयन नगरेपछि प्रचण्डले देउवालाई सत्ताको चाबी बुझाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.