प्रार्थना, व्रत, आराधना सबै हृदयबाट उब्जिने भावदशा र सम्पर्णको मार्ग हो। भगवान शिवलाई आनन्द स्वरूप मानिन्छ। त्यसैले शिवको आराधना गर्नुको रहस्य हुनुपर्दछ।
जीवनमा आनन्द फलित होस्। आनन्द महसुस हुनको लागि यसको गुणवत्ता र स्वरूप के हो पनि थाहा पाउनुपर्ने हुन्छ। आनन्दको अर्थ हो आफ्नो एक्लोपन, शुन्यता र स्व–प्रेममा लिन हुन सक्नु। आफैंमा रमाउन सक्नु, आफैंमा उत्सवपूर्ण हुन सक्नु।
अब स्मरण गरौँ हाम्रो मन्दिर दर्शन, मूर्ति पूजा, सौभाग्यले सजिएको पहिरन, निराहार र दान धर्मले आनन्दको स्थितिमा पुर्याएको छ कि छैन ? मन्दिर जानु, निराहार व्रत बस्नु, साउनको महिनाभरी हरिया र पहेंला पहिरन र शृंगारले सजिनु, हातमा मेहन्दी जे जस्ता जीवनशैली अपनाए पनि त्यसले आनन्द र उत्सवको माहोल विकास गर्यो कि गरेन जीवनमा ?
विकास भएको हुनुपर्दछ। किनकी वर्षौं भयो हाम्रो आराधना, प्रार्थना, मन्दिर दर्शन र उपासनाको यात्रा चलेको। यति गर्दा पनि जीवनमा परिवर्तन, रूपान्तरण र सोचमा विकास भएको छैन भने थाहा पाउनु जरूरी छ हाम्रो साधना र जीवनशैली बहिर्मुखी छ कि अन्तर्मुखी हुने प्रयासमा छौँ ?
चैतन्य आत्माको बोध
चैतन्य चेतनाको स्तर सबैलाई बोध हुन सक्दछ तर आत्मासम्म पुग्ने अभ्यास र हिम्मत देखिदैन व्यक्तिमा। चैतन्यको अर्थ आफ्नो स्वभावमा स्थित रहनु हो भने, आत्मा को अर्थ हो आफू हुनुको बोध, आफैंसँगको प्रेम, बाँकी सबै पराई।
परिवारसँगको प्रेम, धनसंगको आशक्ति,प्रतिष्ठासँगको अहंम, साम्राज्य सहितको यश सबै शरीर छुटेपछि छुट्छन्। मृत्युले स्मरण गराईदिन्छ को तिम्रो आफ्नो र पराई छ। जुन कुरा मृत्युले पनि छुटाउन सक्दैन त्यही त आत्मा हो।
सबैलाई लाग्छ म कसैको हो, मेरो आफ्नै म कसरी हुन सक्छु ? यो भ्रम र आफूलाई आफैंले बोध गर्न नसक्दा सम्म बाहिरका सबै कर्म काण्ड पनि बहिर्मुखी नै हुनेछन्। यिनले जीवनमा कुनै बोध र रूपान्तरण विकास हुन सक्दैन। जीवन सपना र कल्पनामा नै बित्छ, जीवनको यथार्थ बोधबाट सधैं अपरिचित बन्नुपर्ने हुन्छ। जो आफैंसँग अपरिचित छ उसले अरूलाई कसरी परिचित गराउन सक्छ र जो भौतिकता हाँसिल गरेको हुन्छ त्योसँग कसरी आफ्नो परिचय गराउन सक्दछ ?
जबसम्म आफैंलाई चिन्न सक्दैन तब पूजा, प्रार्थना,आराधना जे पनि कर्म होउन् तिनबाट पाउन चाहेको अन्तिम फल मोक्ष सम्भव नै हुँदैन। मोक्ष असहज र कठिन छैन। कामना, वासना र अपेक्षारहित अवस्था नै मोक्ष हो। अब यो अपेक्षा रहित हुने सूत्र पनि केवल प्रेम नै हो। आशक्तिपूर्ण प्रेम होइन, समष्टिसँगको प्रेम।
सृष्टिका सबै चिजप्रतिको प्रेम, सुन्दर सृष्टि प्रतिको प्रेम र स्व प्रेम। हाम्रो प्रार्थना केवल शुरूवात चरण हुन सक्दछ जबसम्म हामी समष्टिसँगको प्रेममा डुब्न सक्दैनौं। त्यसैले प्रत्येक पूजा, आराधना र उपासनाले प्रेम र समर्पणको विकास गर्न सकेको छ छैन आफैंतिर फर्केर हेर्नुपर्ने हुन्छ।
आफ्नो पनको स्वार्थ, परमार्थमा बाधा
आफ्नो पनको, धनको, सम्पदाको महत्त्व र बोध आफैंमा हुनुपर्दछ। तर, हाम्रो संस्कार र रीति नै बसेको छ मेरो धर्म, मेरो श्रीमान, मेरो छोराछोरी, मेरो भूगोल, मेरो सम्मान आदि आदि जुनकुरा मुलभूतरूपमा आफ्नो स्व–सत्तासँग नजोडिएर दोस्रो व्यक्तिसँग जोडिएको छ।
भौतिकतामै व्यक्ति फसिरहेको हुन्छ। तर, अध्यात्म, आराधना सबै यो भ्रमपूर्ण आफ्नो पनको स्वार्थबाट माथि उठेर परमार्थको ख्याल गर्नु हो। अर्थ के हो सबैलाई थाहा छ तर अर्थबाट माथि उठेर परमार्थको बोधमा जाने ज्ञान र कला विरलैलाई थाहा हुन्छ। संसारलाई सहज बनाउन अर्थ पनि जरूरी छ तर जीवनको उत्तरार्द्धमा खोज भने परमार्थको ख्याल बन्नु नै हो।
भौतिक दुःखबाट मुक्ति पाएर आन्तरिक चित्त दशामा स्थिर हुनु र परम सत्यको नजिक हुनु परमार्थ बोध हो। संसारको अर्थ व्यक्तिले आफ्नो सपनाको डुंगा अरूको सहारामा बाँधेर राखेको छ। सन्यासको अर्थ हो व्यक्ति जागृत छ। त्यसैले आफ्नो डुंगाको डोरी आफैं समाएर बसेको हुन्छ। ऊ अब आफ्नै ढंगले आफ्नो डुंगा खियाउन सफल हुन्छ र जागृत व्यक्तिले आफ्नो डुंगा दुर्घटनामा पार्न सक्दैन। ऊ सचेत हुन्छ, जागेको हुन्छ।
मानिसका सांसारिक क्रियाकलाप र जीवनशैलीले प्रेम, करूणा, सेवा र शान्तिमा लागेन भने सारा तीर्थ, व्रत, साधनाको कुनै औचित्य रहन्न जुन वर्षौंदेखि अभ्यास गर्नेहरूले स्वयं अनुभव गरेको पाइन्छ। हरेक आध्यात्मिक स्वभावको प्रकृति आफूलाई इर्ष्यारहित, भयरहित, लोभरहित र बासनारहित बनाउन सक्यो कि सकेन त्यो उपजलाई कसीमा राखेर दाँज्ने बेला आएको छ।
भगवान शिव र ध्यान विधि
भगवान शिवलाई दूध ,फूल र बत्ती चढाएर मात्र वास्तविक आराधना हुँदैन। भगवान शिवको मूख्य देशना सबैमा शिवत्व अर्थात कल्याणकारी भावना प्रष्फुटन होस् भन्ने हो। उहाँले देवी पार्वतीलाई १०८ वटा ध्यान विधिहरु मार्फत अन्तर्मुखी हुने कला सिकाउनु भएको थियो।
जीवनमा गरिने कर्म या साधना जुन सत्य छ ,सुन्दर छ र शिवम् (कल्याणकारी ) छ त्यही नै जीवनको सार हो भन्ने सन्देश शिव आराधनाले दिन खोजेको हो। बाहिरी शृंगार र बाहिरी आराधना अनि मन्दिर दर्शनले मात्र साउन महिनाको महत्व दर्शाउन खोज्नु संकीर्णता हुन जान्छ।
बाहिरी शृंगार आडम्बरपूर्ण भयो र भित्रको साधना शुन्य भयो भने त्यो शृंगारको कुनै महत्व हुँदैन। भित्री शृंगार खुलाउने र अन्तर्मुखी हुने कला सिकाउने माध्यम भनेकै ध्यान हो। शृंगार गर्नु, व्रत बस्नु ,मन्दिर जानु सबै खेत खनेर, झार उखेलेर जमिन तयार गरे जस्तै हो।
सधैं जमिन तयार मात्र गर्ने कि त्यो जमिनमा बीज रोपेर फसल खाने ? ध्यान बीज हो, बीज नरोपिकन फल कसरी प्राप्त हुन्छ ? भित्र स्वयंको ख्याल, होश, आफ्नो स्वभावको पहिचान, आफ्नो भाव दशा आफ्ना कर्महरु र आफू हिंडेको मार्ग अनि अन्तर्मनको बोध ध्यानको अनुभवबाट मात्र थाहा लाग्दछ। त्यसैले शिबको आराधनामा ध्यान छुट्यो भने त्यो अपूर्ण हुन जान्छ।
ध्यान कठिन विषय होइन किनकी ध्यान कुनै क्रिया होइन। विचारका कोलाहलबाट विश्रान्ति लिएर शुद्ध र निर्मल मनको अनुभूतिमा जानु ध्यान हो। ध्यान केवल साधन मात्र नभई आफैमा साध्य अवस्था हो। इंद्रियहरु मनको साथ, मन बुद्धिको साथ र बुद्धि आफ्नो स्वरूप आत्मामा समाहित भएको अवस्था ध्यान पूर्ण अवस्था हो।
जब हामी शरीरको, मनको एवं भावको तलबाट केहि पनि गरिरहेका हुँदैनौं र केवल जागृति शेष रहन्छ त्यो अवस्थालाई ध्यान भनिन्छ। जीवनका हरेक आयामलाई प्रेमपूर्ण र होशपूर्ण हेर्न र भोग अनि योगमा समाहित हुने कला जानेमा जीवन प्रेमपूर्ण बन्दछ भन्ने सन्देश भगवान शिवको सन्देश हो।
अनुभव गर्न लायक कुनै कुरा छ त त्यही हो प्रेम। जीवनका सम्पूर्ण आयामहरुमा होश, जागरुकता र सजगता कायम छ भने त्यही हो प्रेम। साउनमा मन्दिर गएर, व्रत बसेर, शृंगार गरेर प्राप्त गर्न खोजेको कुरा जीवनमा आनन्द र प्रेम नै हुनुपर्दछ। बाहिरी क्रियाकलापले मात्र भित्री आनन्द र प्रेम प्रष्फुटन हुन्छ कि हुन्न आफैंले थाहा पाउनु जरुरी छ। ध्यान गर्ने व्यक्ति नै प्रेमल र आनन्दित हुन सक्दछ यसमा कुनै शंका नै छैन।
ध्यान गर्ने व्यक्तिले बुझेको हुन्छ –जीवनमा अपनाउन लायक कुनै चिज छ त त्यो हो प्रेम। दिन लायक केहि छ त त्यो प्रेम बाहेक अरु केहि हुनै सक्दैन। आनन्द र निशब्द अनुभूति छ त प्रेममा नै छ। कसैमा देखिने सुन्दरता र अस्तित्वप्रतिको अहोभाव हो प्रेम। सुन्दरताबाट शब्द बन्दै भित्रबाट फुट्ने भाव सहितको काव्य हो प्रेम।
शब्द र अलंकारले सिंगार्न नसकिने गहिराईको अनुभूति हो प्रेम। जसले सधैं रसास्वादन गराउंदछ र हृदय देखिको झन्कार उठाउँदछ त्यही हो प्रेम। शारीरिक आकर्षण र रुपभन्दा परको अस्तित्वगत आकर्षण हो प्रेम। गोधुली साँझको शीतल हावाले ह्दयलाई स्पर्श गर्ने अनुभूति हो जीवन। प्रार्थना बनेर कसैप्रति शिर झुक्छ भने त्यही उपासना हो प्रेम।
करुणा र सहयोगको माध्यमबाट कसैको जीवन उद्दार गर्छ भने त्यही करुणाको भाव हो प्रेम। कसैको गल्तीमा मुस्कान छर्ने खुबी हो प्रेम। तुफान पछिको शान्ति र गीत विनाको संगीत हो प्रेम। दिव्यताको अनुभूति हो प्रेम।
समर्पण,शास्वतता र सत्य हो प्रेम। प्रेमले ध्यानमा सघाउ पुर्याउँछ र ध्यानले शरीर, मन र चेतनामा सामन्जस्यता ल्याउँछ। विगतको शोक र भविष्यको चिन्ताबाट मुक्त भई वर्तमानमा क्षण–क्षणमा जिउने क्षमता प्राप्ति हुन्छ।
जीवनका समग्र क्रियाकलाप र फल प्रति स्वीकार भाव प्रष्फुटन हुन्छ। ध्यानसँगै प्राप्त भएका भौतिक सम्पदाको महत्व छ भने ध्यान विनाको भौतिक सम्पदा अपूर्ण हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।