|
फाइल

पर्वत : आर्थिक वर्ष २०७८।७९ को एक वर्षको अवधिमा गण्डकी प्रदेशमा भएका ४०८ सवारी दुर्घटनामा २५५ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बम मल्लका अनुसार ११ जिल्ला रहेको गण्डकीमा मनाङ मात्रै यस्तो जिल्ला बनेको छ, जहाँ एक वर्षको अवधिमा कुनै पनि दुर्घटना भएनन्।

सबैभन्दा बढी दुर्घटना कास्कीमा ९८ वटा रहेका छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार उक्त अवधिमा दुर्घटनामा परी सबैभन्दा बढी कास्कीमा ५६ जनाको मृत्यु भएको छ। उनीहरू ४६ जना पुरुष, आठजना महिला र दुईजना बालक रहेका छन्।

यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २८ जना पुरुष, १० जना महिला, दुईजना बालबालिका गरी ४० जनाको, तनहुँमा ३५ जना पुरुष, १२ जना महिला र दुई जना बालबालिका गरी ४९ जनाको, स्याङ्जामा १७ जना पुरुष, १८ जना महिला र पाँचजना बालबालिका गरी ४० जनाको मृत्यु भएको छ।

यस्तै बागलुङमा १० जना पुरुष एकजना बालिका गरी ११ जनाको, लमजुङमा १४ जना पुरुष, एकजना महिला र दुईजना बालबालिका गरी १७ जनाको, गोरखामा १२ जना पुरुष र एकजना बालिका गरी १३ जनाको, पर्वतमा सातजना पुरुष, एक महिला र तीनजना बालक गरी ११ जनाको, म्याग्दीमा १३ जना पुरुष र दुईजना महिला गरी १५ जनाको तथा मुस्ताङमा दुईजना पुरुष र एकजना महिला गरी तीनजनाको मृत्यु भएको छ।

ती दुर्घटनामा परेर कास्कीमा ७९ जना गम्भीर र १४ जना सामान्य, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १०४ जना गम्भीर र १४६ जना सामान्य, तनहुँमा ६४ जना गम्भीर र २५ जना सामान्य, स्याङ्जामा ३३ जना गम्भीर र १५ जना सामान्य, बागलुङमा २१ जना गम्भीर र आठजना सामान्य, लमजुङमा ११ जना गम्भीर र १४ जना सामान्य घाइते बनेका थिए। गोरखामा २२ जना गम्भीर र ६ जना सामान्य, पर्वतमा ४२ जना गम्भीर र चारजना सामान्य, म्याग्दीमा १० जना गम्भीर र आठजना सामान्य तथा मुस्ताङमा नौजना गम्भीर र २९ जना सामान्य घाइते बनेका थिए।

प्रहरी निरीक्षक मल्लका अनुसार एक वर्षमा कास्कीमा १४३ वटा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १२७ वटा, तनहुँमा १०० वटा, स्याङ्जामा २९ वटा, बागलुङमा २९ वटा, लमजुङमा २२ वटा, गोरखामा २५ वटा, पर्वतमा ३८ वटा, म्याग्दीमा १८ वटा र मुस्ताङमा चारवटा गरी ५३५ सवारी दुर्घटनामा परेका थिए। प्रहरीको तथ्यांकमा सबैभन्दा बढी दुर्घटनामा परेका सवारीमा मोटरसाइकल रहेका छन्।

५३५ कुल दुर्घटनाको झन्डै ४५ प्रतिशत अर्थात् २३९ ओटा मोटरसाइकल दुर्घटना रहेका छन्। दुर्घटनामा परेका अन्य सवारीहरू ट्रक-ट्याङ्कर ५६ वटा, टिपर १५ वटा, डोजर-लोडर-एक्स्काभेटर तीनवटा, बस ५० वटा, माइक्रो बस चारवटा, जिप-कार ९१ वटा, ट्रयाक्टर ६५ वटा, टेम्पु पाँचवटा, सार्वजनिक सवारी ६ वटा र अन्य एउटा रहेका छन्।

यी कारणले भएका थिए ती दुर्घटना

ट्राफिक प्रहरीले ती सबै दुर्घटनालाई कारण अनुसार पनि विभाजन गरेर हरेको छ। मुख्य गरी सवारीचालकको कारण, सवारीसाधनको कारण, यात्रुको कारण, सडकको अवस्थाका कारण र मौसमको अवस्थाका कारण छुट्याइएको छ।

ती भित्र पनि पनि गल्ती कसले गरेका थिए भनेर उल्लेख गरिएको छ।

इन्स्पेक्टर मल्लले ९९ वटा दुर्घटना ट्राफिक नियम उल्ल‌ंघन गरेर, नौवटा जथाभावी ढोका खोल्दा, ९२ वटा ओभरटेक गर्दा, २०६ वटा तीव्र गतिले, एउटा चालक निदाएका कारण, पाँचवटा मादक पदार्थ सेवन गरेका कारण भएको तथा ५७ वटाको सवारीचालक अनुमतिपत्र नै प्राप्त नभएको भनिएको छ।  

सवारीसाधनका कारण भएका दुर्घटनाअन्तर्गत यान्त्रिक समस्याले तीनवटा, ओभर लोडले तीनवटा, ब्रेक नलाग्दा १८ वटा, टायर खुस्किएर एउटा तथा टायर पङ्चर भएर एउटा दुर्घटना भएका छन्। यात्रुका कारणअन्तर्गत चढ्दा एउटा, ओर्लदा पाँचवटा, झुन्डिएर यात्रा गर्दा दुईवटा, बाटो काट्दा आठवटा र अन्य कारणले ६ वटा दुर्घटना भएका छन्।

यस्तै, सडकको अवस्थाका कारण अन्तर्गत खाल्डाखुल्डीका कारण ६ वटा, घुम्तीका कारण ६ वटा, उकालोका कारण पाँचवटा, जीर्ण सडकका कारण दुईवटा, सडक निर्माणका कारण तीनवटा र कच्ची सडकका कारण पाँचवटा दुर्घटना भएका छन्।

मौसमको अवस्थाको कारण एउटा र चौपायाका कारण दुईवटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ।

सबैभन्दा बढी दुर्घटना गत मंसिर महिनामा ४८ वटा भएका छन्। साउनमा ३१, भदौमा ३३, असोजमा ३२, कात्तिकमा ३४, पुसमा ३१, माघमा ३१, फागुनमा ३२, चैतमा ३५, वैशाखमा ३६, जेठमा ४१ र असारमा २४ वटा दुर्घटना भएको पनि प्रहरी निरीक्षक मल्लले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.