|

पर्वत : मोदी गाउँपालिकामा बस्दै आएका नवीन पुन देशको सात प्रदेशमा दौडिएर पुग्ने गरी जेठ ३० गते काठमाडौंको टुँडिखेलबाट यात्रा प्रारम्भ गरे। ७० दिनमा ३५ सय किलोमिटर दौडिने लक्ष्यका साथ दौडिरहेका उनले १८ सय किलोमिटर दूरी पार गरिसकेका छन्।

उनको यो दौड भने कुनै ‘म्याराथन’मा भाग लिएर माटो जोगाउनका लागि हो। मान्छे दौडिएर माटो कसरी जोगिन्छ? भन्ने प्रश्न पनि यहाँनेर उठ्ला। माटोको वर्तमान अवस्था र माटो जोगाउनका लागि गर्न सकिने कामको बारेमा काठमाडौँबाट पर्चा बाँड्ने काम उनले शुरु गरे तर काठमाडौँमा पर्चा बाँड्नेहरूको दिनहुँको भीडका कारण उनले बाँडेका पर्चा कसले पो लिइदिने?

माटोको उत्पादकत्व घट्दै गएका कारण निकट भविष्यमा भोकमरी र खानाका लागि गृहयुद्ध पनि हुन सक्ने चिन्तामा परेका उनले दौडिएर हरेक जिल्लामा पुग्ने गरी ‘माटो जोगाऔँ’ अभियान लिएर हिँडेमा यसले सबैको ध्यान तान्ने सोचे। दौडका क्रममा पर्वत आइपुगेका नवीनसँग थाहाकर्मी सञ्जय रेग्मीले ‘माटो जोगाऔँ’ अभियानका बारेमा गरेको कुराकानी ।

तपाईं किन दौडिनु भएको?

सबैको ध्यान तानेर माटोको अवस्थाका बारेमा जानकारी गराउनका लागि म दौडिएको हुँ। मैले कृषिका विज्ञहरूसँग माटोको वर्तमान अवस्थाको बारेमा कुरा गरेको एक रात त सुत्नै सकिनँ।

माटोको चिन्ताले निदाउनै दिएन। काठमाडौंका सडक र गल्लीमा पर्चा बाँडेर कसले त्यो पर्चा लिएर अध्ययन गरिदिने? अलि फरक केही गरेमा मात्रै माटोको अवस्थाका बारेमा सबैले थाहा पाउलान् अनि हाम्रो देशको नीतिगत तहमा रहेकाहरूको पनि ध्यान तानिएला भन्ने लाग्यो।

तपाईं त राजनीतिक र व्यावसायिक मान्छे, एकाएक माटोको चिन्तामा कसरी पुग्नुभयो?

म राजनीति त्यागेर स्वतन्त्र बनिसकेको छु। व्यवसाय पनि त्यागेर माटो जोगाउने कुरामा प्रतिबद्ध भएको छु। माटोमा जैविक पदार्थको मात्रा तीन प्रतिशतभन्दा तल झर्नु भनेको मरुभूमिकरणको बाटो रहेछ।

हाम्रो देशको प्रतिशत करिब दुई प्रतिशत रहेछ। यसको अर्थ हाम्रो देशको माटो पनि अब उत्पादन दिन नसक्ने अवस्थामा जाँदै रहेछ।

माटोले उत्पादन दिए पो खाउँला, खाएर बाँचौँला, बाँचेर राजनीति गरौँला, व्यवसाय गरौँला तर माटै नरहे न बाँचिएला न राजनीति गरिएला। वातावरणसँगको संघर्ष नमिलेका कारण डाइनोसर पृथ्वीबाट लोप भए जस्तै खान नपाएर मान्छे पनि लोप हुन सक्ने खतरा मैले देखेँ। विश्वमा सीमा र शक्तिका लागि होइन, खानाका लागि गृहयुद्ध हुने देखेँ। माटो नजोगिए हामी जोगिन सक्दैनौँ भन्ने चिन्ताका कारण म देश दौडाहामा निस्किएँ।

दौडिनुको सट्टा बरु नीतिगत तहमा यसबारे दबाब दिन पाए छिटो हुन्थ्यो कि?

नेपालको नीतिगत तहमा बसेका मान्छेलाई माटोको उत्पादकत्व घटेको, जैविक तत्त्वमा ह्रास आउँदै गएको, किटनाशक औषधिले माटो मात्रै होइन जीवलाई पनि हानि गरेको कुरा थाहा नभएको कहाँ हो र? म दौडिएर माटोको अवस्था पत्ता लागेको होइन।

नीतिगत तहमा बसेकाहरूलाई दुई-चार जनाको कुराले के प्रभाव पारेको छ र? अब आमनागरिकले यसमा दबाब दिनुपर्छ तर त्यसअघि आमनागरिकले हाम्रो माटोको अवस्थाका बारेमा थाहा पाउनुपर्छ।

त्यही थाहा होस् भनेर म दौडिएको हुँ। म माटोको नाममा दौडिएका कारण पो मिडियामा यस बारेका कुरा आएका छन्। मैले गर्न खोजेको यही हो।

नीतिगत रूपमा निर्णय भएर माटो जोगिएला? यसमा त कृषकहरू पनि भूमिका होला नि?

सबैभन्दा पहिलो कुरा नीति, नियम, कानुन लगायतका राज्यले तोकिदिने कुरा महत्त्वपूर्ण हुन्छन्। विदेशमा प्रतिबन्धित विषादी नेपालमा लन्च गरिँदै छन्। विषादीको प्रयोग नगर्न, प्राङ्गारिक तरिकाले उत्पादन बढाउन, माटोको रक्षाका लागि कृषकहरूलाई विज्ञबाट प्रशिक्षण दिन त राज्यले केही गर्नुपर्छ नि।

एकजनाले जोगाएर होइन विश्वका हरेक नागरिकले माटो जोगाएमा मात्रै यसको उत्पादन क्षमता कायम रहने हो। अनुत्पादक क्षेत्रमा दिएको बजेटलाई प्राङ्गारिक मलको प्रयोग प्रोत्साहनमा लगाउने राज्यको नीति हुनुपर्छ। कृषकहरूको भूमिका झनै महत्त्वपूर्ण छ। नेपालका कृषि विज्ञलाई माटोको अवस्थाको बारेमा थाहा छ तर कृषकलाई थाहै छैन।

जो मान्छे माटोमा खेल्ने हो‚  उसलाई माटाको बारेमा धेरै थाहा हुनुपर्छ। उत्पादन गर्ने मान्छेले मेरो उत्पादनको अवस्था कता जाँदै छ भनेर खोजी गर्ने र थाहा पाएका कुरालाई कार्यान्वयन गर्नुपर्छ।

कृषि विज्ञ र अध्ययनबाट तपाईँले थाहा पाएको खास कुरा के हो त? जसले तपाईँलाई एक रात निदाउन दिएन?

संयुक्त राष्ट्रसंघको मरुभूमिकरण र खडेरीविरुद्ध संघर्ष अधिवेशन संस्थाको तथ्यांकअनुसार हरेक सेकेन्ड एक एकड अर्थात् करिब आठ रोपनी माटो मरुभूमि बनिरहेको रहेछ।​ एएलडी इनिसिएटिभ संस्थाको तथ्यांकमा विश्वको ५२ प्रतिशत खेतीयोग्य माटो विनाश भइसकेको उल्लेख छ।

माटोमा परिरहेको प्रतिकूल प्रभावका कारण माटोको उर्वरा शक्तिमा आएको ह्रासले भोकमरीको समस्या ल्याउन सक्ने चिन्तामा विश्व नै परिरहेको छ।

विश्व खाद्य तथा कृषि संगठनको प्रतिवेदनमा संसारभरको माटोले अबको ६० वर्षसम्म मात्र बाली उब्जाउन सक्छ भनिएका रहेछ।

अबको २० वर्षमा विश्वको जनसंख्या ९ अर्ब ३ करोड पुग्ने प्रक्षेपण गरिएको र माटो यही गतिमा विनाश हुँदै जाने हो भने खेती गर्न सक्ने क्षमता ४० प्रतिशतले घट्ने अनुमान गरिएको उल्लेख छ।

त्यसको नतिजा भनेको त भोकमरी, शरणार्थी, युद्ध, अपराध, लुटपाट नै त हुन्। जनसंख्या वृद्धि तथा भोजन र पानीको अभावले सन् २०५० सम्म १ अर्बभन्दा बढी मानिस अन्य क्षेत्र र देशहरूमा बसाइँ सर्न बाध्य हुने प्रतिवेदन रहेछन्।

माटोको अहिलेको अवस्थाको बारेमा तपाईँले के थाहा पाउनुभयो?

कृषियोग्य माटो उर्वर हुनका लागि त्यसमा जैविक मात्रा न्यूनतम तीनदेखि ६ प्रतिशत हुनुपर्नेमा विश्वभरि औसतमा ती प्रतिशतभन्दा थोरै देखिएको भन्ने मैले थाहा पाएको छ। नेपालको माटोमा जैविक मात्रा दुई प्रतिशतभन्दा मुनि देखिएको छ भने छिमेकी देश भारतको माटोमा शून्य दशमलव पाँच प्रतिशतभन्दा तल रहेछ।

जैविक तत्त्व कम भएका माटोमा उत्पादित खाद्यान्नमा पौष्टिक तत्त्व पनि कमजोर हुने कृषि विज्ञले नै बताउनुभयो। जैविक पदार्थलाई ३–६ प्रतिशतसम्म फर्काउन जमिनलाई वनस्पतिको छहारी दिनुका साथै रूख–बिरुवाहरूको पातपतिङ्गर र जनावरहरूको मलबाट माटोको गुणस्तर बढाउनुपर्ने रहेछ।

माटोको अवस्था पहिले होइन पछिल्ला करिब डेढ सय वर्षमा बिग्रिएको रहेछ। छिटै फलाऔँ र छिटै खाऊँ भनेर मनपरी तरिकाले प्रयोग गरिने रासायनिक मल, विषादी, अन्य रासायनिक पदार्थ, जमिनलाई आराम गर्न नदिई लगातार खेती आदि कारणले यस्तो भएको हो।

सचेतनाकै लागि कहिलेसम्म दौडिने? अनि राज्यले तपाईँहरूको अभियानमा साथ दिने सम्भावना देख्नुहुन्छ?

अहिले पहिलो चरणमा दौडिएर ध्यान तानौँ भनेर स्वयंसेवक अभियन्ताहरूबीच सल्लाह भएर दौडिएको हुँ। ३५ सय किलोमिटर पूरा गर्दासम्म माटोको बारेमा धेरैको ध्यान तानिएला।

बिस्तारै कृषकहरू पनि यसमा जोडिनुहुन्छ। माटोमा केही फलेन भने हामी भोको भइन्छ भन्ने कुरा त कम्तीमा सबैलाई थाहा छ नि।

मानवीय क्रियाकलापले प्राकृतिक अवस्था के भएको छ भन्ने हामी सबैलाई थाहा छ। अब प्रकृतिलाई रेटेर हामीले पेट भर्ने होइन कि, प्रकृतिको साथी बनेर प्रकृतिमैत्री व्यवहार र वातावरण बन्नुपर्छ। राज्यको निकायमा रहेका व्यक्तिहरू यी सबै अवस्थाको बारेमा जानकार हुनुहुन्छ, निर्णायक निकायमा रहेका मान्छेले यो अवस्थालाई हेरेर नीति बनाउनुपर्छ।

राजनीति, धर्म, भाषा, समूह, जातका नाममा मर्न तयार हुने अनि हामीलाई बचाएर राखेको भगवान् यो प्रकृति, यो माटोका लागि केही नगर्ने?

स्वयंसेवी रूपमा दौडिएको भन्नुभयो तर वास बस्नुपर्ला, खानुपर्ला त्यसमा लागेको खर्च कहाँबाट आउँछ?

यो अभियानमा जोडिएका साथीहरूले आफ्नै पकेटको पैसा खर्च गर्दै सँगसँगै हिँडिरहेका छौँ। माटो बचे पो पैसा आउला, माटै नरहे पैसाको के काम। सयौँ रोपनी जमिन त होला उत्पादन नदिए के काम? २० वटा घर होलान्, भोक लागेका वेला ती घर खाएर त भएन नि! यही सोचेर अभियन्ताहरूले खर्च गरेका छौँ, सरकारी वा गैरसरकारी कुनै पनि संस्था हामीसँग छैनन्।

बरु पछिल्लो समयमा यो कुरा ठिक हो भनेर कोहीले वास बसेको तिरिदिने, कोहीले खाएको तिरिदिने गर्न थाल्नुभएको छ तर हामीलाई सहयोग गर्नुहोस् भनेर कहीँ भन्दैनौँ।

पोखराको कार्यक्रममा सहभागी हुनुभएका मेयरले ल ५० हजार मेरो सहयोग भन्नुभयो, भोजपुरको बक्सिङ गुरुले खाएर बसेको तिरिदिनुभयो। यसरी नै चलेको छ।

 (‘माटो जोगाऔँ अभियान’ विस्तारै विश्वभर चलिरहेको छ। भारतका सद्गुरु भनिने जग्गी वासुदेवले पनि यही अभियान अन्तर्गत लन्डनबाट मोटरसाइकलमा १ सय दिनमा ३० हजार किलोमिटरको यात्रा पूरा गरेका छन्। कास्कीको पोखराका विद्यालय र विश्वविद्यालय ३० वटा शैक्षिक संस्थाले माटो जोगाउन सरकारी नीति निर्माण गर्न अनुरोध गर्दै प्रधानमन्त्री र राष्ट्रपतिलाई एक हजारभन्दा धेरै चिठी लेखिरहेका छन्। नेपालका काठमाडौँ, चितवन, वीरगञ्ज, हेटौँडा, इटहरी, धरान, कैलाली, फिदिम तथा अरू ठाउँमा पनि यही अभियान चलिरहेका छन्।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.