|

दाङ : प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गथामुगः (गठेमङ्गल) अर्थात् घण्टाकर्ण पर्व मंगलबार तुलसीपुर नेवार समाजले तुलसीपुरको वीरेन्द्रचोकमा मनाएको छ। चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी नेवार समुदायले मनाउने गर्छन्।

परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन रहेको नेवार समाज तुलसीपुरका अध्यक्ष पुष्कर श्रेष्ठले बताए।

उनका अनुसार छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको पाइन्छ।बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन रहेको उनले बताए।

गोपाल वंशावलीअनुसार गठेमङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने तथा नवविवाहित दम्पतीले दर्शन गर्नुपर्ने चलन छ। यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य तथा आन्तरिक बाधा एवं शत्रुबाट रक्षा हुने उनको भनाइ छ। आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घन्टाकर्णको पूजा आराधनालाई देशैभरका नेवार समुदायले महत्वपूर्ण मान्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.