विज्ञ भन्छन्, फितलो नीतिले समस्या निम्त्याउँछ

|

काठमाडौं :  सरकारले सन् २०२२ को नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबलका लागि ‘अकेजनल’ नेपाली कामदार पठाउने भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार सरकारको माग अनुसार नेपाली कामदार पठाउन लागेकाे जनाएको छ। 

कतारमा रोजगारीका लागि जाने नेपाली कामदारको समयावधि तीनदेखि ६ महिना रहने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एव‌ं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए। कतार सरकारले कामदार माग गरेकाले नेपाली कामदारलाई श्रम स्वीकृति दिएर पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ। 

विश्वकपका लागि नेपाली श्रमिकको योगदानको मूल्यांकन गर्दै पुन: छोटो  अवधिका लागि नेपाली कामदार माग भएको हो। कतारले विश्वकपका लागि निर्माण भएको संरचनामा १७ प्रतिशत नेपाली कामदारले निर्माण गरेको तथ्यांक सरकारलाई दिएको छ। 

२००५ मा कतारसँग भएको श्रम सम्झौतामा छोटो अवधिका लागि कामदार पठाउने विषय कतै पनि उल्लेख छैन। कतार र नेपालबीच २००५ मा भएको श्रम सम्झौता नवीकरण गर्न पटक–पटक छलफल भए पनि कतारी पक्षले चासो नदिएपछि गत कात्तिकमा हुने भनिएको सम्झौता नवीकरण  पनि रोकिएको थियो, जुन हालसम्म  हुन सकेको छैन। तर,सरकारले नेपाली कामदारलाई वैकल्पिक बाटो खोजी पठाउने तयारी गरेको जानकार बताउँछन्। 

कतारले अनिवार्य रोजगारी भन्दा पनि विश्वकपका लागि कामदार मागे गरेको र सोही मागकै आधारमा मौसमी कामदार पठाउने अनुमति दिएको भुसालले बताए।  वैदेशिक रोजगार ऐन २०६४ ले यसरी छोटो अवधिका लागि नेपाली कामदार पठाउने विषय कतै उल्लेख गरेको छैन। उपसचिव भुसालले भने,‘वैदेशिक रोजगार ऐनले दुई वर्ष या सो भन्दा बढी समयावधिका लागि पठाउने उल्लेख गरेको छ। छोटो समयमा लागि कामदार पठाउने उल्लेख गरेको छैन। तर,सो ऐनले बाधा नै गर्ने अवस्था पनि  छैन।’ 

यतिवेला मौसमी कामदार बेलायत,जापान लगायत मुलुकमा कृषिमा काम गर्न गइरहेका छन्। उनले भने,‘यतिवेला कतारमा मौसमी श्रमिक पठाउने भन्ने विषय चर्चामा छ। तर,हामीले कतार पठाउन लागेका श्रमिक मौसमी होइनन्। अकेजनल हो, छोटो अवधिका लागि।’   

कतिले नेपालीले पाउँछन् विश्वकपमा रोजगारी 

साउदीबाट श्रमिक माग भएको जानकारी प्राप्त हुनासाथ  कतारमा रहेको नेपाली दूतावासलाई रोजगारदाता कम्पनीले  जानकारी गराएका थिए। सोही आधारमा  दूतावासले श्रम मन्त्रालयलाई पत्राचार गरेको थियो। दूतावासको जानकारी आएसँगै सरकारले नेपाली कामदार पठाउने तयारी गरेको हो। 

नेपालबाट कतिको संख्यामा कामदार लैजाने भन्ने यकिन नभएको मन्त्रालयले जनाएको छ। विश्वकपका लागि १२ हजार कामदारको माग आउने अनुमान रहेको छ। ‘कति कामदार पठाउने,सेवा सुविधा कति पाउने भन्ने कुरा भने अहिले नै निश्चित भएको छैन’, उनले भने, ‘सुरक्षा,सरसफाई व्यवस्थापन लगायत क्षेत्रमा कामदार माग गरेको हो।’ 

कसरी पठाउने कामदार? 

कतारमा हुन लागेको विश्वका लागि पठाउने कामदारलाई श्रम स्वीकृति जारी गरेर पठाउने तयारी रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सरकारले शून्य लागतमा श्रमिक लैजान सम्बन्धित कम्पनीलाई अनुमति दिने  निर्णय गरेको उनको भनाइ छ। विश्वकपका लागि म्यानपावर कम्पनी बाहेक व्यक्तिगत श्रम स्वीकृति लिएर पनि जान पाउने मन्त्रालयले जनाएको छ। 

कतार जानका लागि पैसा नतिर्न मन्त्रालयको आग्रह 

कामदारको दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने श्रम मन्त्रालयले जनाएको छ।  रोजगारीको प्रलोभन देखाई म्यानपावर एजेण्टमार्फत ठगीका घटना हुन्छ। तर, कतारमा हाल पठाउने कामदारलाई कुनै पनि शुल्क नलाग्ने भएकाले पैसा नतिर्न मन्त्रालयले आग्रह गरेको छ। म्यानपावर कम्पनीले श्रमिक पठाउने हुँदा लागत खर्च महँगो लिन सक्ने श्रम मन्त्रालयका कर्मचारी बताउँछन्।

यसो भन्छन् ,जानकार 

कतारका रोजगारदाताले विश्वकपका लागि नेपाली कामदार लैजान माग गर्नु राम्रो पक्ष भएको रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्। सरकारले विश्वकपमा जाने कामदारको सुरक्षा र रोजगारीको ग्यारेन्टी जस्ता विषयमा प्रस्ट हुनु पर्ने  उनको भनाइ छ। ‘रोजगारीका लागि दुई वर्षको श्रम स्वीकृति लिएर गएका युवा पनि समस्यामा परेको अवस्थामा ४/५ महिनाका लागि  जाने कामदारको सुरक्षा के हुने भन्ने मुख्य विषय हो’, उनी भन्छन्। 

रोजगारीका लागि कामदार पठाउन पाइयो भन्दैमा श्रम सम्झौता र वैदेशिक रोजगार ऐन बाहिर गएर निर्णय गर्दा भविष्यमा समस्या हुन सक्ने उनको भनाइ छ। कामदारको सुरक्षाका लागि सरकारले श्रम सम्झौता र रोजगारदाता देशसँग भएका द्विपक्षीय सहमति मुख्य विषय हो। श्रमिक आपूर्ति गर्ने देश नै कामदारका पक्षमा बलियो हुनु पर्ने उनको भनाइ छ।  फितलो श्रम नीति मार्फत कामदार पठाउँदा रोजगारदाता र श्रमिक दुवैलाई समस्या पर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.