|

सुर्खेत : सडक खन्ने क्रममा निस्किएको माटो र ढु‌ंगा बगेर पहिरोको रूप लिएपछि रुकुम पश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन्।

जिल्लाको आठबीसकोट नगरपालिकाका दुईवटा वडाका ३९ घर पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ।  

नगरपालिका– ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार मंगलबार दिनभर पहिरो हटाउन र थप क्षति हुन नदिन प्रयास गरेर जोखिममा परेका ३९ वटै घर खाली गरिएको छ। जोखिममा परेका सबै घरपरिवारका पशुचौपाया र अन्नपात जोगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष बुढाले जानकारी दिए।

राडिज्युला–दाँजे–खदी–बारिङे सडक खण्डबाट निस्केको माटो र ढु‌ंगाका कारण राडिज्युला, गारा, सिम्तारा बस्तीको सिँचाइ नहर भत्किएकाले गाउँमाथिबाट पहिरो झरेको हो। पहिरोका कारण सोही वडामा रहेका चारवटा पानीघट्ट र बाटोमा रहेका घुम्ती पसलसमेत पुरिएका छन्।

गाउँमा पसेको पहिरोका कारण कतिपय कच्ची घर भत्किएका छन् भने कतिपय भत्किने अवस्थामा पुगेको स्थानीयवासीले बताएका छन्। भत्किएका घरको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन। पहिरोले वडा नम्बर ७ का धान, मकै खेतीबाली सबै बगाइदिएको छ भने वडा नम्बर ८ को स्यालाका मकैबारी पहिरोले ढाकेको छ।

नगरप्रमुख रवि केसीका अनुसार स्थानीय खड्क बुढा, महेन्द्रकुमार बोहरा, भीमबहादुर बुढा र प्रबिर बुढाको मकैबारीमा पूर्ण रूपले क्षति पुगेको छ। त्यसैगरी चार जना स्थानीयवासीका घरको छेवैमा पहिरो बग्दा घर कतिबेला पुर्ने हो भन्ने डर भएको उनले बताए।

‘घरमा बस्न पनि डर भयो। राति घरको माथिबाट पहिरोले पुरिदिने त्रासमा छौँ’, उनले भने, ‘त्यसैले ती परिवारलाई सुरक्षित स्थानमा रहेका आफन्तको घरमा राखेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.