|
फाइल फोटो

लुम्बिनी : लुम्बिनी प्रदेशसभामा डेढ वर्षदेखि नेतृत्वविहीन रहेका विषयगत संसदीय समितिले नेतृत्व पाएका छन्। प्रदेशसभामा रहेका ७ विषयगत संसदीय समितिमध्ये विभिन्न कारणले रिक्त रहेका ४ समितिमा आज सभापति निर्वाचित भएका छन्। 

रिक्त संसदीय समितिका सभापतिमा प्रदेशसभामा महत्वपूर्ण समिति मानिने सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पाएको छ। उक्त समितिको सभापतिमा एमालेका विष्णु पन्थी निर्वाचित भएका छन्। 

यसअघि तत्कालीन नेकपा नेतृत्वमा प्रदेश सरकार रहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट डिल्लीबहादुर चौधरी यस समितिको सभापति थिए। नेकपा नेतृत्वको सरकारपछि बनेको गठबन्धन सरकारमा उनी शहरी विकास तथा पर्यटनमन्त्री बनेपछि यो समिति नेतृत्वविहीन बन्न पुगेको हो।

यससँगै अन्य २ समितिको नेतृत्व पनि एमालेले पाएको छ। एमालेले कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल र सामाजिक विकास समितिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित भएको प्रदेशसभामा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए। 

उनले विषयगत समितिमा नेतृत्व आफूहरूले विगतदेखि नै सहमतिका आधारमा चयन गर्न राखेको प्रस्ताव सत्तापक्षले बल्ल स्वीकार गरेको बताए। 

सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेले प्रदेशसभा सदस्यबाट राजीनामा गरेर नेपाली कांग्रेसमा प्रवेश गरेपछि सो पदसमेत रिक्त रहँदै आएको थियो। प्रदेशसभाबाट राजीनामा गरेका पाण्डे केही समयमै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। 

कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव तत्कालीन नेकपा विभाजनपश्चात बनेको शङ्कर पोखरेल नेतृत्वको सरकारमा जनता समाजवादीका तर्फबाट मन्त्री बनेपछि उक्त समितिको सभापति पनि रिक्त रहेको थियो।

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाका सांसदले समितिको नेतृत्व पाएका छन्। सो दलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने तारा जिसी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा निर्वाचित भएका छन्। प्रदेशसभामा राजमोका एकजना मात्र सदस्य छन्। 

यसअघि अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने नेकपा विभाजनमा एमालेमा लागेकाले माओवादी केन्द्रले उनलाई प्रदेशसभा सदस्यबाट कारबाही गर्न सिफारिश गरेकाले सो पद रिक्त रहँदै आएको थियो। 

सार्वजनिक लेखा समितिको सदस्यमा भोजप्रसाद श्रेष्ठ, विमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज र गीता थापा रहेका छन्। 

प्रदेशसभामा ती समितिको निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रमअनुसार सबै समितिमा एकल उम्मेदवारी परेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। उनका अनुसार आज निर्वाचन कार्यसूचीमा सबै समितिमा सभापतिमा निर्विरोध चयन भएको घोषणा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.