|

काठमाडौं : विश्व बाघ दिवसका अवसरमा शुक्रबार राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा सार्वजनिक हुँदैछ।

हरेक वर्षको जुलाई २९ तारिखमा विश्वभर बाघ दिवस मनाइन्छ। यद्यपि विश्वका बाघ पाइने १३ मुलुकमा मात्र यो दिवस मनाइन्छ।

‘स्वच्छ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ नारासहित विश्व बाघ दिवस मनाइरहँदा नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ  १२ वर्षअघि राखेको लक्ष्य पूरा भएको सरकारको दाबी छ।

सरकारले सन् २०१० देखि ४–४ वर्षमा राष्ट्रिय बाघ सर्वेक्षणको रिर्पोट गर्दै आएको छ। नेपालमा २५० भन्दा बढी बाघ रहेको घोषणा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राजधानीमा आयोजना हुने समारोहमा सार्वजनिक गर्ने कार्यक्रम छ।

सन् २०१० मा बाघ पाइने देशबीच प्रतिबद्धता व्यक्त गर्दा नेपालमा १२१ वटा बाघ थिए। नेपाल विश्वमै बाघ दोब्बर बनाउने मुलुक बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ देशमाझ गरेको बाघको संख्या दोब्बर पार्ने नेपालको लक्ष्य भर्खरै सकिएको गणनाबाट पूरा भएको विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जानकारी दिए । 

चार वर्षअघि सन् २०१८ मा सार्वजनिक गरिएको गणनामा २३५ बाघ थिए।

नेपालका चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी ५ स्थानमा बाघ पाइन्छ।

सन् २०१८ को राष्ट्रिय बाघ गणनाको तथ्यांक अनुसार बर्दियामा ८७ , चितवनमा ९३ , पर्सामा १८ , शुक्लाफाँटामा १६ र बाँकेमा २१ वटा बाघ छन्। बर्दिया, बाँके , पर्सामा बाघ बढे पनि चितवनमा २७ वटा बाघ घट्दा शुक्लाफाँटामा पनि एउटा घटेको थियो।

विभागका महानिर्देशक कँडेलका अनुसार १२१ को दोब्बर २४२ भए पनि सरकारले २५० लाई दोब्बर लक्ष्य मानेको हो। उनका अनुसार सन् २०२२ को अन्तिमतीर रसियाको  सेन्टपिर्टसबर्गमै हुने बाघ पाइने मुलुकको सम्मेलका दौरान सन् २०१० को प्रतिबद्धता पेश गर्नेछन्।

सन् २०२१ को नोभेम्बर डिसेम्बरमा करिब ४ करोडको बजेटमा गणना सम्पन्न भएको उनले बताए। विभागका अधिकारी, बाघ संरक्षणमा लागेका संस्था डब्लूडब्लूएफ, जेडएसएल र एनटीएनसी लगायत संस्थाका विज्ञसहितको ६०० जनशक्तिले बाघ गणना गरेको हो। 

संख्याका हिसाबले नेपाल भन्दा बढी संख्याको बाघ रहेका भारत, रसिया, इण्डोनेसिया, र मलेसियाले भन्दा बाघको संख्या वृद्धिमा नेपालले राम्रो फड्को मारिरहेको विभागका पूर्व महानिर्देशक गोपाल प्रकाश भट्टराई बताउँछन्। ‘छिमेकी भारत, भुटान र बंगलादेशमा बाघ पाइने भए पनि नेपाल अरु देशको तुलनामा दोब्बर पार्ने अभियानमा द्रुतरूपमा अघि बढेको छ’, उनले भने।

बढ्दा पनि चुनौती 

बाघविज्ञ डा‍.चिरञ्जीवीप्रसाद पोखरेल तथ्यांकको हिसाबले बाघ बढ्नु राम्रो भए पनि चुनौती पनि उत्तिकै थपिएको बताउँछन्। बढेको संख्यालाई हामी कत्तिको थेग्न सक्छौँ ’, उनले भने, ‘यदि हामीले बासस्थान सुधार गर्न सकेनौँ भने बाघलगायत अरू वन्यजन्तुको संख्या घट्ने सम्भावना पनि उत्तिकै रहनेछ।’

सन् २०१६ को डब्लुडब्लुएफको तथ्यांक अनुसार विश्वमा रहेका तीन हजार ८९० मध्ये आधाभन्दा बढी बाघ भारतमै पाइन्छ। सन् २०१९ को तथ्यांकमा भारतमा  दुई हजार ९६७ बाघ छन्।

एसियामा नेपाल, भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, कम्बोडिया, चीन, लाओस्, म्यानमार , भियतनाम  र रसियामा बाघ पाइन्छ। उत्तर कोरियामा बाघ पाइए पनि गणना भएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.