|

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लाग्दै गर्दा आईसीयू तथा भेन्टिलेटरमा उपचार गर्नुपर्नेको संख्या पनि बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार हाल देशभर आईसीयूमा ३४ र भेन्टिलेटरमा पाँच संक्रमितको उपचार भइरहेको छ। आईसीयू र भेन्टिलेटरमा उपचार गराउनु पर्ने संक्रमित बढेको मात्र छैन, संक्रमणबाट मृत्यु समेत हुन थालेको छ।

 मन्त्रालयको विवरण अनुसार ९१ प्रतिशतले कोभिड विरुद्धको खोप लगाइसकेको अवस्थामा पनि संक्रमणबाट आईसीयुमा उपचार गराउनु पर्ने संक्रमित बढ्नुका साथै मृत्यु समेत भएको देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता तथा आपतकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख डा. समीर अधिकारी पनि संक्रमण बढ्दै गएको अवस्थामा पुन: आईसीयूमा बिरामी बढेको बताउँछन्। प्रारम्भिक विश्लेषणमा खोप नलगाएकामा  कडा लक्षण देखिएको अनुमान गरिए पनि पूर्ण रूपमा किन यस्तो भइरहेको छ भनेर खोजी गरिरहेको उनले बताए।

‘खोप कार्यक्रम भइरहरहेको र ८८ प्रतिशतले पूर्ण र ९१ प्रतिशतले एक डोज मात्रा खोप लगाइसकेको अवस्थामा पुन: आईसीयूमा उपचार गर्नुपर्ने संक्रमित बढ्दै छ’, उनले भने, ‘के कारणले यस्तो भइरहेको छ भनेर खोजी गरिरहेका छौँ।’

खोप लगाए पनि दीर्घरोगी र जेष्ठ नागरिकलाई गाह्रो 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्ट्यान फिजिसियन डा. विमल शर्मा चालिसे पछिल्ला दिनमा संक्रमण भएर कडा लक्षण देखिएर आईसीयूमा उपचार गर्नु पर्ने धेरै संक्रमित दीर्घ रोगी र ६० वर्षमाथिका भएको बताउँछन्। ‘मुटु,मिर्गौला क्यान्सरका दीर्घरोगी र ६० वर्ष माथिका नागरिकलाई यो पटक पनि श्वासप्रश्वासको समस्या र अन्य जटिल प्रकारका लक्षण देखिएको छ’,उनले भने, ‘जसले गर्दा आईसीयूमा राखेरै उपचार गर्नु पर्ने अवस्था छ।’

यस्तै दीर्घ रोग भएर कडा लक्षण देखिएकाहरूले पूर्णरूपमा कोभिडविरुद्ध खोप लगाएको भए पनि कडा लक्षण देखिएको पाइएको समेत डा. चालिसेले बताए। ‘पूर्ण मात्रामा खोप लगाए पनि दीर्घरोगी र जेष्ठ नागरिकमा केहीमा कडा लक्षण देखिएको छ’, उनले भने, ‘अहिले हाम्रोमा आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेका केही संक्रमितमा खोप लगाएको भए पनि कडा लक्षण देखिएको छ भने केही खोप नलगाएका पनि छन्।’

हाल टेकु अस्पतालमा आईसीयूमा पाँच र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.