|

काठमाडौं : नेपालमा बाघको संख्या वृद्धि हुँदै ३५५  पुगेको छ। यससँगै सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने १३ मुलुकबीचको सम्मेलनमा नेपालले २०२२ सम्म दोब्बर पार्न राखेको लक्ष्य पूरा भएको छ।

त्यतिबेला नेपालमा १२१ बाघ थिए। सन् २०१८ को पछिल्लो गणनामा २३५ बाघ रहेका थिए। सन् २०१३ मा १९८ थिए। बाघ पाइने नेपालका पाँच राष्ट्रिय निकुञ्जमा सन् २०१० देखि तुलना गर्दा पर्सा राष्ट्रिय निकुञ्जमा सबैभन्दा द्रुतगतिमा बाघको संख्या बढेको पाइएको छ। यहाँ  सन् २०१० मा चार बाघ रहेकोमा सन् २०१३ मा सातपगेको थियो। सन् २०१८ मा बढेर १८ भएको थियो। सन् २०२२ को गणनामा त यहाँ दोब्बर वृद्धि हुँदै ४१ पुगेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि अघिल्लो गणनाको तुलनामा दोब्बर नै बढेको छ। अघिल्लो पटक १६ बाघ रहेको यहाँ अहिले ३६ पुगेको छ। २०१० मा १० बाघ पाइएको तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सन् २०१३ मा १७ बाघ पाइएको थियो। पछि २०१८ मा घटेर १६ पुगेको थियो। बाँकेमा अघिल्लो गणनाको तुलनामा थोरै मात्र अर्थात् चार बाघ वृद्धि भएको छ। यहाँ बाघको संख्या २५ पुगेको छ।

चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो २०१८ को गणनामा ९३ मा झरेको थियो। अहिले भने १२८ पुगेको छ। २०१८ को गणनामा ८७ बाघ रहेको बर्दियामा हालको गणनामा १२५ पुगेको छ। 

संख्या सार्वजनिक शुक्रबार गरिएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको दिगो संरक्षण गर्न संरक्षित क्षेत्र बाहिरका जैविक मार्गको एकीकृत संरक्षण तथा व्यवस्थापन गर्न आवश्यक रहेको बताए। उनले बाघको आहारा प्रजातिको उपलब्धता वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले प्रधानमन्त्री बाघ संरक्षण तथा जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्न आन्तरिक तथा बाह्य स्रोत परिचालन गरी वार्षिक एक अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गरे।

नेपालमा विभागका अधिकारी, बाघ संरक्षणमा लागिपरेका संस्था डब्लुडब्लुएफ, जेडएसएल, एनटीएनसी लगायतका संस्थाका विज्ञसहितको ६०० जनाले बाघ गणना गरेका हुन् । 

बाघको संख्या 

राष्ट्रिय निकुञ्ज      सन् २००९    सन् २०१३      सन्  २०१८      सन् २०२२
चितवन                      ९१                १२०               ९३                   १२८
बर्दिया                       ३७                 ५०               ८७                   १२५
शुक्लाफाँटा                १०                  १७               १६                    ३६
पर्सा                           ४                   ७                १८                    ४१
बाँके                           ०                  ४                 २१                    २५
जम्मा                       १२१                १९८            २३५                   ३५५

१३ देशमा बाघ 

विश्वका १३ देशमा मात्र बाघ पाइने विज्ञको अनुसनधानले देखाएको छ। एसियामा नेपाल, भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, कम्बोडिया, चीन, लाओस्, म्यानमार, भियतनाम  र रसियामा  बाघ पाइन्छ। विश्वमा सबैभन्दा धेरै भारतमा बाघ पाइन्छ।उत्तर कोरियामा बाघ पाइए पनि त्यहाँ गणना भएको छैन। १०० अघि एक लाखको हाराहारीमा रहेको बाघ मानवीय क्रियाकलापका कारण घटेर तनीन हजार ५०० सयको  हाराहारीमा पुगेको विज्ञको भनाइ छ। बाघका ९ प्रजातिमध्ये बाली, क्यासपियन र जाभान लोप भइसकेका छन्।

बाघको स्वभाव 

बाघ एक्लै बस्न रुचाउने जनावर हो। विचरणका लागि भाले बाघले ५२ देखि ६२ वर्ग किमी जति र पोथीले २६ देखि ३० वर्ग किमी क्षेत्र ओगट्छन्। आफ्नो क्षेत्रको सीमाकंन यिनीहरूले रुखका बोक्रा वा नंग्राले कोतरेर वा जमिनमा पिसाब फेरेर र गर्जेर  गरेका हुन्छन्। प्रजननको समयमा बाहेक बाघ दुईवटा सँगै हिँडेको विरलै देख्न पाइन्छ।

बाघको सरदर आयु १४ देखि १६ वर्ष हुन्छ।  भाले ३.५ देखि ६ र पोथी चार वर्षमा वयस्क हुन्छ। गर्भधारण गरेको १०३ देखि १०७ दिनमा पोथीले एक बेतमा २ देखि ४ वटा डमरु जन्माउँछन्। डमरु एकदेखि डेढ वर्षसम्म आमासँग बस्नछन्। यसै वेला आमासँग उनीहरूले शिकार समात्न सिक्छन्।

रूपमा मृग प्रजातिका चित्तल, जरायो, रतुवा, बाह्र सिंगे, बदेल, दुम्सी आदि बाघका आहार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.