|

अहिले सिद्धार्थ कला दीर्घामा वरिष्ठ कलाकार किरण मानन्धरको एकल कला प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीको आयोजना एवं उद्घाटन सिद्धार्थ ग्यालरीकी सञ्चालिका संगीता थापाले गरेकी थिइन्। किरण मानन्धरले यसपटकको प्रदर्शनीमा सधैँभन्दा फरक किसिमका चित्रहरू जनमानसबीच ल्याएका छन्। फरक यस अर्थमा कि सधै थोरै अस्पष्ट आकारमा खेल्ने उनी अहिले क्यानभासमा प्रष्ट भएर उदाएका छन्। उनकै भनाइलाई सापटी लिएर भन्ने हो भने परिवर्तन र विकास मानवीय चेतनाको नैसर्गिक आवश्यकता हो।

जीवन स्वतः परिवर्तनशील छ। तसर्थ कलाकारका इच्छा, आकांक्षा र स्वाद पनि परिवर्तन हुन्छन्। कलाका विषय संरचना परिवर्तन हुँदै जाँदा कलाक्षेत्रमा नौलोपन र मान्यताको वीजारोपण हुन्छ र भएको इतिहास छ। धर्म, संस्कृति र ऐतिहासिक परम्परा हाम्रो मुहान हो। पूर्वीय दर्शन र मान्यताबाट कुनै पनि नेपाली उम्कन सक्दैनन् र उम्कनु पनि हुँदैन। त्यसैले पनि किरणका नयाँ क्यानभासहरूले हाम्रो धार्मिक विश्वास र मान्यता बोलेको छ। जसलाई उनले समर्पण शीर्षकको नामले सिंगारेका छन्।

प्रदर्शनीमा सर्वसाधारणले प्रष्ट बुझ्न सक्ने शिवपार्वतीको प्रेमिल कथा, देवीको उग्र रूप, भैरवको मोहक आकार र कृष्णको लीला देख्न सकिन्छ। यस पटकका क्यानभासमा यिनै धार्मिक एवं आध्यात्मिक विषयवस्तु बनेर छाएका उनका प्रभाववादी रंगप्रभावले दर्शकको मन खिच्न सफल भएको देखिन्छ। किरण मानन्धर आधुनिक नेपाली कला जगतका चर्चित कलाकर्मीको नाम हो।

विश्वप्रसिद्ध कलाकार पाब्लो पिकासोले पाए जस्तै चर्चा नेपालमा किरणले पाइरहेका छन्। सन १९५७ मा काठमाडौँमा जन्मेका मानन्धर नेपाली कला फाँटमा सन् १९७२ को सामूहिक कलाप्रदर्शनीदेखि सार्वजनिक रूपमा उदाएका हुन्। १९८७ मा बनारस हिन्दु विश्वविद्यालयबाट कलामा औपचारिक स्नातकोत्तर तह पूरा गरी नेपाल फर्केपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।

नेपालमा किरण मानन्धर कला सिर्जनामा कहिल्यै नथाक्ने ऊर्जाशील व्यक्तित्व र कलाको संस्थागत विकासमा रुचि लिने पात्रका रूपमा चिनिन्छन्। विगतमा युवा नेतृत्वकारी भूमिकामा कलाजगत्‌ले उनलाई स्वीकारेको थियो। ललितकला प्रज्ञाप्रतिष्ठानको स्थापनाको सन्दर्भमा उनको सक्रियता महत्त्वपूर्ण रहेको सन्दर्भलाई यहाँ भुल्न सकिन्न।

किरणका चित्रहरू विशेषतः रङ प्रधान हुन्छन्। उनको हरेक चित्रमा रङको कमी महसुस हुँदैन। क्यानभासमा पोखिएको रङको सामञ्जस्य, टुक्रिएका गठिला रेखाहरू बीचको उज्याला पत्रेदार रङ र तिनीहरूको संयोजनमा सिर्जित चित्रहरू ज्यादै मोहित लाग्छन्।

चार दशकभन्दा लामाे समयदेखि अविरल कलामा लागिरहेका मानन्धरलाई चित्र बनाउँदा योजना बनाइरहनु वा घोरिइरहनु पर्दैन। उनी मनमा उठ्ने विचारको भेललाई पर्खी नबस्ने कलाकार हुन्। मनमा उफान उठ्ने बित्तिकै उनको ब्रसले क्यानभासमा पोत्न थाल्छ र रेखा तथा रङको समिश्रणमा क्यानभासले पूर्णता पाउँछ।

समय समयमा परिवर्तित हुने विषयवस्तुका सन्दर्भलाई सहज र सरल किसिमले अभिव्यक्त गर्ने उनको सिर्जनात्मक खुबीले नेपाली परम्परागत कला मण्डलाको स्वरूपसँग तादात्म्य गाँसेको वा मण्डला प्रेम रचेको भेटिन्छ भने कहीँकतै मुगल कलाको मान्यता र संस्कृतिलाई पनि अपत्यारिलो पारामा छुने गरेको देखिन्छ।

योपटकको क्यानभासमा भने धार्मिक मान्यताका देवदेवीलाई उनको मनले मिठासपूर्ण रूपमा उठाएको छ। विषयवस्तुका सन्दर्भमा किरण स्वतन्त्र विचरण गर्ने स्वच्छन्दवादी कलाकारमा पर्छन्। आजसम्मका उनका कला हेरेर मूल्याङ्कन गर्ने हो भने उनको मनलाई अन्तरघुलित बहिर्मुखी र कलालाई अर्धअमूर्त प्रभाववादी भन्न सकिन्छ।

खासमा क्यानभासमा भाँचिएका अर्ध आकार रेखाहरू, पूर्वीय धर्म, ईश्वर र दर्शनका स्वैरकल्पना, परिस्थितिजन्य घटनाक्रम तथा कला आन्दोलनका प्रतिविम्बहरू किरणका क्यानभासमा पटाक्षेप हुने विषयवस्तुमध्ये पर्छन्। यद्यपि उनका क्यानभासहरू पूर्णरूपमा विषय प्रधान मात्रै चाहिँ होइनन्। गणितीय भाषामा भन्ने हो भने उनको क्यानभासको सम्पूर्ण जोडको प्रतिफल रङ नै हो। मूल रूपमा रङको सन्तुलन र रङको मिठास, रङ ‘हार्मोनी’ र रङको गति, रङमा दूरान्तरभेद र क्यानभासको शिरानबाट शुरु भएको रङ क्यानभासको पुछारसम्म पर्नु भन्ने मान्यतालाई आत्मसात गर्दै किरणका हरेक चित्र पूरा हुने गरेको पाइन्छ।

विद्युतीय सृजनात्मक गति यथेष्ट देखिएका र कलावादको पछि नलाग्ने मानन्धरको कला विशेषता भन्नु नै हृदयमा उफान वा हुटहुटी बनेर बसेको रङविहीन अमूर्त व्यग्रतालाई क्यानभासमा रङ्गीन भएर पोख्नु हो। रातो, नीलो, खैरो, हरियो, पहेँलो आदि रङहरूबीचमा द्वन्द्वात्मक मिठास खोज्नु हो। उनका चित्रहरूमा कलामा परेको प्रभावको सन्दर्भमा प्रश्न उठाउँदा उनको उत्तर सरल हुने गरेको छ। उनी भन्छन्, ‘कलामा प्रभाव पर्नु स्वाभाविक हो।’

वास्तवमा प्रभाव भनेको स्वाभाविक प्रेरणादायी प्रक्रिया हो। प्रभाव र प्रेरणाको निकटताको सन्दर्भ विश्वकलाको इतिहासमा पर्याप्त रहेको भेट्न सकिन्छ। विश्व कलाको इतिहास हेर्ने हो भने प्रभावकै बाटोबाट सङ्घर्षमय इच्छा शक्तिले क्रमिकरूपमा वादहरूको जन्म गराएको देखिन्छ। त्यसैले प्रभाव नपरी कोही पनि कलाकार बन्न सक्दैनन्।

कसै न कसैलाई कसै न कसैको प्रभाव परेकै हुन्छ। कान्दस्कीलाई भेनगगको प्रभाव परे जस्तो, पल गउगिनलाई १८७७ मा प्रभाववादी चित्रकार पिसासोको कलाकृतिले प्रभाव पारेजस्तो, सेजानको कला सम्बन्धी धारणा र चित्रले पिकासो प्रभावित भएजस्तै हरेक कालखण्डमा विकसित कलावादका पछाडि प्रत्येक अघिल्ला वादको प्रभाव रहेको हुन्छ।

किरण मानन्धरको चित्रशैलीका पछाडि पनि विश्वका कलाकारको प्रभाव जोडिएको छ। उनको चित्रशैलीलाई दृष्टिगोचर गर्ने हो भने के देखिन्छ भने उनको शैलीले विलियम डि कनिङको कामको शैलीसँग सम्बन्ध गाँसेको पाइन्छ। अर्थात् किरणका चित्रहरूलाई कनिङको चित्रशैलीले प्रभाव पारेको छ। यद्यपि उनका चित्रमा कतै पिकासो देखिन्छन् त कतै दादावादको झलक त कतै कान्दस्कीको रङ्गीन अमूर्तता। किनकि उनलाई मन पर्ने कलाकार पनि यिनीहरू नै हुन्।

कलावादमा मात्र सीमित, यथास्थितिवादी र जडसूत्रीय हुन नचाहने किरणका चित्र विश्वप्रसिद्ध कलाकारका चित्रबाट प्रभावित रहेको भनिए पनि विश्वमा छरिएर रहेका उनका प्रत्येक चित्रहरूमा उनको आफ्नै मौलिकता छ जसलाई किरण शैली भन्न सकिन्छ।

राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय कला पुरस्कार, प्रबल गोर्खा दक्षिणबाहु, वीरेन्द्र ऐश्वर्य सेवा पदक लगायत राष्ट्रिय र अन्तरराष्ट्रिय (विशेष फ्रान्सबाट) जगत्‌बाट थुप्रै साना ठूला कला पुरस्कार एवं सम्मानले सम्मानित किरण कहिल्यै नथाक्ने कलाकार हुन्। राष्ट्रिय र अन्तरराष्ट्रिय जगत्‌मा उनका अनगिन्ती एकल र सामूहिक कला प्रदर्शनी भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.