|

घनश्याम कोइराला

गत असार २९ गते नेपाल र नेपाली भाषाभाषी रहेका नेपाल बाहिरका भूभागमा पनि विभिन्न तरिकाले आदिकवि भानुभक्तको स्मरण गर्दै भानुजयन्ती मनाइएको छ। शालिक भएका ठाउँमा माल्यार्पण गरेर मनाइयो। कतिपयले उनको स्मरण गर्दै दौरासुरुवाल र नेपाली बिर्के टोपी लगाएर मनाए।

कतै भानुभक्तले लेखेका रामायणका श्लोकहरू उच्चारण गरेर मनाइएको छ। नेपाली साहित्यका अनुरागीहरूले भानुभक्तप्रति भक्तिभाव प्रकट गर्दै जय जयकार गरे। समालोचकहरूले छिद्रान्वेषण गरे भने कतिपयले खिसीट्युरीसम्म गरे। कतिपय बुद्धिजीवीले अप्रासङ्गिक टिप्पणी समेत गरे।

स्कुलका साना विद्यार्थीहरूले आफ्ना रचना वाचन गरे पनि अनभिज्ञता र अलमलमै गरे। युवा उमेरका धेरैले उहिलेका कुरा खुइले भन्ने कुरा गरे। कसको के कुरा गर्नु र हिजोआज नेपाली संस्कृतिमा चर परेर होला विदेशी लेखक साहित्यकारको उद्धरण नगरी नसक्नेहरूले पनि भानुभक्तबारे यो वा त्यो कोणबाट आफूलाई उभ्याए।

यो विषयमा कलम चलाउनु सान्दर्भिक सोचेर यसलाई प्रस्तुत गरिएको हो। दृष्टिकोणकै कुरा गर्ने हो भने समाजमा एउटा उखान प्रचलित छ, ‘बाह्र वर्ष रामायण पढ्यो, सीता कसकी जोई !’ यो उखान वास्तवमा रामायण पढ्नेहरूका लागि लागू हुने रहेछ।

हुनत नेपाली समाजको यसअघिको पुस्ताका धेरैले भानुभक्तको रामायण पढेका छन्। यहाँसम्म कि अक्षर नै नचिनेकाहरूले पनि रामायणका श्लोक गुनगुनाउने गरेको सुनिन्थ्यो। अन्य भाषाका रामायण त खस भाषा नबोल्ने नेपालीले पनि नपढ्ने कुरा भएन। किनभने रामायण त्यस वेलाको साक्षरता अभियानको मात्र होइन मनोरञ्जन र ज्ञानको पनि स्रोत थियो। भानुभक्तीय रामायण कुनै वेला नेपाली राष्ट्रिय एकताको संवाहक पनि मानिएको थियो।

भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरे। नेपाली लेखपढ गर्न सक्नेले रामायण पढ्न सक्ने भए, पञ्चम वेद जान्ने भए। वेद, पुराण पढ्न नपाएर र नसकेर जीवन निरर्थक भएको ठान्ने अवस्थाबाट नेपाली समाजलाई मुक्त पार्ने काम भानुभक्तले गरे।

रामायण पढ्ने, बुझ्ने र व्यवहारमा लागू गर्ने सन्दर्भ हेर्दा त ‘अर्थ न बर्थ गोविन्द गाई, कपाल दुखेको ओखती नाइटोमा लाई’ भनेझैँ देखिन्छ।

रामायण पढ्न त जानियो, कथा त पढियो, जीवनोपरान्त मोक्षको कामना गर्ने मात्रका लागि त यो नै ठूलो विषय भयो, ज्ञानका लागि पढ्नेहरूले त यसमा जीवन खोज्न जान्नु पर्‍यो र जीवनोपयोगी विषय फेला पार्नु पर्‍यो। भानुभक्तले त आफ्नो जिम्मेवारी पूरा गरे, उनी प्रशंसा र धन्यवादका पात्र हुन् तर हामीले आफ्नै भाषामा प्राप्त गरेको रामायणको सदुपयोग केमा कसरी गर्ने गरेका छौँ ? प्रश्न यहाँनेर छ।

नेपाली समाजका लागि भानुभक्तको मुख्य योगदान रामायणको भावानुवाद हो। पहिलोपटक तत्कालीन गोर्खा भाषा अर्थात् हालको प्रचलित नेपाली भाषामा यत्रो ठुलो कृति अनुवाद गरेर सर्वाधिक प्रचलित गराए। यसै कारणले उनी आदिकवि घोषित भए। विभिन्न ठाउँमा उनका शालिक ठड्याइनुको कारण पनि रामायण नै हो।

रामायण अनुवाद — लेखनको उत्प्रेरणा एकजना घाँसी थिए भन्ने मानिन्छ। यस सम्बन्धमा चर्चित श्लोक छ,

‘भरजन्म घाँसतिर ध्यान् दिइ धन् कमायो,
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो।
घाँसी दरिद्र घरको, तर बुद्धि कस्तो ?
मो भानुभक्त धनी भै किन आज यस्तो ?

मेरा इनार न त सत्तल पाटी क्यै छन्,
जे धन् र चीजहरू छन् घरभित्र नै छन्।
त्यस घाँसीले कसरी आज दिएछ अर्ती,
धिक्कार हो मकन बस्नु नराखी कीर्ति।’

यिनै पङ्क्तिबाट भानुभक्तको मूल्याङ्कनको उपक्रम शुरु गरिन्छ। के यो रामायणको कथाको अङ्ग हो र ? तर, धेरैजसो आधुनिक विश्लेषकहरू यसैमा बढी अल्झिरहेको देखिन्छ। मूल कुरो त उनले आफ्नो कीर्ति विस्तार गर्न‚ नाम कमाउन रामायण लेखेका हुन् भन्ने बुझ्नाका लागि यी पङ्क्ति सहयोगी छन्।

पहाडमा इनार हुने कि नहुने, सत्तल पाटी थिए कि थिएनन्, साँच्चै नै त्यति वेलाको तनहुँमा घाँस बेचेर पैसा कमाइन्थ्यो कि थिएन भन्ने विवाद पनि गर्ने गरिन्छ। तर यो विषयलाई रामायणको उपलब्धिसँग जोडेर हेर्नु उपयुक्त होइन।

अर्ती भनेको जहाँबाट पनि लिन सकिन्छ। भानुभक्तले ती विषय बनारस पढ्दाको सम्झना गरेका हुन सक्छन्। बनारसमा घाँसीटोला भन्ने क्षेत्र नै छ, त्यहीँ कुनै घाँसीसँग उनको संवाद भयो होला र उनी त्यसबाट प्रभावित भए होलान्। त्यसैले यस्ता विषयको बढी चर्चाले मूल विषय ओझेल पर्नेतर्फ पनि ध्यान दिन आवश्यक देखिन्छ।

भानुभक्तले नेपाली भाषामा रामायण लेखेर हामीलाई दिएको हो। संस्कृत भाषा नबुझ्नेहरूका लागि रामायण बुझ्ने अवसर प्राप्त भएको हो तर हामी आफ्नै भाषामा रामायण बुझेकाहरू के गर्दै छौँ ? हतार हतार राम, सीता र लक्ष्मणको प्रतीक तिलक लगाउँछ। कसैले कुनै तिलक वा चिह्न धारण नगरेका पनि होलान्।

रामायणका दुई चार श्लोक पढ्छ। तातै जिब्रो पोल्ने दुई चार गास अन्न निल्छ। छिमेकीको घोडा, साइकल, मोटरसाइकल, कार माग्छ र सोझै अदालत जान्छ र आफ्नै पिता वा सहोदर दाजुको नाममा अंश मुद्दा हाल्छ। यस्तो अवस्थालाई रामायण पढेको, बुझेको भन्न मिल्छ ?

रामायणका अनुसार तत्कालीन चक्रवर्ती सम्राट दशरथका तीन श्रीमती थिए- कौशल्या, सुमित्रा र कैकेयी। यिनीहरू आपसमा सौता थिए। कौशल्याका छोरा रामलाई वनवासको प्रस्ताव गर्ने कैकेयीसँग उनको झगडा परेको देखिँदैन। बरु, सुमित्राका छोरा लक्ष्मण समेत सौताने आमाका छोरा रामसँगै वनवास गए। त्यति मात्र होइन, रामको वनवाससँगै राज्य प्राप्त गरेका कैकेयीका छोरा भरतले राज्यको राजा हुन पाउँदा पनि खुसी भएनन्। त्यसैले रामको चरण पादुका (खराउ—काठको चप्पल) लाई राजगद्दीमा राखेर आफू रामको दासको रूपमा रहेर शासन चलाए।

रामायण पढेका, रामकथा वाचन गर्दै हिँड्ने, रामकै भजन गाउँदै हिँड्ने, रामराज्यको वकालत गर्दै हिँड्ने, रामायणका श्लोक भट्याउँदै हिँड्ने अहिलेका रामभक्तहरू कति त्यागी छन् ? कत्तिको मेलमिलापमा रहन सकेका छन् ? नेपाली भाषामा रामायण पढेका यी नेपालीहरू यसबाट कत्तिको लाभान्वित छन् र समाजलाई कस्तो सन्देश दिइरहेका छन् ?

रामायणबारे समीक्षा छर्दै हिँड्ने, राम उनको परिवारलाई सामन्ती शोषक भनेर राजनीति रङ्गाउँदै हिँड्ने समाजवादी, जनवादी, क्रान्तिकारी, राजाको शासन ल्याउन राजनीति गरिरहेका राजावादी राजनीतिज्ञहरू उनीहरूका पछुवा जमातले रामायणको कथा नेपालीमा पढेर केही ज्ञान बढाएका सदुपयोग गरेका छन् ? यी प्रश्न पनि सँगै उठ्ने गर्दछन्

रामायण र अन्य ग्रन्थहरूमा दशरथको वंशावली पढ्दा उनी निकै प्रभावशाली थिए भन्ने बुझिन्छ। अनेकौँ राज्यका राजाहरूसँग उनको मैत्री सम्बन्ध रहेको अनेकौँ राज्यहरू उनका सहयोगी रहेको देखिन्छ। उनका तीनवटै ससुराली पनि गतिलै थिए भन्ने बुझिन्छ। स्वयं सीताको माइत, राम र लक्ष्मणको ससुराली पनि लोकप्रिय र शक्तिशाली रहेको वर्णन पाइन्छ। यसरी हेर्दा उनले वनवासका नाममा त्यति धेरै दुःख नगरेर तिनै सम्बन्धहरूलाई उपयोग गरेको भए पनि असम्भव थिएन।

तर, कथाले के भन्यो ? कथाले भन्यो उनीहरूले यीमध्ये कसैको पनि सहयोग लिएनन्। राजा दशरथका परिचित अपरिचित वनवासीहरूसँग उनीहरूको भेटघाट भयो। कुनै कारणले एक्ल्याइएकी शबरीको खोजी गरेर उनको जुठो बयर खाएर आतिथ्य लिए। यसको तात्पर्य अछुत मानिएकी एकल महिलालाई उनले महत्त्व दिए, सम्मान गरे।

स्वर्ग र देवताका राजा इन्द्रले चन्द्रमाको सहयोगमा झुक्याएर यौन सम्पर्क गरी ‘बिटुल्याइएकी’ ढुंगासरह मिल्काइएकी ऋषि गौतमकी पत्नी अहिल्यालाई भेटेर उनको उद्धार गरेको विषय कथामा पढ्न पाइन्छ। यति मात्र होइन, नाम मात्र लिनाले पनि पाप नाश हुने पवित्र पञ्चकन्यामा अहिल्याको नाम लेखाए।

लेखिएको छ, 
‘अहल्या द्रौपदी तारा कुन्ती मन्दोदरी तथा।
पञ्चकन्या: स्मरेन्नित्यं सर्वपातक नाशनम्॥’

-अर्थात् अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी पाँच कन्याको नित्य स्मरण गर्नाले सबै पापहरू नाश हुन्छन्। अहिल्या, तारा र मन्दोदरी रामायणमा उल्लेख गरिएका पात्र हुन्। अहिल्याबारे माथि नै चर्चा भइसकेको छ।

तारा बाली र सुग्रीवकी पत्नी थिइन् भने मन्दोदरी रावणकी पत्नी हुन्। रामायणका विषयमा बहस गर्दा यी विषय प्रायः ओझलमै पर्ने गर्दछन्। किन ? किन भने यसमा रामायणको दोष होइन, जातिभेद र लिङ्गभेद गरी सामाजिक शोषण, उत्पीडन कायम राखेर फाइदा लिनेहरूको बोलबालामा आघात पुग्छ।

सीताको अपहरणपछि रावणसँग युद्ध गर्नका लागि पनि दशरथको प्रभाव, स्वयं अयोध्याको राज्यशक्ति, मावलीहरूको शक्ति, जनकपुरको शक्तिको सहयोग लिन सकिने हुन्थ्यो तर रामले त्यसो गरेनन्। बरु निषाद, जटायुको सहयोग लिए। साथै वनका बालि, सुग्रीव, जाम्बवान्, हनुमान्, अङ्गद आदिलाई सशक्तिकरण गरी लङ्का हान्ने शक्ति निर्माण गरे।

रामायण महाकाव्य हो। महाकाव्य कवितामा लेखिएको अनेकौँ उपकथाहरूको सँगालो हो। यस विषयमा योभन्दा बढी चर्चा नगरौँ। रामायणको विशाल कथासँग दुई सय आठ वर्ष मात्र अघिका भानुभक्तको निजी दृष्टिकोण, बुझाइ र व्यवहारसँग जोडेर बुझ्ने प्रयास गरियो भने सही बुझाइ हुन सक्दैन।

भानुभक्तलाई उनको जीवनीमा होइन, रामायण अनुवाद र साहित्य सिर्जनामा हेरिनुपर्छ। मूलत: उनको योगदान रामायण हो। रामायणबाट शिक्षा लिन आफ्नो भाषामा रामायण उपलब्ध गराउने भानुप्रति श्रद्धा व्यक्त गर्नैपर्छ। तर हामीले भानुभक्तबाट लिने शिक्षा भने समाजलाई काम लाग्ने केही न केही गर्नुपर्छ भन्ने हो। रामायणबाट आजका लागि लिन सकिने शिक्षाको खोजी गरौँ। लिनुपर्ने लिऊँ, छोड्नपर्ने छोडौँ।

सीताको अग्निपरीक्षा, सीता परित्याग आदि विषयको जानकारीका लागि पनि रामायणकै भूमिका हो नि ! रामका कमजोरी बखान्ने स्रोत समेत भएको रामायण र यसका प्रस्तोताप्रति सकारात्मक रहौँ।

‘साहित्य समाजको दर्पण हो’ भनेर मान्नेहरूले रामायण पनि साहित्य हो, त्यति वेलाको समाजको दर्पण हो भनेर बुझ्न मिल्दैन र ? अहिलेको समाजसँग रामायण वा भानुभक्तका कृतिलाई दाँजेर हेर्न मिल्दै मिल्दैन। जति कुरा मिल्छन् तिनलाई त्यस वेला कसरी देख्न र लेख्न सकेको होला भनेर छक्क पर्न वा हामी अझै अघि बढ्न सकेनौँ कि भनेर सोच्न सकिन्छ।

ऐना हेर्दा कानमाथिका दुई रौँ सेता देखिएपछि नेतृत्व हस्तान्तरण गर्न अग्रसर भएका महासामन्ती चक्रवर्ती महाराजा र आजको गणतन्त्रका जननिर्वाचित नेतृत्वबीच तुलना गर्न पनि रामायण पढ्न र बुझ्न आवश्यक छ।

इतिहास, पुराण, कथा, महाकाव्यका पात्रहरूका बारेमा बुझ्दा त्यति वेलाको समाज र चेतनाको सापेक्षतामा बुझ्नु र उचित शिक्षा लिनुपर्छ।

कुनै पनि पूर्ववर्ती अवस्थाको कमजोरी उधिनेर—बखानेर वर्तमान र भविष्य उजेलिँदैन। आदिकवि भानुभक्त र रामायणका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ।

(कोइराला संस्कृति अध्येता एवं अभियन्ता हुन्)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.