|

पर्सा : वर्षा समयमा पनि पानी नपरी ४० डिग्रीभन्दा माथि ताप पुगेको मध्यतराईमा शनिबारदेखि आउन थालेको पानीले बल्ल उखरमाउलो गर्मी कम भएको छ। ढिलो गरी आएको वर्षाले बल्ल यो क्षेत्रको गर्मी कम भई शीतल मौसम भएको हो।   

देशभर सामान्य बदली भई अधिकांश भू–भागमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार शनिबार साँझबाट मध्य तराईमा पनि पानी पर्न थालेको छ। वर्षा नहुँदा रोप्ने बेलाको धानको ब्‍याड नै सुक्दै गएको यो क्षेत्रमा ढिलो गरी आएको पानीबाट सर्वसाधारणभन्दा कृषक बढी खुसी भएका छन्।

यहाँका किसानले बल्ल खुलेर धान रोप्न पाएका छन्। शहरबजारमा पनि गर्मीले छट्पटाएका आममानिस थोरै शितलताको महसुस गरिरहेका छन्।

वर्षा अभावमा बढेको गर्मीका कारण हुने विभिन्न रोगको सामना गरिरहेका बिरामीलाई पनि केही राहत मिलेको छ। पहिले नै आउनुपर्ने पानी ढिलो गरी आएकोले सर्वसाधारणले बल्ल राहतको स्वास फेर्न पाएको स्थानीय संजय सर्राफले बताए। बजार क्षेत्रमा त नालामा पानी भरिएर कतिपय ठाउँमा सडकमा पनि पानी जम्न थालेको उनको भनाइ छ।  

मौसम विभागले मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जनाएको एकदिन पछिदेखि परेको पानीले अहिलेसम्म पर्सा, बारामा कुनै क्षति भने गरी नहालेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए।

मधेश प्रदेशमा बल्ल आकाशे पानी पर्न थालेकोको पानीको डुवान र कटान जस्ता विपतबाट जोगिन सतर्क भने रहनु पर्ने समय भएको उनको तर्क छ। आगामी २४ घण्टा देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विभागको सन्देश अनुसार अझै पानी थपिने सम्भावना रहेको उनले बताए।

मौसम चिसिने कुरासँगै डुवान र कटानबाट भने होचो जमिनमा रहेका सर्वसाधारण सुरक्षित रहनु पर्ने दायित्व पनि मधेशका जिल्लामा थपिएको हो। होचो भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने भएकोले नदीनाला तथा खोला नजिकमा बस्ने सर्वसाधारणले पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने सम्भावना रहँदा सर्तक रहनु पर्ने जिल्ला प्रशासन कार्यालय पर्सा, बाराले जनाएका छन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.