|

म्याग्दी : सोह्रौं शताब्दीमा तत्कालीन चौबिसे राज्यअन्तर्गतको शक्तिशाली राज्य मानिएको पर्वत राज्यअन्तर्गतको ज्यामरुककोटस्थित सात्लेपानीको राजकुवा संरक्षणमा ज्यामरुककोटवासी जुटेका छन्।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५ सय वर्ष पुरानो राजकुवाको संरक्षण, मर्मत र सरसफाइका लागि स्थानीयवासीले पछिल्लो समय चासो देखाएर संरक्षणमा जुटेका हुन्।

ज्यामरुककोटस्थित अर्जुन माविका भूतपूर्व प्रधानाध्यापकक तथा स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीको नेतृत्वमा शुक्रवारदेखि राजकुवाको मर्मतसम्भार तथा सरसफाइ भैरहेको छ। स्थानीयवासी सहभागी भई राजकुवाको मर्मत तथा सरसफाइ गरेपछि ऐतिहासिक विरासत मानिएको सो कुवाले पुनर्जीवन पाएको छ। स्थानीयले आज तेस्रो दिन पनि श्रमदान गरेर कुवा संरक्षण र सरसफाइ गरेका छन्।

सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको अत्यन्त महत्वपूर्ण तर षड्यन्त्र र भाइभाइबीचको द्वन्द्वका कारण विवादास्पद मानिएको ज्यामरुककोट राज्यका राजा भर्तिबम मल्लले पानी खाने गरेको सो कुवा जीर्ण अवस्थामा थियो।

ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिएको ज्यामरुककोटमा राजकुवालगायत तत्कालीन समयका एक दर्जनभन्दा बढी ऐतिहासिक सम्पदा रहेका छन्।

यहाँ तत्कालीन समयमा युद्धका लागि प्रयोग गरिएका खुँडा, खुकुरी, तरबार, भाला, ढाल, छेलोलगायत हातहतियारका साथै पुरातात्विक महत्वका इँटा, इनार, मौलो, दियोलगायतका सामग्री रहेका छन्।

सरंक्षण अभावमा नामेट हुँदै जान थालेका यस्ता ऐतिहासिक सम्पदा संरक्षणका लागि सरकारी तहबाट कुनै पहल नभएपछि स्थानीयवासी नै सक्रिय भएको अर्जुन मावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका टीकाबहादुर कार्कीले बताए।

अगुवा कार्कीका अनुसार राजा भर्तिबम मल्लको दरबार भएको स्थानमा निर्माण गरिएको खड्गभवानी कोतमा ५ सय वर्ष पुराना ऐतिहासिक हातहतियारलगायत अन्य सामरिक र धार्मिक महत्वका सम्पदा रहेका छन्।

पुरातात्विक र ऐतिहासिक महत्वका ती सम्पदा संरक्षणमा स्थानीय तहले समेत खासै चासो नदेखाउँदा आफ्नो पहिचान र धरोधर नामेट हुने अवस्थामा पुगेकाले तिनको संरक्षणका लागि आफूहरू अगाडि सरेको स्थानीय कार्कीको भनाइ रहेको छ।

तत्कालीन राजा भर्तिबमले आफू र आफ्नो राज्यमा बसोबास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा १६ औँ शताब्दीदेखिको एउटा जिउँदोजाग्दो ऐतिहासिक सम्पदा भए पनि त्यसको संरक्षणमा समेत कसैको ध्यान नपुग्दा सो सम्पदा अन्य सम्पदाझैँ इतिहासकै गर्भमा लोप भएर जाने अवस्थामा पुगेको थियो।

राजा भर्तिबमले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलगअलग कुवा बनाई एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंवदन्ती रहेको छ।

सो कुवा कहिले निर्माण भएको हो भन्ने विषयमा कुनै अभिलेख नरहेको भए पनि ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बूढापाकाको भनाइ छ।

ज्यामरुककोटका ९६ वर्षीय रणबहादुर कार्कीका अनुसार अन्यत्र खानेपानीका मुहान नहुँदा सात्लेपानीमा रहेको सो कुवामा ज्यामरुककोटका बासिन्दा पानी भर्नका लागि रातिदेखि नै लाइनमा बस्ने गर्दथे।

‘तामाका गाग्री लिएर टाढाटाढाबाट पनि मानिस पानी भर्न सोही कुवामा आउने गरेका मैले पनि थाहा पाएको हूँ’, कार्कीले भने‚ ‘त्यसअघि सोही कुवामा राजा भर्तिबमले नुहाई त्यहीँबाट लगेको पानी देवतालाई चढाई आफूले प्रयोग गर्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ।’

तत्कालीन समयमा ज्यामरुकोट राज्यमा पानीको मुहान सुक्दै गएपछि राज्यमा पानीको अभावले मान्छे र पशुचौपाया मरणासन्न अवस्थामा पुगेकाले  राजा भर्तिबमले आफ्ना दरबारियाहरूलाई पानी खोज्न लगाउँदा सात्लेपानीमा पानीको मुहान भेटाएपछि कुवा खन्न लगाएका थिए भन्ने इतिहास रहेको छ।

कुवा अहिले पनि पुरानै स्वरुपमा छ। कुवा वरिपरिको जमिन भासिन थालेकोले स्थानीय तहकै पहलमा ग्याविन जाली लगाएर संरक्षण गर्नुपर्ने स्थानीयले माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.