|

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ स्थित सहस्रधारामा भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन्।

आइतबार अपराह्न करिब चार बजेको समयमा पोखराबाट म्याग्दीको बेनी जाँदै गरेको ग १ ख ९६७२ नं. को बस मध्यपहाडी लोकमार्ग अन्तर्गत सहस्रधारामा दुर्घटनामा परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी सहायक निरीक्षक सुमन निउरेका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूमध्ये १० जनाको धौलागिरि अस्पताल बागलुङमा र दुई जनाको पर्वत अस्पतालमा उपचार भइरहेको छ।

बसका चालक गोरखा कालीगण्डकी गाउँपालिका–२ नाङ्लेचौरका ३५ वर्षीय गोविन्द चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रहरी सहायक निरीक्षक निउरेका अनुसार सोधपुछको क्रममा चेपाङले स्टेरिङ फेल हुँदा बस अनियन्त्रित भई सडकको नालीमा पुगेको बताएका छन्। दुर्घटनामा परी घाइते भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। बसमा १६/१७ जना सवार रहेकोमा अरू यात्रु भने सकुशल रहेका छन्।

दुर्घटनामा परेको बस मध्यपहाडी सडकमा नै रहेका कारण अहिले सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ। स्काभेटरको सहयोगमा गाडीलाई दुर्घटना स्थलबाट सारेर सडकलाई दुईतर्फी रूपमा नै सञ्चालन गर्ने प्रयास भइरहेको ट्राफिक प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.