|

हेटौंडा : बागमती प्रदेशको काठमाडौं महानगरपालिकासहित १९ वटा स्थानीय तहले अझैसम्म चालू आर्थिक वर्षको बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेका छैनन्। 

चालू आर्थिक वर्ष २०७९\८० को बजेट असारमा नै पास गरिसके पनि बागमती प्रदेशका १९ स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश नगरेका हुन्। नयाँ आर्थिक वर्ष सुरु भएको दुई साताभन्दा बढी भइसके पनि १९ स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको छ। 

बागमती प्रदेशमा १ सय १९ स्थानीय तह रहको छ। तीमध्ये देशको संघीय राजधानी रहेको काठमाडौं महानगरसहित १९ वटा पालिकाको बजेटको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उल्लेख भएको छैन। बजेट पेश भएका स्थानीय तहका विवरण मन्त्रालयको वेबसाइटमा अपडेट हुन्छ। वेबसाइटको हेर्दा प्रदेशका १९ स्थानीय निकायले बजेट पेश गर्न नगरेको देखिएको हो। प्रदेशमा रहेका ११९ मध्ये हालसम्म १०० स्थानीय तहले बजेट पेश गर्दा १९ स्थानीय तहले अझै पेश नगरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर र रसुवा जिल्लाका सबै स्थानीय तहको बजेट मन्त्रालयमा पेश गरिसकेको छ भने बाँकी ९ वटा जिल्लाका केही स्थानीय तहले हालसम्म चालू आर्थिक वर्षको बजेट मन्त्रालयमा पेश गरेको छैन। दोलखाको आठमध्ये सात स्थानीय तहले बजेट पेश गरिसकेको मन्त्रालयको वेबसाइटमा उल्लेख छ। यस्तै, सिन्धुपाल्चोक जिल्लामा १२ स्थानीय तह छन्। यसमध्ये हालसम्म ९ स्थानीय तहले बजेट पेश गरेका छन् भने बाँकी तीन पालिकाले बजेट पेश गर्न अलमल गरिरहेका छन्। 

जिल्लाको जुगल गाउँपालिका, बलेफी गाउँपालिका र भोटेकोशी गाउँपालिकाले बजेट पेश नगरेका हुन्। धादिङको १३ मध्ये तीन स्थानीय तहले मन्त्रालयमा बजेट पेश गरेका छैनन् । जिल्लाको खनियाबास गाउँपालिका, थाँक्रे गाउँपालिका र सिद्धलेख गाउँपालिकाले भने अझै बजेट पेश नगरेको पाइएको छ। देशकै संघीय राजधानीको रूपमा रहेको काठमाडौं जिल्लामा ११ स्थानीय निकाय रहेका छन्, जसमध्ये हालसम्म १० स्थानीय तहले आफूले ल्याएको बजेट मन्त्रालयमा पेश गरिसकेका छन् भने काठमाडौं महानगरपालिकाले भने हालसम्म बजेट पेश नगरेको पाइएको छ।

यस्तै, ललितपुरका ६ मध्ये हालसम्म चार स्थानीय तहले मात्रै मन्त्रालयमा बजेट पेश गरेका छन्। दुई स्थानीय तह कोन्जोसोम गाउँपालिका र गोदावरी नगरपालिकाले बजेट नै पेश गरेका छैनन्। यस्तै, सात स्थानीय निकाय रहेको चितवन जिल्लामा हालसम्म चारवटाले मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट पेश गरेका छन्। तीन स्थानीय निकाय माडी नगरपालिका, राप्ती नगरपालिका र इच्छामनकामना गाउँपालिकाले भने अझै मन्त्रालयमा बजेट पेश नगरेको मन्त्रालयको वेबसाइटमा उल्लेख छ।

नुवाकोट जिल्लामा १२ स्थानीय निकाय रहेकोमा बेलकोटगढी नगरपालिका र दुप्चेश्वर गाउँपालिकाले बजेट पेश गरेका छैनन्। सिन्धुलीको ९ मध्ये आठ स्थानीय तहले बजेट पेश गरेका छन् भने हरिहरपुरगढी गाउँपालिकाले बजेट पेश गरेको छैन। त्यस्तै, रामेछापको ८ स्थानीय निकायमध्ये ६ वटाले बजेट पश गरिसकेका छन् भने दोरम्बा शैलुङ गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाले अझै पनि बजेट पेश गरेका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.