|

पर्वत : जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरकी ९० वर्षीया चन्द्रकला कुँवरलाई सामाजिक सुरक्षा भत्ता बुझ्न जानुभन्दा त्यो रकम नै नलिनु बेस लाग्थ्यो। बुढेसकालले हिँड्नै नसक्ने अवस्थामा पुग्न लागेकी उनी दमकी रोगी पनि हुन्।

हिँड्न खोज्यो कि बुढेसकालले खुट्टा गल्छन्, दमले फोक्सो फुल्छ। गाउँबाट करिब दुई घण्टा टाढा वहाकीको भुसाल चोकमा रहेको बैङ्कको शाखामा पुगेर भत्ता बुझेर ल्याउने अवस्था उनमा छैन।

तर आइतबार वडा कार्यालयमा भत्ता आइपुगेको र सँगसँगै आफ्नो स्वास्थ्य पनि जाँच गर्ने मान्छे आएको कुरा सुनेर चन्द्रकला गद्गद् भइन्। सहारा लिएर वडा कार्यालयमा पुगिन्, भत्ता बुझिन्, स्वास्थ्य जाँच पनि गर्न पाइन्। खुट्टा गलाई र श्वास फुलाइका कारण बैङ्क र स्वास्थ्य संस्थामा जाने आँट गर्न नसक्ने अवस्थामा पुगेकी उनले घर नजिकैको वडा कार्यालयबाट दुवै काम एकैपटक भएपछि नेता र चिकित्सक दुवैलाई धन्यवाद व्यक्त गरिन्।

‘बुढेसकालमा यही पैसो लिन जान नि मुस्किल छ। हिँड्न सकिन्न, हातखुट्टा गल्छन्, सास फुल्छ। अहिले त वडामै पैसा ल्याएछन् सजिलो भयो। बैँका जाँदा उहीँ लाइन हुनी। हिँडेर जान सक्नी ह्याउ थिएन, सास फुलेर पाइलो सार्नै हुन्न। यस पाला त यहीँ ल्याएछन् भत्ता अब जहिले पनि यहीँ ल्याए हुने,’ उनले भनिन्, ‘डाक्टर पनि आका रछन, भत्ता नि दिए अनि जाँचे। मलाई त खासै रोग देखिएन के रे। त्यही पनि यो खाने ऊ खाने, यसो गर्ने उसो गर्ने भनेर सिकाएर पठाए। यहाँका नेताले मिलाइदिनुभो, डाउटर पनि आउनुभो।’

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरू लगायतको भिड बर्राचौरको वडा कार्यालयमा थियो। भीडमा रहेका कोहीले सामाजिक सुरक्षा भत्ताका रूपमा पाउने रकम बुझ्दै थिए त रकम बुझिसकेकाहरू स्वास्थ्य परीक्षणमा व्यस्त थिए।

भत्ता बुझ्न पुगेका ज्येष्ठ नागरिकहरू पनि आफैँमा मक्ख थिए। पैसा लिनका लागि बैङ्कमा पुगेर लाइन बस्नुपर्ने अवस्था भोग्दै आएका उनीहरूले घर नजिकैको वडा कार्यालयबाट भत्ता बुझ्न पाए। भत्ता वितरणको लागि बसेका बैङ्कका कर्मचारीहरूको छेउमा गाउँपालिकाले खटाएको स्वास्थ्यकर्मीको टोलीले तिनै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाको जाँच गरिरहेको थियो।

चन्द्रकला जस्तै वडाका एक सय ७४ जनाले सामाजिक सुरक्षा भत्ता बुझे भने एक सय ५९ जनाले भत्ता वितरण गरिएकै ठाउँमा स्वास्थ्य परीक्षणको फाइदा उठाए। सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको एनआइसी एसिया बैङ्कको शाखा र गाउँपालिकाबिचको आपसी समन्वयमा बैङ्कका कर्मचारीहरू वडामा नै पुगेर भत्ता वितरणको काम थालेका हुन्। बैङ्कले १९ लाख ४१ हजार रुपैयाँ वडा कार्यालयमा पुगेर वितरण गरेको छ।

सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैङ्कमा नै जानुपर्ने बाध्यता रहँदै आएकोमा गाउँपालिकाले वडा बाट नै भत्ता वितरणको काम थालेपछि भत्ता बुझ्ने दिनमा बैङ्कमा लाग्ने भीड वडा कार्यालयमा लाग्न थालेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङ बताउँछन्।

स्थानीय तहको निर्वाचनको बेलामा जसरी हुन्छ नागरिकका दुःख घटाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले आफू त्यसलाई पूरा गर्ने प्रयासमा रहेको उनको भनाई छ।

‘गाउँका मान्छेलाई दुई घण्टा टाढाको बैङ्कमा पुगेर भत्ता बुझेर आउनु सामान्य कुरा होइन। फेरि भत्ता पाउनेहरू ज्येष्ठ नागरिक हो, उहाँहरू नै हिँड्न सक्नुहुन्न। निर्वाचनको बेलामा उहाँहरूका दुःख घटाउनेछु भनेर प्रतिबद्धता गरेको थिएँ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘मान्छे खुसी हुन ठुलो काम होइन कि सामान्य कामलाई सहज बनाए पनि हुन्छ। भत्ता वितरण सँगसँगै स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाउँदा धेरै ठिक गरिएछ।’

बुढेसकालमा स्वास्थ्य संस्थासम्म जान सक्ने आँट पनि नआउँदा स्वास्थ्यमा समस्या आए पनि खटेर घरमै बस्ने ज्येष्ठ नागरिकको बानी हुन्छ। शारीरिक असक्तताका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि भत्ता सँगसँगै स्वास्थ्य परीक्षणको सुविधा पनि सुरु गर्नाले वडावासीमा खुसी मिलेको वडाध्यक्ष गणेश शर्मा पौडेल बताउँछन्।

नागरिकले चाहेकै ठाउँमा बैङ्कका शाखा स्थापना गर्न नसकिने र पैदल यात्रा गरेर स्वास्थ्य संस्थामा जान नसक्नेहरूका लागि भत्ता वितरण र स्वास्थ्य परीक्षणको काम एकै ठाउँमा गर्दा प्रभावकारी देखिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.