|

इलाम : दक्षिण एसियाको उमेर समूह फुटबलमा एक समय नेपाली फुटबल पावर हाउस मानिन्थ्यो। यू–१२ देखि यू–१९ सम्मको दक्षिण एसियाली प्रतियोगितामा नेपालीको दर्विलो प्रतिस्पर्धा हुन्थ्यो।

धेरै प्रतियोगिताको उपाधिको दाबेदारको रुपमा समेत नेपाललाई हेरिन्थ्यो। सिनियर फुटबलमा एकछत्र राज गरेको भारतीय टोलीलाई समेत पराजित गर्ने सामर्थ्य नेपाली उमेर समूहको टोलीले राख्थ्यो।  सन् २०१५ को यु–१९ साफ च्याम्पियनसिपमा भारतमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै नेपालले उपाधिसमेत चुमेको थियो।

सोही प्रतियोगितालाई सन् २०१७ मा आएर यू–१८ बनाइयो। भारतलाई नै पछि पारेर भुटानबाट उपाधि लिएर नेपाली टोली फर्कियो। तर २ वर्षपछि एसियाको कमजोर राष्ट्र मध्ये एक मानिएको भुटानले नेपाली टोलीलाई घरेलु मैदानमा ३–० ले हराउन सफल रहयो। अहिले आएर भुवनेश्वको कालिंगा रंगशालामा जारी यू–२० साफ च्याम्पियनसिपमा सुरुवाती २ खेलमा प्रभावी प्रदर्शन गरेको नेपाली फुटबलको स्तर घरेलु टोली विरुद्धको खेलमा छताछुल्ल बन्यो।

उपाधिको दाबेदारको रूपमा हेरिएका नेपाली टोलीले नतिजा डिफेन्डिङ च्याम्पियन भारतीय टोलीलाई ८–० गोल अन्तरले सुम्पियो। करिब २ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको भारतको यू–२० टोलीसँग आई–लिग र आइएफए शिल्डको अनुभवी खेलाडीहरू थिए।

उनीहरूलाई भारतीय फुटबल संघले विदेशमा प्रशिक्षणको व्यवस्था समेत मिलाएको थियो। तर, एन्फा सो समयमा जिल्ला जिल्लाबाट राष्ट्रिय टोली बनाउनका लागि खेलाडी खोज्दै थियो। एन्फा स्टन्टको प्रभाव अहिले कालिंगामा देखियो। यसले नेपाली उमेर समूहको फुटबलको स्तर ओरालो क्रममा रहेको प्रष्ट देखाउँछ। जसको प्रत्यक्ष प्रभाव सिनियर टोलीमा समेत देख्न सकिन्छ।

नेपाली फुटबलको पछिल्लो प्रर्दशनबाट राष्ट्रिय फुटबल टिमका पूर्व-मिडफिल्डर एवं फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा सन्तुष्ट छैनन्। कमजोर फुटबल संरचनाका कारण नेपाली फुटबलको स्तर खस्दै गएको विक्रमको अनुभव छ।

‘आजसम्मको मेरो अनुभवअनुसार यसको प्रमुख कारण भनेको कमजोर घरेलु फुटबल संरचना नै हो। जहाँ हामी मुस्किलले वर्षमा ६ महिना फुटबल खेल्छौं। राष्ट्रिय खेलाडीले थप एक दुई महिना राम्रो वातावरण पाउलान्। खेलाडीका लागि यो पर्याप्त पक्कै होइन।’

सामाजिक सञ्जालमा विक्रमले लेखेका छन् ‘यसरी अव्यवस्थित र कमजोर संरचनामा फुटबल खेलेर आफ्नो खेलाडी बन्ने सपना पुरा गर्दै गर्दा कति थाकेर अन्य बाटो लाग्छन्, कति आफ्नो दोस्रो सपना पूरा गर्न र पारिवारिक जिम्मेवारी बोकेर फुटबलबाट टाढिने गर्दछन्। बाँकी रहेका खेलाडीले पनि पर्याप्त मात्रामा खेल्नका लागि घरेलु फुटबलको वातावरण नपाउँदा कहाँ गएर आफूलाई तिखार्ने वा नयाँ खेलाडीले आफूलाई कहाँ अनुभवी बनाउने त?’

कुनै एक समय दक्षिण एसियाको उमेर समूहको अग्रपंक्तिमा रहने नेपाली फुटबलले उज्वेकिस्तान, किर्गिस्तान, इराक, बहराईन जस्ता एसियाका पावर हाउसका रुपमा रहेका राष्ट्रमाथि जित निकाल्नुका साथै दक्षिण कोरिया, जापान जस्ता राष्ट्रसँग कडा टक्कर दिएका स्मरण गर्दै विक्रमले युथ लेभलको अत्याधिक फुटबल गतिविधिले सिनियर टोलीलाई समेत सहयोग पुग्ने बताए।

उनले अन्य राष्ट्रहरु बलियो हुँदै जाँदा यू १४, यू १६ लगायतका फुटबलको गतिविधिमा कमी आउँदा नेपाली फुटबल ओरालो लाग्दै आएको चिन्ता व्यक्त गरे। ‘यू १४, यू १६ का धेरै भन्दा धरै फुटबल गतिविधि हुने गर्दथ्यो। त्यस्तै एन्फा एकेडेमीमा पनि खेलाडीलाई राखेर प्राविधिक रूपमा तिखार्ने काम निरन्तर हुने गर्दथ्यो। जसको प्रत्यक्ष फाइदा युथस्तरको प्रतियोगितामा हाम्रो राष्ट्रलाई हुने गर्दथ्यो। विक्रमले थपे, ‘एएफसी यू १७, यू १९ जस्ता प्रतियोगितामा हामीले अब्बल टिमलाई जितेर दोस्रो चरणमा पुगेका छौं भने दक्षिण एसियामा प्राय प्रतियोगिता जित्ने गर्दथ्यौं। तर विस्तारै समयसँगै ती खेलाडी सिनियर राष्ट्रिय टिममा पुग्दा हाम्रो स्तर खस्कदो र अरू राष्ट्रको उस्कँदै जाने गर्‍यो।’

राष्ट्रिय टिम भनेको प्रयोगशाला होइन

हाल राष्ट्रिय टोली परिर्वतनको संघारमा रहेको उल्लेख गर्दै विक्रमले परिवर्तित स्थानमा अब आउने खेलाडीहरु युवा मात्र नभई अनुभव सहितको युवा खेलाडीको खाँचो रहेको औँल्याए।

‘कुनै पनि देशको राष्ट्रिय टिम भनेको प्रयोगशाला पक्कै  होइन। जहाँ मनलागि प्रयोग गरेर परीक्षण गरिन्छ। राष्ट्रिय टिम एउटा नतिजाको लागि खेलिने अन्तिम बिन्दु हो। त्यहाँ नतिजा बाहेक अन्य विकल्प हुँदैन।’ विक्रमले भने ‘राष्ट्रिय टिमको नतिजाले नै राष्ट्रको फुटबल कुन धारमा जादैछ भन्ने कुराको संकेत गर्ने गर्दछ। तसर्थ पर्याप्त मात्रामा खेलेर अनुभव लिई आफुलाई अब्बल रुपमा अनभवी बनाएर राष्ट्रिय टिममा जाने वातावरण मिलाउन सक्नुपर्छ। चाहे त्यो अनुभव बलियो घरेलु फुटबलको होस् वा राष्ट्रिय, अन्तर्राष्ट्रिय उमेर समूहका खेलहरुबाट होस्।’

विक्रमले नेपाली यू–२० टिमका खेलाडी व्यक्तिगत क्षमतामा अब्बल रहे पनि अनुभव भएका खेलाडीको कमी देखिएको बताए। यू १२, यू १५, यू १७ हुँदै अनुभव लिने खेल वातावरण भएको भए नतिजा फरक निस्कने सक्ने विक्रमले आंकलन गरेका छन्। उनले सन् २०१६ देखि २०२२ सम्मको अवधिमा नेपालले जितेको ४ वटा उपाधि युथ लेभलबाट अनुभव लिएर आएका खेलाडीको कारण सम्भव बनेको बताए।

‘२००३-४ देखि २०११-१२ सम्म उत्पादित खेलाडीले हालसम्म राष्ट्रिय टिम सम्हालेका छन्। आउँदै गरेका नयाँ खेलाडीहरु पनि राम्रा छन् तर पर्याप्त मात्रामा अनुभवको कमी देखिन्छ। यी नयाँ खलाडीले घरेलु फुटबलका साथै युथ खेल गतिविधि अन्तर्गत राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव निकै कम हासिल गर्न पाएका छन्। यस्ता वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो।’

विक्रमले भने, ‘घरेलु फुटबल कमजोर हुँदा अनुभवी खेलाडीले समेत आफूलाई पर्याप्त मात्रामा निखार्ने र अब्बल बनाउन सक्दैनन्। जसको असर राष्ट्रिय टिमलाई पर्ने गर्दछ।’

घरेलु संरचना बलियो बनाऔ

घरेलु फुटबलको संरचनालाई बलियो बनाएर खेलाडीलाई खेलमा निरन्तर लागिरहन सक्ने वातावरण बनाउन सक्दा उमेर समुहका खेलाडीहरुले २-३ वर्षभित्रमा राष्ट्रिय टोलीलाई प्राप्त सहयोगले नेपाली फुटबलको सफलता टाढा नरहेको विक्रमको ठम्याइ छ।

‘कुनै पनि राष्ट्रको फुटबल विकासको आधार भनेको नै घरेलु फुटबल हो। घरेलु फुटबल बलियो हुँदा खेलाडीले फुटबलमा स्थिरता पाउँछन्। जसकारण पूर्ण रुपमा फुटबलमा समर्पित हुने आधार रहन्छ। खेलाडी पलायन तथा विलिन जस्ता अप्रिय कुराहरु धेरै हदसम्म समाधान हुन सक्छ’ विक्रमले भने  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.