|

 बारा : राजीव सापकोटाको जीवनरक्षा गर्न उनका परिवारले सबैसँग सहयोगको अपिल गरेका छन्। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ मौलापुरका वेदप्रसाद सापकोटाका छोरा राजीव बचाउन सक्दो सहयोगको अपिल गरीएको हो।

गत वैशाख ३१ गते सहिद स्मारक हेटौंडामा स्विमीङ पुलमा नुहाउँदै गर्दा चिप्लिएर लडेका राजीवको शुष्मा कोइराला मेमोरिएल अस्पताल काठमाण्डौंमा उपचार भइरहेको छ।

चिकित्सकका अनुसार उनको मेरुदण्ड भाँचिएको छ भने नसा पनि च्यापिएको छ। हातका औंलाहरु समान्य रुपमा चले पनि बाँकी शरीर नचलेको अवस्थामा उपचाररत राजीवको २ महिना पहिले अप्रेशन भएको हो। 

जनता मावि रजघट्टाबाट एसइई दिएर परिणामको प्रतीक्षामा रहेका राजीव र उनका भाईको पढाई खर्च धानेर गाईपालन गर्दै दैनिक गुजारा चलाउँदै आएका वेद प्रसादलाई छोराको उपचार खर्च धान्न निकै सकस परेको छ।

‘जेनतेन ऋण काढेको तेह्र लाख पुरानो मेडिकल कलेज भरतपुरमै सकियो, धनको नाउँमा भएको २ कट्ठा जग्गा बेचेर उपचार गर्न खोज्दा अप्ठ्यारोको फाइदा उठाउन खोजे, चलनचल्तीको एक चौथाई मात्रै मोल गरे।‘

वर्षौंदेखि चिकित्सकको सल्लाहमा डिप्रेशनको औषधी सेवन गरिरहेका वेद प्रसादले भने, ‘त्यसपछि वडाध्यक्ष सहितका समाजले नै सहयोग माग्ने अभियान सुरु गरेका छन्। सबैको सहयोग पाए मैले मेरो बुढेसकालको लाठी जोगाउन सक्छु कि भन्ने आशा छ।‘ 

राजीवको उपचारका लागि जोहो गर्न स्थानीय स्तरमा संघसंस्था तथा व्यक्तिले गरेको प्रयासले सहयोग रकम जुट्न सुरु भएको छ। सहयोग संकलनका लागि योंग नीति व्याण्ड, हिपहोप तराईको र्‍याप, सिमरा युवा समाज लगायतका समुहहरुले लाइभ म्युजीक कार्यक्रमहरु आयोजना गरे।

वडा अध्यक्ष चयन गुरुङको पहलमा संचालन गरिएको राजीब बचाउ अभियानबाट करिब ६ लाख रुपैयाँ संकलन भएको छ। सहयोग रकम दिँदा राजीवकै लागि मात्र खर्च गरियोस् भनेर दाताले गरेको आग्रह मान्दै उपचाररत राजीवका ठूलाबुवा देवराज सापकोटा, वडाध्यक्ष गुरुङ्ग र स्थानीय नारायण प्रसाद जमकट्टेलको नाममा संयुक्त खाता खोलेर राख्ने तयारी गरिएको छ।

उपचारमा रकम अभाव नहोस्, र उपचारबाट बचेको रकम राजीवको अवस्था अनुसारको व्यवस्थामा खर्च गर्ने योजना रहेको वडाध्यक्ष गुरुङले बताइन्।  

स्थानीय युवाहरुले “सबैको साथले उनलाई बचाउन सक्छौं” भन्दै समाजिक सञ्जाल मार्फत व्यापक रुपमा सहयोगको अपील गरेका छन्। उठेका रकम र राजीवको स्वास्थ्य अवस्था बारे निरन्तर फेसबुकमा पोस्ट गर्दै सहयोग जुटाउन अग्रसर युवा प्रताप रीजाल क्षेत्रीले देशभरका सहयोगी मनसँग राजीव बचाउन आग्रह गरेका छन्। उनी भन्छन्, ‘पढ्दै, बढ्दै गरेको एउटा नव युवक अस्पतालको शैयामा जिवनसँग संघर्ष गर्दै गरेको अवस्थालाई उल्ट्याउन सबैको साथ चाहिएको छ, धेरैथोरै आँटौं र दुःख साँटौं, मिलेर राजीव बचाऔं।‘

सहयोग गर्न चाहनेले वडा अध्यक्षको मोबाइल नं. ९८११८५१५१५ मा सम्पर्क गर्नसमेत उनले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.