‘एउटै चुनाव चिह्न लिएर चुनावमा जाने तयारी छ’

|

काठमाडौं : भारतको तीनदिने भ्रमणबाट फर्किएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकमात्रै लक्ष्य थियो, नेकपा समाजवादी केन्द्र बनाउने।

त्यसो त उनले समाजवादी केन्द्र बनाउने प्रयास अहिले मात्रै गरेका होइनन्। तर, भारत भ्रमणबाट फर्किएलगत्तै उनले सत्ता गठबन्धनमा रहेका कांग्रेसबाहेकको शक्तिलाई एउटै मोर्चा बनाएर जान समाजवादी केन्द्र निर्माणको तीव्र प्रयास गरे। 

प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपाबाट अलग भएका डा. बाबुराम भट्टराई, माओवादीकै नेता नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरुसँग छलफल गरे।

शीर्ष नेताबाहेक वर्षमान पुन, बेदुराम भुसाललगायत दोस्रो तहको नेताहरुले पनि समाजवादी केन्द्रबारे छलफल गरिरहेका थिए। 

माओवादीका नेता पुनले समाजवादी केन्द्र निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको सार्वजनिक रुपमै बताएका थिए।

‘तत्काल कुनै पार्टीसँग एकताको सम्भावना छैन। समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ। आगामी निर्वाचनमा मोर्चा बनाएरै जान्छौँ’, उनको भनाइ थियो।

पछिल्लो समय समाजवादी केन्द्रबारे बहस पातलिन थालेको चर्चा छ। मोर्चाको प्रयास गरिरहेका प्रचण्डले नै तत्काल समाजवादी केन्द्र नबन्ने घोषणा गरे। तर, प्रचण्डले कुन प्रसंगमा किन त्यसो भने भन्नेमा नेताहरुले नै अनभिज्ञता प्रकट गरिरहेका छन्।

प्रेस सेन्टरको बैठकलाई शुक्रबार सम्बोधन प्रचण्डले भनेका थिए, ‘समाजवादी केन्द्र तत्कालै बन्नेवाला छैन। हामीले समाजवादी केन्द्र बनाइहालौँ भनेर छलफल पनि गरेका छैनौँ। केही–केही साथीहरुले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो। तर हाम्रा बैठकहरूमा समाजवादी केन्द्र तत्काल बन्ने कुरा भएको छैन।’

उनले चुनावी मोर्चा बनाएर एउटै घोषणापत्र र चुनाव चिह्न बनाएर जानेबारे छलफल चलेको भएपनि त्यसले मूर्तरूप नपाइसकेको बताए। 

त्यसो त समाजवादी केन्द्रमा अगाडि नेकपा राख्ने नराख्ने कुरामा कुन नमिल्दा नेताहरुबीच सहमति बन्न नसकेको माओवादी एक नेताले बताए।

ती नेताले भने, ‘अध्यक्षज्यूले नेकपा समाजवादी केन्द्र राखौँ भन्नुभएको थियो। नेकपा छाडेर माधव र झलनाथजीहरू पनि आउन नसक्ने बताउनुभयो। तर, बाबुरामजीलाई नेकपा मन परेन त्यसैले तत्काल त्यसमा सम्भावना कमजोर बनेकै भएकाले अध्यक्षज्यूले त्यस्तो बोल्नुभएको हुनसक्छ।’

समाजवादी केन्द्र बनाउने प्रयास असफल भएपनि एउटै चुनाव चिह्न लिएर आगामी निर्वाचनमा जानेबारे शीर्ष नेताहरु सकारात्मक भएर छलफल गरिरहेको दाबी गरे। तर, बाबुरामले नेकपा र उपेन्द्रले समाजवादी केन्द्रमा जाने प्रस्ताव अस्वीकार गरेपछि प्रचण्डकाे प्रयास फितलाे बनेकाे नेताहरूकाे बुझाइ छ।​

एमालेलाई कमजोर पार्ने रणनीति 

०७४ सालको निर्वाचनमा एमालेसँग ६०/४० को भागबण्डा गरेर तालमेल गरेका प्रचण्डले अहिले एमालेसँग सहकार्यको च्याप्टर क्लोज भइसकेका बताएका छन्। 
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये कांग्रेस एक्लैले गठबन्धनमा सय सिट दाबी गरिरहेको अवस्थामा प्रचण्डले एमालेसँग सहकार्य नहुने बताइसकेका छन्। 

समाजवादी केन्द्र बनाएर आधाआधा दाबी गर्ने रणनीति असफल भएपछि प्रचण्डले माओवादीलाई दोस्रो शक्ति बनाउनुपर्ने अडान राख्न थालेका छन्। 

‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुरा गर्दा भनेको छु, सायद पहिलो पार्टी अहिले तपाइँहरु नै हुने देखियो। दोस्रो माओवादी केन्द्र नै हुने हो। त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ, होइन भने सहज जाँदैन’ शनिबार प्रचण्डले कांग्रेसलाई चेतावनी दिँदै भनेका थिए।

तर, स्थानीय तहको निर्वाचनलाई समीक्षा गर्दा माओवादी दोस्रो शक्ति बन्नसक्ने स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउँछन्।

उनी भन्छन्, ‘स्थानीय तहको निर्वाचनमा सोचेजस्तो नतिजा नआएको भएपछि गठबन्धनका सबै दलहरुले त्यसलाई समीक्षा गरेर इमान्दारितापूर्वक लागे सम्भव हुन्छ। तर, हामीले पनि त्यसका लागि पहल गर्नुपर्छ।’

उनले समाजवादी केन्द्र निर्माणको बिषयमा शीर्ष तहमा छलफल भइरहेको बताए।

‘हामीले वाम एकतालाई जोड दिइरहेका छौँ। एमालेसँगको एकता सफल नभएपछि बाँकी छरिएर रहेका वामपन्थीहरूको एकताबद्ध बनाएर संयोजन समिति बनाएर जानुपर्छ भनेर पहल भएको हो। त्यसले कुनै मूर्तरूप पाएको भने छैन’ उनले भने, ‘त्यसबारे प्रगतिभन्दा बढी हल्ला भएको मात्रै हो।’

उनले कांग्रेससँग बार्गेनिङका लागि वाम एकताको प्रयास नगरेको जिकिर गरे। 

आफ्नो फाइदाको लागि अचानक जस्तोसुकै कदम चाल्न तयार हुने प्रचण्डले ०७४ सालझैँ फेरि एमालेसँगै मिल्न जानसक्ने कांग्रेसलाई भय छ।

सबै दल एक्ला एक्लै प्रतिस्पर्धामा होमिए पहिलो दल बन्ने आँकलन गरेका गृहमन्त्री बालकृष्ण खाणको गोप्य रिपोर्टअनुसार एमालेसँग प्रचण्ड मिले कांग्रेस २० सिटमा झर्ने तथ्यांक छ। त्यही भयले कांग्रेसलाई तर्साएको छ। 

प्रचण्डले सत्ता गठबन्धनलाई निरन्तता दिएर कम्युनिष्ट पार्टीको पहिलो शक्ति बनाएर फेरि प्रधानमन्त्री बन्ने लक्ष्य लिएका छन्। 

‘देशको बागडोर हाम्रै हातमा आउने सम्भावना छ। मलाई नै भन्नुहुन्छ भने हुनसक्छ मेरो यो लास्ट इनिङ्स। यो लास्ट इनिङ्स चाहीँ पछिसम्मको सन्ततिलाई सम्झने गरी देशलाई केही चिज दिने सपना राखेको छु’ प्रचण्डको रणनीतिक भनाइ थियो। 

चुवावी मोर्चा !

प्रचण्डले समाजवादी केन्द्र नबन्ने बताएपछि बाबुरामनिकट नेता गंगानारायण श्रेष्ठ छलफल नसेलाएको बताउँछन्। 

उनी भन्छन्, ‘उहाँ (प्रचण्ड)ले कुन प्रसंगमा भन्नुभएको हो त्यो थाहा भएन। तर, चुनावअघि नै मोर्चा बनाउनेबारे छलफल भइरहेको छ।’

एउटै चुनाव चिन्ह र घोषणापत्र लिएर जाने भन्नेबारे पनि छलफल चलिरहेको उनको भनाइ छ। 

भनेपछि चुनावअघि समाजवादी केन्द्र नबन्ने निष्कर्षमा पुगिसक्नुभएको हो? भन्ने प्रश्नमा उनले भने, ‘असम्भव भन्ने केही छैन। तर, पार्टी एकता नै नभ्याइने होकि भनेर हामीले चुनावी मोर्चा बनाएर चुनावपछि मात्रै पार्टी एकता गर्ने भन्नेबारेमा छलफल भइरहेको छ।’

समाजवादी केन्द्रको अगाडि नेकपा राख्ने/नराख्ने भन्ने बिषयमा छलफल पुगिनसकेको दाबी गरे। 

र, याे पनि:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.